भरतपुर, ८ फागुन
राष्ट्रिय समाचार समिति (रासस)को ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार चितवन जिल्लामा कार्यरत पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले राससको माध्यमबाट सकारात्मक समाचार आम जनतामा पुग्न सकेको बताए । पत्रकार स्वस्थ भए मात्रै स्वस्थ र रचनात्मक समाचार सम्प्रेषण हुन सक्ने उनले बताए । सरकारले मिडिया विधेयकसँगै अन्य विधेयकका माध्यमबाट लोकतन्त्रलाई संकुचन गर्छ कि भन्ने कुरा मनमा नराख्न उनले आग्रह गरे । सभापति पोखरेलले भने, “संबिधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ । तर, प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।”
सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपीआई नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारहरुको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकोमा राससप्रति आभार प्रकट गरे । कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १ सय २ जना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिए । एनपीआई नारायणी सामुदायिक अस्पतालले पत्रकारहरुको झण्डै तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ ।