विप्लव काफ्ले
माडी, ५ फागुन
माडी–६, हरिनगरमा रहेको दिवाकर स्मृति प्राविधिक शिक्षालयले भवन निर्माण तीव्र पारेको छ । शिक्षालयमा तीन तले भवन निर्माण कार्य धमाधम भइरहेको छ । “आवश्यक पूर्वाधार निर्माणका काम सुरु भएका छन्”, शिक्षालय प्रमुख पुष्पराज पौडेलले भने, “अहिले कक्षा कोठा अभाव छ, नयाँ भवन बनेपनि पढाउन सहज हुनेछ ।”
गतवर्षदेखि तत्कालीन हरिनगर आधारभूत (१–८) विद्यालयको पुराना भवनमा पढाइ सुरु गरिएको थियो । हरिनगर स्कूल जनकल्याण माविमा मर्ज भएपछि सो ठाउँमा शिक्षालय स्थापना भएको थियो । पुराना ४ भवनमा १३ कोठा थिए । साँघुरा र जीर्ण भवनमा राखेर पढाउनुपर्ने बाध्यता थियो । गतवर्षदेखि करिब ३ करोड ७५ लाख बजेटमा तीन तले भवन बनाइँदैछ ।
दुई तला ढलान सकिएको छ । एक तला ढलान हुने क्रममा छ । “नयाँ भवनमा २७ कोठा हुनेछन्”, उनले भने, “माथिल्लो तला प्रशासनिक, लाइब्रेरी, कम्प्युटर कक्षका लागि प्रयोग गर्ने सोच छ ।” उनले असारभित्र तीन तले भवन निर्माणको काम सकिने बताए । दुई तलामा कक्षा र ल्यावहरु राखिनेछ । नयाँ भवनमा फार्मेसी र एग्रीकल्चर संकायका पढाइ गर्ने सोच छ ।
३ वर्षे डिप्लोमा तहका सिभिल ईञ्निनियरिङ, पशु विज्ञान (एनिमल साइन्स) अन्र्तगतको पढाइ हुँदै आएको छ । यही वर्षदेखि फार्मेसीको समेत पढाई सुरु भएको छ । हाल सिभिलतर्फ पहिलो सेमेष्टरमा ३९ जना, तेस्रोमा ३६ जना, एनिमल साइन्सतर्फ पहिलो सेमेष्टरमा २९ जना र तेस्रोमा २६ जना अध्ययनरत छन् । यस्तै फार्मेसीको पहिलो वर्षमा ४० जना अध्ययनरत छन् । शिक्षालयमा सबैभन्दा धेरै प्रदेश २ का विद्यार्थी छन् । माडीका ३२ प्रतिशत छन् ।
शिक्षालयमा प्रिन्सिपल, सिनियर तथा जुनियर क्वाटर बनाउन टेण्डर भइसकेको छ । ६ वटा क्वाटर भवन बन्नेछन् । यसका लागि करिब ५ करोड बराबर बजेट लगानी हुँदैछ । एक हप्ताभित्र सम्झौता गरी निर्माण पक्षले काम सुरु गर्नेछन् । गतवर्ष ५७ लाख रुपैयाँबाट ५ कोठे भवन बनाइएको थियो । जहाँ सिभिल, इलेक्ट्रिकल, प्लम्बिङका लागि वर्कसप, सिभिल र एग्रिकल्चरको स्टोर रुम, लाइब्रेरी, क्लास र रेष्ट रुम बनाइएको थियो ।
प्रदेश सरकारले गतवर्ष विनियोजन गरेको २० लाख बजेटबाट शिक्षालयको गुरुयोजनासमेत तयार भइसकेको छ । “अत्यावश्यक पूर्वाधारका लागि ३० करोड लाग्ने अनुमान छ”, पौडेलले भने, “गुरुयोजनाअनुसार क्रमशः पूर्वाधार विकास गर्ने लक्ष्य छ ।” उनले प्रयोगात्मक अभ्यासका लागि पोखरी, एनिमल सेडलगायत पूर्वाधार बनाउन लागत अनुमान पठाइसकिएको जानकारी दिए ।
शिक्षालयको ५ विघा जग्गा छ । कुखुरा, बाख्रा, गाई, खरायोलगायत फर्म, माछा पोखरीका संरचना आवश्यक देखिएको छ । “अब ४ वर्षमा पूर्वाधार निर्माण सक्ने योजना हो”, उनले भने, “धेरै संकायका पढाइ गर्ने लक्ष्य पनि छ ।” शिक्षालयमा २ जना कर्मचारी स्थायी छन् । १२ जना प्रशिक्षक, ३ जना सहायक प्रशिक्षक, आंशिक प्रशिक्षक १० जना छन् । सुरक्षा गार्ड र कार्यालय सहयोगी ८ जना छन् ।
यो शिक्षालय प्रदेशकै नमुना शिक्षालयका रुपमा सूचिकृत छ । बागमती प्रदेशमा १३ शिक्षालय छन् । जसमध्ये ४ वटा चितवनमै छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) को आंगिक कलेजका रुपमा पढाई सुरु भएपनि माडीका स्थानीय खुशी छन् । “धेरै विषयको पढाई गर्ने, सीप परीक्षण केन्द्र, छोटा अवधिको तालिम दिने ठाउँका रुपमा विकास गर्ने क्रममै छौँ”, उनले भने, “प्रदेशकै नमुना शिक्षालय बनाउने योजना सफल हुनेछ ।”
उनले हाल ल्यावको समस्या नरहेपनि विस्तारै ल्याव समेत विस्तार गर्ने क्रममा रहेको बताए । उनले करिव ५० लाख खर्चेर ल्याव सुधार गरिने बताए । शिक्षालयमा ५० बढी कक्षा कोठा बनाइने योजना छ । एक दर्जन सुविधासम्पन्न प्रयोगशाला, ६ वटा फार्म ३ वटा प्रयोगात्मक भवन बनाइने योजना छ ।