ध्रुवराज खनाल
रत्ननगर, २२ माघ (कायाकैरन)
नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा रहेका होटल तथा रेस्टुरेन्टहरुको दोस्रो चरणमा स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको नेतृत्वमा गरिएको अनुगमनपछि होटल र रेस्टुरेन्टको स्तरीकरण गरिएको हो ।
दोस्रो चरणमा ५४ वटा होटल र रेस्टुरेन्टको अनुगमन गरिएकोमा १० वटा भने स्तरीकरणमा पर्न सकेनन् । डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, रत्ननगर नगरपालिका, क्षेत्रीय होटल संघ चितवन, क्षेत्रीय रेवान सौराहा, प्रहरी, उपभोक्ता अधिकारहित संरक्षण मञ्चलगायत सम्मिलित टोलीले मंगलबार र बुधबार दुई दिन यहाँको होटल र रेस्टुरेन्ट अनुगमन गरेको थियो ।
अनुगमन गरिएकोमा कुनै पनि होटल तथा रेस्टुरेन्ट अति उत्तममा पर्न सकेनन् अर्थात हरियो स्टीकरमा तीन तारा पाउन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख बिक्की राउतले बताए । ६ वटा उत्तम अर्थात हरियो स्टीकरमा दुई तारा, १८ वटा मध्यम अर्थात हरियो स्टीकरमा एक तारा र २० वटा सन्तोषजनक अर्थात पहेंलो स्टीकर पाएको राउतले बताए ।
कूल १०० अंकमा १० वटा होटल तथा रेस्टुरेन्टले भने ५० अंक पनि पाउन सकेनन् । ५० अंक नपाउँदा स्तरीकरणमा पर्दैनन् । राउतका अनुसार अनुगमन गरिएकामध्ये १० वटा होटल तथा रेस्टुरेन्टले सुधार गर्नुपर्ने देखियो । ती होटलहरुले पूर्वाधारको विकास गर्नुपर्ने, सरसफाइमा सुधार गर्नुपर्ने, दक्ष तालिम प्राप्त कूकको व्यवस्था गर्नुपर्ने देखिएको राउतले बताए । “केही होटल तथा रेस्टुरेन्टले सुधार गर्नुपर्ने देखियो”, डिभिजन कार्यालयका प्रमुख राउतले भने, “सुधारका लागि एक महिनाको समय दिएका छौं, त्यो अवधिमा सुधार गरे स्तरीकरणमा पर्नेछन् ।”
पहिलो चरणमा ३४ वटा होटल र रेस्टुरेन्टको अनुगमन गर्दा २० वटा स्तरीकरणमा परेका थिए । तेस्रो चरणमा बाँकी रहेकाहरुको स्तरीकरण गरिने राउतले बताए । स्तरीकरणमा चित्त नबुझे सुधार गरेर पुनः अनुगमनका लागि आग्रह गर्न सकिने जनाइएको छ । सौराहामा १ सय १० भन्दा बढी होटल तथा ६० भन्दा बढी रेस्टुरेन्ट छन् । भ्रमण वर्षलाई सफल बनाउन समेत स्थानीय सरकारको रुपमा रहेको सम्बन्धित नगरपालिकाले पनि निरन्तर अनुगमन गरे स्तरीकरणले सार्थकता पाउने डिभिजन कार्यालयका प्रमुख राउतको भनाइ छ ।
स्तरीकरणको म्याद एक वर्षको हुनेछ । अनुगमन तथा स्तरीकरण कार्यमा कार्यालयका प्रमुख राउतसँगै खाद्य निरीक्षक प्रदीप काफ्ले, स्थानीय तहका प्रतिनिधि, क्षेत्रीय होटल संघ, रेवान सौराहा, प्रहरी, उपभोक्ता अधिकार हित संरक्षण मञ्चका प्रतिनिधिलगायत उपस्थित थिए ।