विप्लव काफ्ले/कायाकैरन
भरतपुर,३० जेठ ।
मनसुन सुरु हुनैलाग्दा चितवनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने ढिला भएको छ । जिल्लामा उपलब्ध स्रोत साधनको आँकलन गरी विपद्को पूर्वतयारी गर्न बनाइने ‘प्रतिकार्य योजना’ हालसम्म बन्न सकेको छैन । जिल्लाको विपद् जोखिम नक्सांकन गरी प्रतिकार्यका लागि पूर्वतयारी गरिदै आएकोमा यो वर्ष काम अघि बढ्न सकेको छैन ।
विपद् व्यवस्थापन उद्धारमा स्थानीय समितिसँग समन्वय गर्ने, राहत तथा उद्धार कार्य प्रभावकारी बनाउने काममा विपद् व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण मानिन्छ । भरतपुर महानगरपालिकाको दुई वडाबाहेक जिल्लाका सबै तहमा निर्वाचित जनप्रतिनिधि आइपुगेका छन् । नगरपालिका, गाउँपालिकास्तरबाट पूर्वतयारीका काम थाल्न समेत जिल्लास्तरको समितिले आग्रह गरेको छैन । विगतका विपद्मा आर्थिक स्रोत अभाव, राहत वितरणमा यातायात साधनको अपर्याप्तता तथा जिल्लास्तरको समन्वय अभाव हुने गरेको छ ।
चितवनमा बाढीका कारण २०७१ मा ९ जना, २०७० मा ८ जना, २०६७ सालमा ३ जना, २०६६ मा ३ जना, २०६२ मा ६ जना, २०६१ मा ३ जना, २०६० मा १५ जना, २०५९ मा २४ जनाको ज्यान गएको थियो । नारायणी, राप्ती, रिउ, बाँदरमुढे, च्यात्राखोला, मगुई, कयर लगायतका नदीतटिय क्षेत्रका वस्ती वर्षेनी बाढीको उच्च जोखिममा छन् । बाढी, पहिरो, भूकम्पको जोखिममा रहेका समुदायलाई लक्षित गरी विगतमा काम हुने गरेका थिए । क्षेत्रगत रुपमा पूर्वतयारी गर्न हालसम्म बैठक बसेको छैन । आपत्कालिन अवस्थामा काम गर्न १० वटा उपसमितिहरु बनाएर अघिल्लो वर्ष तयारी गरिएको थियो । पटक पटक छलफल भएका थिए । यो वर्ष सबै गतिविधि शून्य छन् ।
विपद् परिहालेमा विपद् कार्यसञ्चालनका लागि आवश्यक बजेट सहयोग तथा सहकार्य गनेतर्फ स्थानीय प्रशासनले चासो दिन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्षका रुपमा प्रमुख जिल्ला अधिकारी छन् । समितिमा जिल्लास्तरीय कार्यालयका प्रमुख, रेडक्रस सोसाइटी, दलीय प्रतिनिधि लगायतका छन् । समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले प्रतिकार्य योजना बनाउने तथा पूर्वतयारीको काम भैरहेको जीकिर गरे । “समितिको बैठकले पूर्वतयारी गर्ने गरी काम गर्ने निर्णय गरिसकेको छ”, उनले भने, “चाँडै प्रतिकार्य योजना सार्वजनिक हुनेछ ।” विपद् व्यवस्थापन समितिको बैठक चैत्र २१ गते यता बस्न सकेको छैन । स्थानीय तहको चुनाव वैशाख ३१ गतेका लागि तयारी गर्दा र त्यसपछिको सुरक्षामा खटिदा विपद् व्यवस्थापनको काम ओझेलमा परेको हो ।
जिल्ला समन्वय समितिका प्रकोप सम्पर्क व्यक्ति बलराम लुँइटेलले विपद् पूर्वतयारी यो वर्ष भएका कामबारे आँफु जानकार नभएको बताउँछन् । “सुरक्षा निकायको संयोजनमा पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय भएको थियो”, उनले भने, “हालसम्मको प्रगतिबारे मलाई थाहा छैन, सरोकारवालाको बैठक बसेको पनि छैन ।” वर्षायाम सुरु हुन लागेकाले बाढी, पहिरो जस्ता विपद् निम्तिन सक्छन् । हावाहुरी, आगलागी, महामारी, चट्याङ जस्ता विपद् आउने भएकाले जिल्लास्तरको पूर्वतयारी आवश्यक रहेको उनी बताउँछन् ।
स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठनका काम समेत भएका छैनन् । विपद् पूर्वतयारीबारे निरन्तर छलफल, जोखिम न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रमको तयारी, व्यवहारीक अभ्यास जस्ता काम यो वर्ष भएका छैनन् । बाढीको सम्भावना भएका माडी तथा पहाडी क्षेत्रमा विशेष रणनीति बनाएर खोज तथा उद्धार व्यवस्थापन गर्नेबारे छलफल हुन सकेको छैन । आपतकालिन आवास तथा गैरखाद्य तथा खाद्य समाग्री व्यवस्थापन, उपचार तथा पोषण सहित औषधि व्यवस्थापन लगायतका काम हुन सकेको छैनन् ।
चितवनमा बाढीका कारण मृत्यु
२०७१ ९ जना
२०७० ८ जना
२०६७ ३ जना
२०६६ ३ जना
२०६२ ६ जना
२०६१ ३ जना
२०६० १५ जना
२०५९ २४ जना