भरतपुर, २९ जेठ ।
शैलजा स्मृति प्रतिष्ठान चितवनले चौविसकोठीमा सोमबार प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको स्मृतिमा दीपप्रज्वलन गरेको छ । साँझ चौविसकोठीमा नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ता भेला भएर दीपप्रज्वलन गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले स्वर्गिय शैलजा आचार्य निष्ठावान, निडर र साहसी महिला नेता भएको स्मरण गरिन् । उनले नेपाली राजनीतिमा पु¥याएको योगदानको प्रशंसा गरिन् । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शैलजा आचार्यबाट असल नेतृत्वको पाठ सबैले सिक्नुपर्ने बताए । शैलजा स्मृति प्रतिष्ठान चितवनकी सचिव पार्वती शाहले शैलजा आचार्य नेपाली राजनीतिमा प्रेरणाको स्रोत भएको बताइन् ।
शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकको पहिलो महिला उपसभापति थिइन् । स्वर्गीय आचार्य कृषि वन तथा भूसंरक्षण मन्त्री रहिन् । शान्तिपूर्ण संघर्ष, सशस्त्र आन्दोलन शैलजा अग्रपंक्तिमा देखा पर्थिन् । मुलुकी ऐनको एघारौं संशोधन ल्याउनमा शैलजाले महत्वपूर्ण भूमिका खेलकी थिइन् । भ्रष्टचारमुक्त समाज निर्माण गर्नुपर्ने भन्दै उनले मन्त्रीपदबाटै राजीनमा दिएर चर्चामा आएकी थिइन् । तत्कालिन राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गर्दा उनले राजा विरुद्ध विरुद्ध कालो झण्डा देखाउँदै साहसिक कदम चालेकी थिइन् । २०६६ जेठ २९ गते उनको निधन भएको थियो ।