शिव गौतम
भरतपुर, २ माघ
पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–नारायणघाट सडकखण्ड नजिक पर्ने रुख काटिएपछि विकास कि वातावरण भन्ने बहस चुलिएको छ । सडक छेउ भएका रुख धमाधम ढाल्ने र अरु पनि नरोप्ने हो भने भविष्यमा समस्या पर्ने सरोकारवाला बताउँछन् ।
यही बहस चुलिएपछि डिभिजन वन कार्यालय भरतपुरले भने अन्य क्षेत्रमा रुख रोप्ने भनेको छ । डिभिजन प्रमुख विष्णुप्रसाद पौडेलले भने, “हरेक विकास निर्माणका काम वातावरण संरक्षण ऐन र नियमावलीका आधारमा नै हुने हुन् । चौबिसकोठीमा काटिएका रुखको बदलामा रुखहरू रोप्नेछौं । कहाँ रोप्ने भन्ने निश्चित भइसकेको छैन ।”
बोटबिरुवा मानिसका लागि मात्र नभएर सबै जीवका लागि आवश्यक पर्ने भएकाले तिनको संरक्षण आवश्यक रहेको पौडेलले बताए । विकासको नाम दिएर रुख फाँडिदा बाढी, पहिरो, अनावृष्टि, खण्डवृष्टि, तापक्रममा वृद्धिलगायत समस्या देखिन सक्ने उनले सुनाए । चौबिसकोठीचोकमा वर्षांै वर्षदेखि भरतपुरबासी तथा बटुवाहरूलाई छहारी दिँदै आएको पीपलको बोट ढालिएपछि केही युवाहरूले त्यसको विरोधमा शोकसभा नै आयोजना गरे ।
यसवर्ष दक्षिण अमेरिकाको एमाजन जंगल र अष्ट्रेलियाका विभिन्न स्थानमा डढेलोका कारण लाखौंलाख वन्यजन्तुले ज्यान गुमाएको उदाहरण दिँदै विद्यार्थीले सबै नेपाली जंगल र बोटबिरुवाको संरक्षणमा लाग्न आवश्यक रहेको बताएका थिए । जंगल नरहने हो भने भविष्यले भयानक रूप देखाउन सक्नेतर्फ पनि उनीहरूले संकेत गरेका थिए ।
सडक विस्तारमा अवरोध पुग्ने संरचनाहरू सडकको दुवैतिर भएपनि महानगरले रुखलाई नै सुरुमा मास्न थालेको सुनिल सापकोटाले प्रतिक्रिया दिए । “बाटोको छेउमा मानवनिर्मित संरचना पनि थिए । तिनलाई हटाउन महानगरले कसरत गरेको छैन”, सापकोटाले भने, “एकैपटक रुख मास्न लागेको छ । किनकि रुख बोल्न सक्दैन ।” सम्पूर्ण युवाहरूले रुखका लागि बोल्न आवश्यक रहेको उनले बताए ।
पूर्खादेखि नै चोक तथा खाली ठाउँमा वर, पीपल र समी जस्ता रुख रोप्ने चलन चलिआएको थियो । सनातन धर्म मान्ने मानिसका लागि त रुखहरूले पर्यावरणीय मात्र नभई धार्मिक र भावनात्मक अर्थ पनि राख्ने गरेका छन् । रुखलाई जल चढाउने र तिनको पूजाआजा गर्ने चलन पनि रहेको छ । पुर्खाले रोपेका बोटबिरुवा यसरी नै मास्दै जाने हो भने हरियाली हराउन समय नलाग्ने धेरैको बुझाइ छ ।
नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक पूर्णशंकर गौतम भन्छन्, “पूर्खाहरूले गहिरो अध्ययन गरेर वर, पीपल र समीको रुख रोप्ने गर्दथे । बाटोमा हिँड्नेहरू रुखको छहारीमुनि विश्राम गर्दथे । सबै रुख मास्न थाल्ने हो भने शीतलता पनि मर्दै जान्छ ।” विकासका नाममा पृथ्वीमा रहेका श्रोतको अति दोहन गर्नुले राम्रो नतिजा नदिने उनी बताउँछन् ।