लेखराम सापकोटा
चालिस आसपासका जोन कँडेलको जोश जाँगर पच्चीस वर्षे तन्नेरीको जस्तो छ भने सोच, लगाव र निर्णयको क्षमता पाका मान्छेको जस्तै । उनको घर भरतपुरकाे लंकुमा हो । पेशाले उनी रेस्टुरेन्ट व्यवसायी हुन् । लंकुको धारापानी चोकमा उनको रेस्टुरेन्ट छ । आठ वर्ष अगाडिबाट संचालनमा आएको दि ग्रीन पार्क रेस्टुरेन्टलाई उनले पैसा कमाउने व्यवसाय मात्रै नभएर सामाजिक तथा परोपकारी सेवाको रूपमा प्रयोग गरेका छन् ।
गत शनिबार माघ १८ गते कँडेलको जन्मदिन थियो । जन्मदिनको अवसर पारेर उनले विभिन्न ठाउँमा सहयोग गरे । जन्मदिनमा साथीभाइ जम्मा गरी केक काटेर तामझाम गर्ने काम उनले अहिलेसम्म गरेका छैनन् । तर त्यसरी जन्मदिन मनाउँदा लाग्ने खर्च अनुमान गरेर त्यही अनुसारको रकम छुट्याउँदै विभिन्न ठाउँमा पुगेर परोपकारी बन्दै सहयोग गरे । लामो समयदेखि उनले यसैगरी सहयोग गर्दै आइरहेका छन् ।
जन्मदिनमा मात्रै होईन, अरूबेला पनि कँडेल सामाजिक र परोपकारी काममा लागेकै देखिन्छन् । सामाजिक सन्जाल तथा पत्रपत्रिकामा असहाय र गरिब दुखीका समाचार र तस्वीरले उनलाई छिट्टै छुन्छ । मन थाम्न सक्तैनन् । केही ठाउँमा आफैं धाउँछन्, अलि धेरै सहयोग चाहिने हो भने साथीभाइ गुहार्छन् । यसरी उनले धेरै ठाउँमा सहयोग गर्दै आइरहेका छन् । कति ठाउँमा सहयोग गरे भन्ने रेकर्ड उनीसँग नभए पनि उनले अहिलेसम्म आफ्नो उमेरभन्दा धेरै ठाउँमा सहयोग गरिसकेका छन् ।
जन्मदिनमा उनी दिनभरि सहयोग मै खटिन्छन् । । उनले आफ्नो रेस्टुरेन्टबाट वर्षभरी बिक्री भएका चुरोटको नाफाको केही हिस्सालाई पनि सहयोगमा राखेका छन् । चुरोटको नाफाको सहयोग यो पाँचौंपटक हो । नाफा बापत प्रति खिल्ली दुई रुपियाँको दरले जम्मा भएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य र शिक्षासँग सम्बन्धित सामाजिक संस्थालाई सहयोग गर्दै आएका छन् । यस वर्ष उनको रेस्टुरेन्टमा १३ हजार सात सय चवालीस खिल्ली चुरोट बिक्री भए । यस बापत जम्मा भएको २७ हजार चार सय अठासी नगद रुपैयाँ कालिकोटमा निर्माणाधिन रासकोट सामुदायिक अस्पताललाई सहयोग गरेका छन् । रासकोट अस्पताल टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले स्थापना गरेको रवि लामिछाने फाउन्डेसनको नेतृत्वमा निर्माण हुँदैछ । न्युज २४ टेलिभिजनका चितवन प्रतिनिधि सरद आचार्य र केदार शर्मालाई आफ्नै रेस्टुरेन्टमा बोलाएर कँडेलले उक्त रकम बुझाएका हुन् ।
त्यसैगरी भरतपुरमा रहेकोे मानवसेवा आश्रमलाई पनि पाँच हजार दुई सय रुपैयाँ सहयोग गरे । उनी हप्तामा एक दिन वर्षभरी व्रत बस्ने गर्छन् । एकपटकको व्रतको उनले सय रुपैयाँ वचत गर्ने गरेका छन् । बाउन्न हप्तामा जम्मा गरेको वचतको रकम उनले मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । त्यस्तै नवलपरासीको देवचुलीस्थित भीमसेन हाइ स्कुल एलुम्नाई एसोसिएसनले स्थापना गरेको छात्रवृत्ति कोषका लागि पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । उनले नारायणगढस्थित नगरवन रोडमा रहेको हाम्रो घर आश्रममा पनि सहयोग गरे । उक्त केन्द्रमा आश्रीत बालबालिकाका लागि एक छाक पुग्ने खाद्यान्न केन्द्रमै लगेर बुझाए ।