भरतपुर, ५ माघ
आत्महत्या दुरुत्साहन मुद्दामा अदालत धाउदै आएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाले करिव पाँच महिनापछि सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो । न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो ।
लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।
उक्त मुद्दामा यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो । विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो ।
जिल्लाको सो आदेशमा लामिछाने उच्च अदालत पुगेका थिए। उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो।