आवश्यक कुरामा वास्ता नगर्ने तर, अहिले जाबो एकजना व्यक्तिको लागि त्यो पनि चुनाव हारेर बसेका नेतालाई राष्ट्रिय सभामा छिराउनका लागि संविधान संशोधन गर्न तयार हुनुले उसको राज्य र जनताप्रतिको दायित्वको तह देखाउँछ ।
एकपछि अर्को विवादास्पद काण्डहरुबाट गुज्रिरहेको प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फेरि अर्को विवादास्पद र साख घटाउने गरी कदम अघि बढाउन लागेको चर्चा बाहिर आएको छ । संसदीय चुनाव हारेर संसद र सरकारबाहिर रहेको उसको एक वरिष्ठ तहको नेतालाई राज्यसत्ताको मूलधारमा ल्याउने उद्देश्यसाथ संविधान नै संशोधन गर्न लागेको चर्चा चलेसँगै नेकपालाई धारेहात लाउनेहरु आइतबार बेलुकिसम्म एकाएक बढेका छन् ।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल नै गठन गरिसकेको छ । उसको तयारी बामदेवका लागि बाटो खाली गर्नु नै हो कि होइन भन्ने कुरा अहिले नै आधिकारिक सार्वजनिक गर्ने कुरा त होइन । तर, कतिपय स्रोतले त्यसै भनेको छ । यदि एकजना चुनाव हारेका नेतालाई संसद्मा ल्याउनको लागि संविधान जस्तो महत्वपूर्ण दस्ताबेज चलाउन खोजिएको हो भने यो निर्णय नेकपाकै लागि प्रत्युत्पादक हुने निश्चित छ ।
नेकपाले ‘संविधान संशोधन गरेर मधेसका मुद्दालाई सम्बोधन गर्छौं’ भनेर राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी फोरम, नेपालसँग समर्थन बटुलेको थियो । तर, ‘आवश्यकता र औचित्यताको आधारमा मात्रै संविधान संशोधन गर्छौं’ भनेपछि सरकार गठनको एक वर्षपछि राजपाले समर्थन फिर्ता लियो । समाजवादी पार्टी दुई वर्षपछि सत्ताबाट बहिर्गमित भयो । सरकारले दुई तिहाइ समर्थनसमेत गुमायो । संविधान संशोधनका लागि विज्ञ सम्मिलित कार्यदल बनाउने प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो । अहिले नेकपाले वामदेवलाई नै प्रधानमन्त्री बनाउन बाटो फुकाउने गरी प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको हैसियत एकै बनाउन संविधान संशोधन गर्न लागेको कुरा बाहिर आएको छ । आवश्यक कुरामा वास्ता नगर्ने तर, अहिले जाबो एकजना व्यक्तिको लागि त्यो पनि चुनाव हारेर बसेका नेतालाई राष्ट्रिय सभामा छिराउनका लागि संविधान संशोधन गर्न तयार हुनुले उसको राज्य र जनताप्रतिको दायित्वको तह देखाउँछ ।
यसअघिको संसदीय चुनावमा बर्दिया–१ बाट वामदेव गौतम पराजित भएका थिए । ५ वर्षको लागि आराम गर्न दिइएको जनमतको कदर नगरी केही समयदेखि जसरी पनि प्रधानमन्त्री बन्ने दौडमा बामदेव छन् । प्रतिनिधिसभाको निर्वाचन हारेपछि उनी उपनिर्वाचनका लागि ठाउँ खोज्दै हिँडे । काठमाडौं–७ सम्म आइपुग्दा १४ ठाउँ प्रयास गरे पनि उपनिर्वाचनका लागि परिस्थिति अनुकूल बनेन । त्यसपछि गौतमले राष्ट्रियसभाबाट भए पनि प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् ।
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न संविधान बाधक छ । तर, अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बन्न बाटो खोलिदिने बताएपछि वामदेव हौसिएको बताइन्छ । भलै यसमा सत्यता कतिको छ, त्यो खुल्दै जाला । तर, नेकपाले यो कदम अघि बढायो भने जनताको तहमा नेकपाप्रतिको नजर गिर्नेछ । राज्यको लागि पनि यो एउटा गलत निर्णयको रुपमा इतिहासमा दर्ज हुनेछ ।