आर्थिक, सामाजिक र नैतिक ठगी दावी
राजेश घिमिरे
भरतपुर, २० माघ
नारायणगढमा सञ्चालित कोटीहोम महायज्ञको आयोजक र कोटीहोमका अन्य वाचक तथा पण्डितहरुले मुख्य वाचक विजय भण्डारीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । महायज्ञको आयोजक पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले भण्डारीले विभिन्न व्यक्ति तथा संस्थाहरु माथि आर्थिक, सामाजिक तथा नैतिक ठगी गरेको भन्दै उजुरी दर्ता गरेको हो ।
कोटीहोमका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसँग आर्थिक सम्झौता गरेर भण्डारी फरार भएको भन्दै समितिका अध्यक्ष मनोज पुडासैनीले उनको खोजी गरी कारबाही गर्न माग गरिएको कायाकैरनलाई बताए । महायज्ञका लागि आवश्यक संरचना निर्माण, खाद्यान्न तथा अन्य सामग्रीहरु खरिद गर्दा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । ती सबै विषयका सम्झौताहरु भण्डारीको एकल निर्णयमा भएको र उनैले सम्झौतापत्रमा हस्ताक्षर गरेको भन्दै समितिले उनैमार्फत क्षतिपूर्ति भराउन माग गरेको छ । सम्झौता भएर पनि पैशा नपाएका, पैशा नभएको खाताको चेक पाएका तथा उधारोमा कारोबार गरेकाहरुले रकम फिर्ताका लागि दबाब दिएपछि आयोजकले भण्डारीमाथि उजुरी दिएको हो ।
आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको ठगी धन्दाबारे सञ्चारमाध्यममा समाचार आएपछि कोटीहोम महायज्ञको उद्घाटन कार्यक्रम नै प्रभावित बन्न पुगेको थियो । उद्घाटनका लागि आएका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमस्थलमै नपुगी काठमाडौं फर्किएका थिए । माघ ११ गते उद्घाटन गरिएपछि १२ गते अपराह्नसम्म महायज्ञ परिषरमा भेटिएका भण्डारी त्यसपछि सम्पर्क विहीन छन् । आयोजकले समेत त्यसपछि उनीसँग सम्पर्क हुन नसकेको दावी गरेको छ ।
अध्यक्ष पुडासैनीले मन्दिरका लागि महायज्ञको आयोजना गरिएका कारण मन्दिर व्यवस्थापन समिति नै आयोजक जस्तो देखिएपनि सुरुआतबाटै सबै जिम्मेवारी भण्डारीले लिदै आएको बताए । भण्डारीले सबैसँगको सहमतिपत्रमा आफ्नो नाम लेखेर ओम लेखिएको हस्ताक्षर गर्दै आएका थिए । “हामीले त कोटीहोम महायज्ञ नै मन्दिर भएको क्षेत्रमा गरौं भनेका थियौं । उनैले यता गर्दा पैशा राम्रो उठ्छ भनेर यता ल्याए”, पुडासैनीले भने, “ठग हुन् भन्ने थाहा भएन । राम्रै काम हुने भयो भनेर हामी पनि विश्वास गरेर उनैको पछि लागेर हिड्यौं ।” उनले पीडित सबैलाई बोलाएर जानकारी लिदा पनि भण्डारीबाटै ठगिएको सुनाएको बताए । “ती सबै पीडितका लागि हामीले उजुरी दिएका छौं”, उनले भने, “प्रशासनले उनलाई समातेर कारबाही गर्ला भन्ने विश्वास छ ।”
पुडासैनीले कोटीहोममार्फत एक लाख सत्र हजार रुपैयाँ आम्दानीको रुपमा आयोजकले प्राप्त गरेको भन्दै उक्त रकम विचल्लीमा परेकालाई सहयोग, कोटीहोमका लागि जौ, तिललगायतका सामग्री खरिद, साउण्ड सिस्टम तथा गाडीको इन्धनमा खर्च भएको बताए ।
महायज्ञका लागि सञ्चारसंस्थाहरुसँग विज्ञापनको सम्झौता गरेकी भण्डारीको निकटकी महिला कल्पना दाहाल पनि सम्पर्क विहीन छन् । उनले चितवनका विभिन्न सञ्चारमाध्यमहरुसँग करिब पाँच लाख रुपैयाँ बराबरको सम्झौता गरेकी थिइन् ।
व्यक्तिगत उजुरी पनि दिन्छुःसंयोजक
