विप्लव काफ्ले
भरतपुर, १७ माघ
भरतपुर–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक स्रोत जुटाउन धनधान्याचल महोत्सवको तयारी तीव्र पारिएको छ । यही १९ गतेदेखि २६ गतेसम्म धनधान्याचल महोत्सव हुन लागेको हो ।
२०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला बनाउने औपचारिक घोषणा गरेको थियो । गुरुयोजना तयार भएको २ वर्षमा पुरा गर्ने लक्ष्य लिएपनि ३ अर्ब लागतमा बनाउने भनिएको रंगशाला आर्थिक अभावको चेपेटामा छ । रंगशाला घोषणा भएकै दिन करिव साढे ४ करोड कबुल भएको थियो ।
धनधान्याचल महोत्सव मूल समारोह समितिका संयोजक तथा बागमती प्रदेश सांसद विजय सुवेदीले रंगशाला निर्माणमा सहयोग गर्न चितवनका कोही नछुटुन् भनेरै महोत्सव गर्न लागिएको बताए । “यो अवधिमा सबैलाई समेट्न जनस्तरबाटै पहल भइरहेको छ”, उनले भने, “स्वेच्छाले सहयोग गर्ने हो, ३ लाख बढी व्यक्तिको दान सहयोगमा बनेको रंगशाला बनेर अपनत्व महसुस गराउन महोत्सव गर्न लागिएको हो ।”
उनले रंगशाला निर्माणमा जनस्तरबाट ३ अर्ब उठाउने अभियान अन्र्तगत महोत्सवबाट ५० करोड जुटाउने लक्ष्य लिइएको बताए । “सकेसम्म खर्च कम गरेर संकलित सबै रकम फाउण्डेसनलाई हस्तान्तरण गर्नेछौँ”, उनले भने, “देश विदेशबाट सबै नेपाली सहयोगको महाअभियानमा जुट्ने विश्वास लिएका छौँ ।” महोत्सव गर्न १ हजार १ सदस्यीय मुल समारोह समिति, ५९ वटा उपसमिति, २ सय ८३ सदस्यीय सचिवालय गठन गरीएको छ । “जनताका नागरिक अगुवाबाटै महोत्सव गर्न लागेका छौँ”, उनले भने, “यो धर्म प्रवद्र्धन गर्न केन्द्रीत कार्यक्रम होइन, रंगशाला निर्माण गर्ने महाअभियान हो ।” निर्माणाधिन रंगशाला परिसरमा वाचनप्रवीण पण्डीत दीनबन्धु पोखरेल मुख्यबाचकका रुपमा भागवत महापुराण वाचन हुनेछ । भजनकिर्तन, धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सहितको महोत्सव हुनेछ । “सबै धर्मावलम्बीको सहभागिता हुनेछ, धार्मिक अगुवाहरुसँग समन्वय भइरहेको छ”, उनले भने, “रंगशाला बनाउन सबैको हातेमालो आवश्यक छ ।”
यही १९ गते महोत्सवको उद्घाटन हुनेछ । २२ विधाका राष्ट्रिय ख्यातीप्राप्त २२ खेलाडीमार्फत संयुक्त रुपमा महोत्सवको उद्घाटन हुनेछ । प्रविधिको प्रयोग गरी ‘बटन थिचेर’ मञ्चको पर्दा सारेर उद्घाटन हुनेछ । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आर्चायबाट दीपप्रज्वलन हुनेछ । यस्तै गुरुहरुबाट आर्शिवाद वचन, राजनीतिक पार्टी र सामाजिक अभियान्ताबाट बेलुन उडाउने, लुम्बिनी सांस्कृतिक नगरपालिका मेयरले भरतपुर महानगरका मेयरलाई पिपलको विरुवा हस्तान्तरण गर्ने, लुम्बिनी कोषका उपाध्यक्षले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ लाई लुम्बिनीको पवित्र माटो प्रदान कार्यक्रम समेत हुनेछ । मंगलपुर बजार– गाविसचोकहुदै रंगशाला परिसरसम्म झाँकीसहितको शोभा ¥याली निकालिनेछ ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले आर्थिक स्रोत जुटेमा रंगशालाको कामले थप गती लिने बताए । “विशाल अभियानमा सबै सहभागि बनौँ, यो राष्ट्रिय गौरवको आयोजना हो”, उनले भने, “सबै रंगशाला निर्माणको अभियान्ता बनौँ ।” उनले निर्माणलाई गती दिदा संकलन हुने रकमभन्दा धेरै खर्च गर्नुपर्ने अवस्था रहेकाले बेलैमा सहयोग भएमा छिटै रंगशालाले पूर्णता पाउने बताए । “अबको ४ महिनामा देशकै पहिलो अन्र्तराष्ट्रिय खेलमैदान तयार हुदैछ”, उनले भने, “मैदानलाई बलियो बनाउन ‘ड्रेनेएज’ को काम लगभग पुरा भएको छ, १६ लाख लिटर पानी अट्ने क्षमताको बनेको छ, ४७१ मिटर परिधिको ढलानको काम पनि अन्तिम चरणमा छ ।” जग्गा होचो भएकाले करिव ४ फिट माटो भर्ने लगायतको काम पनि भइरहेको छ । मैदानको पिचबाट रेडियस ७५ मिटर कायम हुनेछ । अन्य संरचना सुरु गर्न बजेट अभाव देखिएको छ । निर्माणाधिन रंगशालामा ३० हजार जना अट्ने छन् । २२ विधाका खेल खेल्न मिल्ने संरचना, ७ प्रदेश झल्किने कमल फूल सहितको ७७ जिल्लाको पहिचान झल्कने कक्षहरु समेत निर्माण हुनेछन् । यो खेलकुदको राष्ट्रिय हब तथा शिक्षालय बन्ने विश्वास छ ।
के कति संकलन हुनेछ ?
