भरतपुर,३० जेेठ।
बाँदरमुढे घटनामा ज्यान गुमाएकाको सम्झनामा पीडित परिवार घटनास्थल माडीको बाँदरमुढे खोला किनारमा एक हप्तासम्म धार्मिक कार्यक्रममा सहभागी भएका छन् । बाँदरमुढे पीडित संघर्ष समितिको आयोजनमा भएको ‘राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञमा बाँदरमुढे घटनाका पीडित परिवारको सहभागिता थियो ।
२०६२ जेठ २३ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ता राखेको विद्युतीय धराप (एम्बुस)मा परी माडी बाँदरमुढे खोलामा ४१ जनाले ज्यान गुमाएका र ७५ जना घाइते भएका थिए । अकालमा ज्यान गुमाएका व्यक्तिको स्वर्गवास होस् भन्ने कामनासाथ हिन्दू धर्मानुसार कार्यक्रम गरिएको पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । दिनभर धार्मिक प्रवचन, राति भजनकिर्तन गरिएको थियो । युवा पण्डित देवनयन नारायण लामिछानेले प्रवचन गरेका थिए । “आर्थिक सहयोग जुटाउन ज्ञानमहायज्ञ गरिएको होइन”, उनले भने, “दिवंगत अत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रम गरेका हौं ।” छुट्टाछुट्टै कार्यक्रम गर्दा आर्थिक व्यवहार बढी पर्ने भएकाले सामुहिक कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रम सञ्चालन गर्न पीडित परिवारले ५ लाख १२ हजार रुपैयाँ आर्थिक संकलन गरिएको थियो । ३ लाख ५० हजार खर्च भएको थियो । ज्ञानमहायज्ञ समापन कार्यक्रममा बाँदरमुढे स्मारक बनाउन जग्गादान गर्ने धनमाया रिमाल प्रमुख अतिथि थिए । समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समितिका सचिव भानु आचार्य, कार्यक्रम संयोजक यमनाथ सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका अगुवाहरु नगन्य सहभागी भए । बाँदरमुढे पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बाँदरमुढे स्मारकलाई पर्यटकीय गन्तव्य बनाउने गरी वाटिका निर्माण गर्न आग्रह गरे । उनले नगरपालिका तथा नेपाल सरकारले बाँदरमुढे पीडित परिवारलाई आर्थिक सहयोग तथा आयआर्जनमूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । बाँदरमुढे खोलामा रहेको सो स्मारकलाई स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।