३० जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज पनि हुन सकेन । आज कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने भनिएको थियो तर समय अभावको कारण देखाउँदै आज पनि सुनुवाई हुन नसकेको हो ।अव असार ६ गते मंगलबारका लागि पेशी तोकिएको छ ।
गत आइतबार मुद्दाको सुनुवाई समय अभावका कारण भन्दै आजका लागि सारिएको थियो ।
मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।