महात्सव मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले महोत्सव निकै कम खर्चमा गर्न लागिएको दाबी गरे । “जतिसक्दो कम खर्च गर्ने, सौजन्यबाटै खर्चको व्यवस्थापन गर्नेतिर लागेका छौँ”, उनले भने, “संकलित सबै रकम रंगशाला बनाउन उपभोग हुने गरी तयारी बढाएका छौँ ।” उनले मुख्यवाचक पण्डीत दीनबन्धु पोखरेलले विना पारिश्रमिक महोत्सवमा सहभागि हुने बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चुकेले महोत्सव गर्न ७६ लाख ७६ हजार ५० रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । गुरु सहायक, कलाकार तथा पण्डीतका लागि ८ लाख, स्टेज–साउण्ड सिष्टम लगायतलाई १९ लाख, पुजा सामाग्री लगायतमा ९ लाख १ हजार, खादा, फ्रेम, प्रमाणपत्रमा १८ लाख ७५ हजार, प्रचारप्रसारका लागि १० लाख खर्च हुने अनुमान छ । धनधान्यचलबाट मात्रै ३४ लाख ७६ हजार आम्दानी हुने अनुमान छ । तुलादान, चौरासी, ब्रतबन्ध, लक्ष्यवर्ती, दानपेटीका, विवाह लगायतबाट सो आम्दानी हुने अनुमान छ ।
भरतपुरका २९ वडातहका टोल, समूह तथा वडाकार्यालयबाट ११ करोड, चितवनका ७ स्थानीयतहबाट ८ करोड, देशभरका स्थानीय तहबाट ८ करोड ५० लाख, सरकारी कर्मचारीबाट २५ लाख संकलन हुने अनुमान छ । उद्योगी, व्यवसायी, सहकारी, बैंक तथा वित्तिय संस्था, अस्पताल, शैक्षिक संस्था लगायतबाट सहयोग संकलन हुने अपेक्षा छ । महोत्सवबाट ५० करोड ७६ लाख बढी संकलन हुने अनुमान छ ।
सहयोग जुट्न थाल्यो
निर्माणाधिन रंगशालामा पुगेरै आर्थिक सहयोग गर्ने क्रम बढेको छ । अक्सफोर्ड कलेज गैडाकोटले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, फिनल्याण्डबासी नेपालीको तर्फबाट ४ लाख ७० हजार ५ सय रुपैयाँ, सनराईज इंलिस स्कुलबाट २ लाख, चितवन मुस्लिम समाजबाट २७ हजार १ सय ८५ रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबारमात्रै रंगशालाकालागि १९ लाख ६५ हजार ३ सय ४५ रुपैयाँ सहयोग प्राप्त भएको छ । धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराउने १ सय टिपर बालुवा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले निःशुल्क ढुवानी गरेर रंगशालासम्म ल्याउँदैछन् । बिहीबार विहान रंगशाला परिसरमा १ सय टिपर बालुवा सहयोग आइपुग्दैछ ।
९ दलको प्रतिवद्धता
बृहत धनधान्याचल महोत्सवमा सक्रिय सहभागिता जनाउन चितवनका ९ दलले अपिल गरेका छन् । नेकपा, नेपाली, राजपा, समाजवदाी दल, राष्ट्रिय जनमोर्चा, साझा पार्टी चितवनका अध्यक्षहरु, राप्रपाका प्रवक्ता, नेकपा माले, राप्रपा संयुक्तका सचिवहरुले संयुक्त हस्ताक्षर गर्दै प्रतिवद्धता जनाएका हुन् । नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्का र कांग्रेस चितवनका सचिव उत्तम जोशीले रंगशाला निर्माण महाअभियानमा सहभागि हुन अनुरोध गरे ।