महायज्ञ मूल आयोजक समितिका संयोजक लालबहादुर दवाडीले भण्डारीले आफू माथिसमेत सामाजिक तथा नैतिक ठगी गरेको बताए । “व्यापारीहरुसँग आर्थिक ठगी भएको छ”, कायाकैरनसँग उनले भने, “मलगायतका समाजमा आफ्नो प्रतिष्ठा बनाएका व्यक्तिहरुको सामाजिक छवीमा आँच पु¥याउने काम उसले गरेको छ । यो हामी माथिको सामाजिक तथा नैतिक ठगी हो ।” उनले मन्दिर व्यवस्थापन समितिले उजुरी दिइसकेपनि आफूले छुट्टै उजुरीसमेत दिने तयारी गरेको बताए । आफ्नो प्रतिष्ठामा दाग लगाउने काम गरेको भन्दै भण्डारी माथि उजुरी दिने दवाडीले बताए ।
दवाडीले स्थानीयबासीको आग्रहलाई स्वीकार गरेर नाम मात्रको संयोजकको रुपमा आफू समितिमा बसेको दावी उनले गरे । “तर एकएक सम्पर्क विहीन बनेपछि सबैले हामीलाई ठगलाई सघाएको आरोप लगाउन थाले । ठगिएकाहरु हामीसँग माग्न आउन थाले”, उनले भने, “भण्डारीले सबैलाई फसाए । हामी निर्दोष व्यक्तिको प्रतिष्ठामासमेत दाग लगाउने काम गरेकाले उनी माथि उजुरी दिइएको हो ।”
उनले भण्डारीले गरेको ठगीको विषयमा थाहा पाएलगत्तै समितिबाट अलग हुन खोज्दा पनि नपाएको बताए ।
पक्राउ पुर्जी जारी
विजय भण्डारीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अमेरिका लैजाने भन्दै रकम उठाएर सम्पर्क बाहिर रहेका उनले गत वैशाखमा पीडितहरुलाई दिएको चेक नसाटिएपछि दुई जनाले चेक बाउन्स भएको भन्दै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । ९ लाख ८५ हजार रकम उल्लेखित दुई चेक नसाटिएपछि सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भण्डारी विरुद्ध प्रहरीमा जाहेरी परेको बताए । उनले उजुरी उपर अनुसन्धान सुरु भइसकेको बताउँदै थप पीडितहरु पनि सम्पर्कमा आइरहेको बताए ।
हिन्दू धर्मगुरु र अभियन्ताले पनि दिए निवेदन
कोटीहोममा सहभागि धर्मगुरु तथा धार्मिक अभियान्ताहरुले पनि भण्डारीलाई कारबाही गर्न माग गर्दै प्रशासनमा निवेदन दिएका छन् । त्रिवेणी धाम कोटीहोम पीठाधीश धर्मपाल गुरु वशिष्ठ, उपवाचक बालव्यास श्रवण न्यौपाने, धार्मिक अभियान्ता तथा आयुर्वेद प्रवचनकर्ता शेखर शर्मा पौडेल र धार्मिक अभियान्ता शान्तिराम ढकालले भण्डारीले सिंगो धर्मलाई अपमानित गरेर सामाजिक तथा नैतिक ठगी गरेको भन्दै कारबाहीको माग गरेर प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका छन् ।
उनीहरुले दिएको संयुक्त निवेदनमा आफ्ना कुकृत्यलाई ढाकछोप गरी सबैलाई भ्रममा पारेर सम्पर्कविहीन भएर आफूहरुलाई लज्जित बनाएको उल्लेख गरिएको छ । साथै भण्डारीले धनधान्याचललाई विकृत बनाउने कार्य गरेकोमा निन्दा व्यक्त गर्दै उनीहरुले हदैसम्मको कारबाहीको माग गरेका छन् । निवेदनमा धार्मिक आस्थालाई कुण्ठित गराउने, मानवीय संवेदनासँग खेल्ने, धर्मलाई अर्थसँग जोडेर आर्थिक अपचलन गर्ने छुट कसैलाई नभएको भन्दै भण्डारीलाई कानूनी दायरामा ल्याई आर्थिक, सामाजिक तथा नैतिकरुपमा न्याय दिलाउन माग गरिएको छ ।
उनीहरुले एक महिना अघि नै भरतपुर–२३ मा आयुर्वेद शिक्षालय, गुरुकूल विद्यापीठ, जेष्ठ नागरिक आश्रयस्थललगायत निर्माणमा सहयोगका लागि आवश्यक परेको भनेर आफूलाई आमन्त्रण गरिएको बताए । तर, समाचारमार्फत कार्यसञ्चालनमा बाधा पुगेपछि भण्डारी सम्पर्कविहीन भएर आफूहरुलाई पनि ठगेको उनीहरुले बताएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले महायज्ञमा कार्यरत केही कर्मचारी, सप्लार्यसहरुले ‘महाराज’ले दिएको चेकको भुक्तानी नपाएको विषयमा आफूलाई निवेदन आएको बताए । उनले मन्दिर आयोजक समितिले आफूलाई भेटी आर्थिक कारोबारको सबै काम ‘महाराज’ले नै गरेको बताएको पनि सुनाए । कोटीहोम महायज्ञका वाचक धर्मपाल गुरु बशिष्ठलगायतले पनि प्रशासनमा उजुरी दिएका छन् ।