शिव गौतम
भरतपुर ।
भरतपुर चौबिसकोठी नजिकैको एउटा चौतारामा एक मानिस गीत गाइरहेका थिए । उनी नजिकै एउटा स्पीकर थियो । त्यही स्पीकरबाट निस्किएको धुनको तालमा गीत गाइरहेका दृष्टिवहीन व्यक्ति थिए–धनबहादुर सुनार ।
४५ वर्ष पुगेका उनको दृष्टि जन्मिएको छ महिनामा गुमेको थियो । पश्चिम चितवनको ध्रुवमा जन्मिएका उनको घर भने बर्दिया हो । उनको परिवारमा एक श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले सडक छेउमा गीत गाएरै संकलन गरेको पैसाले छोराछोरीलाई पढाउने र घरखर्च चलाउने गरेका छन् । गीतसंगीतमा रुचि राख्ने धनबहादुरले विभिन्न गायक गायिकासँग सहकार्य गरी गीती एल्बमसमेत निकालेका छन् । “मैले लेखेको शब्दमा गायक कुलेन्द्र विक र गायिका देवी घर्तीले पनि गाइसक्नुभएको छ”, खुसी हुँदै उनले भने । ‘बर्दियाको ठाकुरद्वारामा’, ‘ढुंगालाई माटो’लगायत बोलका गीत सार्वजनिक गरिसकेको उनले बताए ।
धनबहादुरले भारत पुगेर विभिन्न वाद्यवादनका साधन पनि बजाउन सिकेका थिए । सीप भए पनि आर्थिकरूपले कमजोर हुँदा उनले सीपको प्रयोग गर्न पाएका छैनन् । पैसा नहुँदा वाद्यवादनका साधन किन्न नसकेको उनी सुनाउँछन् । उनी कहिले क्यान्सर अस्पताल त कहिले अन्य अस्पतालको गेट अगाडि बसेर ट्रयाकमा गीत गाउने गरेका छन् । थप गीतको रचना गरेका उनले आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण गीत रेकर्ड गराउन पाएका छैनन् । “अहिले नयाँ गीत पनि लेखेको छु । तर, रेकर्ड गराउन पैसा छैन । सडकमा गाएर हिँड्दै पैसा संकलन गर्दैछु“, मलिनो अनुहार पार्दै उनले भने, “पुराना गीतको कमाइ पनि हात परेको छैन ।”
सरकारले अपाङ्गता भएका व्यक्तिलाई सीपअनुसारको रोजगार प्रदान गर्न नसकेको प्रति उनको गुनासो छ । सडकको एउटा कुनामा गीत गाएर आयआर्जन गर्ने अपाङ्गलाई माग्ने भनेर लखेटिने गरेको प्रति उनी दुःखी छन् । त्यस्तै, कतिपय अवस्थामा एक–दुई जना अपाङ्गता भएकाले सबै अपाङ्गहरूको बदानम गरेको पनि उनले महसुस गरेका छन् । “सरकारले एक त रोजगारी पनि दिएको छैन, सडकको एउटा छेऊमा बसेर आफ्नो कला देखाउँदा पनि माग्ने भनेर लखेट्ने अनि दूव्र्यवहार गर्ने गर्छ”, उनले दुःखेसो पोखे ।
कतिपय दृष्टिविहीनलाई समूहमा हिँडाएर ‘भोलिन्टियर’ भनाउँदाले फाइदा लिने गरेको उनले बताए । “दृष्टिविहीन साथीहरूले गीत गाएर उठाएको पैसा सहयोगी भनिएका सक्षम व्यक्तिले कुम्ल्याएको देखेको छु”, उनले भने । “केही दृष्टिविहीनहरूले दिनभर गीत गाएर बटुलेको पैसा राति रक्सी पिएर सिध्याउने गरेका छन्”, उनले भने, “त्यस्ताले सबै अपाङ्गहरूको बदनाम गरेका छन् ।” अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिकरूपले सक्षम बनाउन तीनै तहका सरकार लाग्नुपर्ने उनले बताए ।