शिव गौतम
भरतपुर, ११ माघ
भरतपुर महानगरपालिकाका सडकमा गुड्ने म्याजिक भ्यानमा यात्रु अझै मुढामा बसेर यात्रा गर्न बाध्य छन् । मुढामा मात्रै होइन, म्याजिकका ढोका पनि यात्रु बस्ने सीट बन्छन्, बनाइन्छन् । अटेसम्म यात्रु कोच्छन्, म्याजिक भ्यान ।
ट्राफिक प्रहरीले राजमार्ग क्षेत्रमा विभिन्न समयमा अनुगमन गर्ने भए पनि म्याजिक चालकहरूले मुढा राखेर यात्रु चढाउने क्रम रोकेका छैनन् ।
नारायणगढबाट फुर्तिचोक, शिवघाट तथा चौबिसकोठीबाट गीतानगर, मंगलपुरलगायतका रुटमा चल्ने म्याजिकमा अझै पनि क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको छ । भरतपुर महानगरपालिकाभित्र टाटा र महिन्द्रा कम्पनीका भ्यान चल्ने गरेका छन् । यी गाडीमा सीट क्षमता ७/८ जनाको मात्र हुन्छ । तर, म्याजिकका चालक र सहचालकले गाडीमा मुढा थपेर त्यसको दोब्बरसम्म यात्रु चढाउने गरेका छन् । म्याजिकको एकातर्फको सिटमा तीन जना मात्र अट्ने भए पनि चालकहरूले चार जना यात्रु बसाउने गरेका छन् ।
एउटा म्याजिकमा अझै पनि तीनवटासम्म मुढा राख्ने गरिएको छ । सानो म्याजिक भ्यानमा १४/१५ जना बस्दा खुट्टा राख्न ठाउँ पनि नमिल्ने गरेको यात्रुले गुनासो गर्ने गरेका छन् । क्षमताभन्दा बढी यात्रु राखी यात्रा गर्दा दुर्घटनाको सम्भावना बढ्ने भएपनि चालकहरूले त्यसतर्फ चासो दिएको पाइँदैन । “हामीले केही समयअघि छड्के जाँच गर्दा म्याजिक भ्यानबाट करिब दुई सय मुढा जफत गरेका थियौ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीले भने, “गाडीमा सीट वा मुढा थपेर यात्रु चढाउनु नियमविपरीत कार्य हो । त्यसो गर्नेलाई हामी कारबाही गर्छाैं ।”
विगतको तुलनामा गाडीमा मुढा थपेर यात्रु भर्ने क्रममा कमी आएको ट्राफिक प्रहरीको दाबी छ । तर, प्रहरीको आँखा छलेर म्याजिक चालकहरूले क्षमताभन्दा बढी यात्रु ओसार्ने, लेन अनुशासन मिच्ने र जथाभावी यात्रु चढाउने तथा ओराल्ने काम गर्ने गरेका छन् । “घर जान अटो रोजौं भने अटोले बढी शुल्क लिन्छन् । रात परेपछि घर जान खासै गाडी पाइँदैनन् । त्यही भएर पनि ढोकामा बसेर यात्रा गर्नुपरेको हो”, टुहुरेचोक घर बताउने एक महिलाले भनिन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले आफूहरूले चालक, सह–चालक र गाडी धनीलाई क्षमताभन्दा बढी यात्री चढाउनू भनेर कहिल्यै पनि नभन्ने गरेको बताए । “सिट क्षमता जति हो त्यति यात्रुको मात्र बीमा रकम सुरक्षित हुन्छ । दुर्घटनामा परी मुढामा बसेका यात्रुलाई केही हुन पुगे बीमा रकम मिल्दैन । प्रत्येक मिटिङमा हामीले चालकहरूलाई सम्झाउँछौं”, उनले भने ।
बालमैत्री छैनन् सार्वजनिक यातायात
भरतपुर महानगरपालिकालाई बालबालिकामैत्री शहर घोषणा गरिसकिएको छ । बालमैत्री शहरमा बालबालिकाले प्राप्त गर्नुपर्ने आधारभूत अधिकारको सुनिश्चितता गराइएको हुन्छ । भरतपुर महानगरपालिकाको कूल जनसंख्याको करिब १६ प्रतिशत हिस्सा ओगट्ने बालबालिकाका लागि सार्वजनिक यातायातका साधन भने अझै पनि बालबालिकामैत्री हुन सकेका छैनन् । लामो होस् या छोटो दूरीमा यात्रा गर्दा बालबालिकाले अधिकांश समयमा सास्ती बेहोर्नुपरेको छ । धेरैजसो सार्वजनिक बसहरूमा बच्चा उक्लन सक्ने गरी ढोकामा सिँढी राखिएको पाइँदैन ।
त्यस्तै यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाएर यात्रा गराइँदा पनि बालबालिका जोखिममा पर्ने गरेका छन् । एक गाडीको ढोकाबाट भित्र छिरेपछि सिट पनि बालमैत्री नहुँदा बालबालिकाले धेरै अप्ठ्यारोको सामना गर्नुपरेको हुन्छ । त्यसैगरी सार्वजनिक सवारीसाधनमा महिला र वृद्धवृद्धालाई जस्तो बालबालिका आरक्षण सीट नहुँदा पनि बालबालिका असुरक्षितरूपले यात्रा गर्न बाध्य हुने गरेका छन् ।
आमाबुवाको काखमा बसी यात्रा गर्ने बालबालिकालाई केही सहज भएपनि सार्वजनिक यातायातका साधनमा आमा वा बाबुले उभिएर यात्रा गर्ने अवस्था आएको खण्डमा बालबच्चालाई कहाँ राख्ने भन्ने कुराले ठूलो चिन्ता थप्न सक्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरी बताउँछन्, “बालबालिका आफ्ना आमाबुबाको काखमा बसेर यात्रा गर्ने गर्छन् । त्यही भएर बालबालिकाका लागि आरक्षण सिट राखिएका हुँदैनन् । चाहेको खण्डमा आमाबुबाले बच्चाका लागि सिट पनि रिजर्भ गर्न सक्नुहुन्छ ।”
बसको ढोकामा हुने खुड्किला अग्लो हुँदा बालबालिकालाई चढ्न अप्ठ्यारो हुने उनले बताए । “स्कूल बसहरूमा त ढोकामा खुड्किला थप्न पनि लगाएका छौं । ठूला बसमा त्यसो गरिएको हुँदैन । व्यवसायसँग छलफल गरेर ती कुरामा पनि सुधार ल्याउन सल्लाह दिनेछौं”, ठकुरीले सुनाए ।