काठमाडौँ, १९ माघ
गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवसिय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । १५ माघ २०७६ मा आयोजित कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल ( आरसी विमल ) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गैर आवसिय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिने बताईएको छ ।
कार्यक्रममा नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तीहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसियट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा जानकारी दिन सहज हुने विश्वास व्यक्त गरे । नेपालीका लागी नेपाली अभियान अन्र्तगत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैर आवासिय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानको भनाई छ । न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसियट्स र एनआरएन बिच कानूनी परामर्श दिने सम्झौता भएको हो । उक्त कार्यक्रममा पिपुल्स लिगल एसोसियट्स सम्बद्ध अधिवक्ता बिष्णु प्रसाद अधिकारीले एकपटकका नेपाली सधैका नेपाली हुन भन्ने भावनालाई टेवा पुराउन आजको यस सम्झौताले गैर आवसिय नेपालीलाई केही हद सम्म भएपनि कानून उपचार र सेवा प्रदान गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक पौडेलले गैर आवसिय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरेका छन । “ १५ वर्ष देखि बिभीन्न व्यवसायी र व्यक्तीलाई कानूनी सेवा प्रदान गर्दै आइरहेका थियौँ” उनले भने, “एनआरएनएसँग जोडिँदा उत्साहित छौँ ।” पिपुल्स लिगल एसोसियट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी लिन सहज हुने गैर आवासिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले बताए ।