विप्लव काफ्ले
भरतपुर, ३ माघ
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषधका तस्करलाई आक्रामक रुपमा निमुर्ल पार्ने अभियानमा लागिपरेको बताएका छन् । नेपाल प्रहरी र भरतपुर महानगरको संयुक्त पहलमा जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा लागु औषधका प्रयोग, रोकथाम र नियन्त्रणका लागि काुननी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको शुक्रबार उद्घाटन गर्दै उनले लागुऔषध नियन्त्रणमा प्रहरी प्रतिवद्ध रहेको बताए ।
“हिजो सेवनकर्ता बढी पक्राउ पर्थे, अहिले ठुला तस्कर पक्राउ पर्न थालेका छन्”, उनले भने, “तस्करहरुलेनै कुलतमा फसाइदिने, घर समाजलाई विक्षिप्त बनाउने समूह छ, त्यसलाई निर्मुल पारेरै छाड्ने छौँ ।” उनले लागुऔषधका तस्करलाई आक्रामक रुपमा नियन्त्रण गर्न प्रहरीलाई सुझाए । उनले समुदायतहबाट सक्रियता बढेमा लागुऔषध समस्या हल गर्न सहज हुने बताए । “स्कुल कलेज पढ्ने विद्यार्थी भोलिका कर्णाधार हुन्, विचलित छन्, दुव्र्यसनमा छन्, पत्तै नपाई बिग्रिरहेका छन्”, प्रहरी महानिरीक्षक खनालले भने, “जुन परिवार प्रताडित छन्, त्यसको पीडा त्यही परिवारलाई बढी थाहा हुन्छ । नरकीय जीवनमा जानबाट बचाउन अब अभिभावक पनि सजग हुनुपर्छ ।” उनले स्थानीय तहहरुसँग समन्वय गरेर लागुऔषध र मदिरा निषेधका कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले कुलतमा फसेकालाई सुधार गर्ने नाममा सञ्चालन भएका केही ‘रिहाब सेन्टर’ ले लागुऔषध प्रयोगकर्ताकै संख्या बढाउन लागेको पाइएको बताए । “सेन्टर खोल्यो, बाहिरबाट पैसा ल्यायो, उल्टै लागुऔषध प्रयोगकर्ताको संख्या बढाउने काम पनि भएका छन्”, उनले भने, “संस्थाको नाममा बदमासी गर्ने अब कारवाहीमा पर्छन्, युवालाई कुलतमा फसाइरहने प्रवृत्ति हटाइनेछ ।”
परामर्श केन्द्र सुरु
जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा लागुऔषध रोकथानम तथा नियन्त्रणका लागि परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी र भरतपुर महानगरले संयुक्त रुपमा सञ्चालनमा आएको परामर्श केन्द्रले लागुऔषध मुद्धामा पक्राउ परेकालाई निःशुल्क परामर्श दिनेछ । स्थानीय अभिभावकले कुलतमा फस्न लागेका युवालाई कसरी सुधार गर्नेभन्नेबारे विज्ञबाट परामर्श लिन सक्नेछन् । परामर्श केन्द्रमा विज्ञ तथा डाक्टरले लागुऔषधको वेफाइदा, बच्ने उपाय, सावधानिका तरिकाबारे जानकारी दिनेछन् ।
प्रहरी र महानगरले द्वीपक्षिय समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन् । परामर्श केन्द्रको सञ्चालन, रेखदेख प्रहरीले गर्नेछ । परामर्श केन्द्रको भौतिक पूर्वाधार निर्माण, कोठा भाडा, फर्निचर लगायतको व्यवस्थापन महानगरले गर्नेछ । विज्ञ तथा परामर्शदातालाई आवश्यक सुविधा महानगरले उपलब्ध गराउनेछ । प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रको उद्घाटन गर्दै यस्तै प्रकृतिका केन्द्रहरु अन्य प्रदेश र शहरमा समेत खोल्नुपर्ने बताए । “यो पवित्र काम हो, अन्यत्रपनि अनुकरण होस्”, उनले भने, “यहाँ कुलतमा फसेका मात्रै होइन, फस्न लागेका व्यक्ति वा तीनका परिवारले परामर्श लिने ठाउँ पनि हो ।” उनले ९० प्रतिशत बढी कानुन कार्यान्वयन गरी सजाय भोगिसक्दा समेत नसुध्रिएका धेरै रहेकाले विज्ञबाटै परामर्श दिने अभियान चलाउन थालिएको बताए ।
लागु औषध व्युरो प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाले नेपालमा लागुऔषध सेवनकर्ताको संख्या बढ्दो अवस्थामा रहेको बताए । केन्द्रीय तथ्यांक विभागका अनुसार २०६९ सालमा स्थलगत अनुगमन गरेको तथ्यांक अनुसार प्रत्येक वर्ष ११ दशमलव ३६ प्रतिशतको दरले सेवनकर्ता नेपालमा बढीरहेका छन् । यो तथ्यांक मदिरा र गाँजा सेवनकर्ता बाहेकका हुन् । गृहमन्त्रालयले यो वर्ष तथ्यांक विश्लेषणको काम गरिरहेको बताए । “प्रारम्भिक विश्लेष्णका आधारमा करिव २ लाख लागुऔषध सेवनकर्ता छन्”, उनले भने, “यो वृद्धिलाई समयमै रोक्ने काम गर्न नसके भविष्यमा भयावह अवस्था आउने छ ।” उनले नेपाल प्रहरीमा दर्ता भएका अपराधको अवस्था हेर्दा ७० प्रतिशत अपराध लागुऔषधकै कारण हुने गरेको बताए । अप्राकृतिक मृत्यु हुनेको कारण केलाउँदा ८० प्रतिशत लागुऔषधकै कारण देखिएको बताए । उर्जाशिल युवा कुलतमा फसेका देखिन्छन् ।
१६ देखि ४५ वर्ष उमेर समूहकै बढी कुलतमा छन् । मेयर रेनु दाहालले महानगरलाई दुव्र्यसनमुक्त बनाउन प्रहरीसँग मिलेर जनचेतनामुलक कार्यक्रमलाई अगाडी बढाइने बताइन् । उनले स्कुलतहबाटै नैतिक, अनुशासन विकास र लागुऔषध प्रयोगलाई निरुत्साहित गर्ने विषय पाठ्यक्रममै समावेश गर्ने तयारी भएको बताइन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख नारायणप्रसाद भट्टराईले दुव्र्यसनमा परेकालाई सामान्य जीवनमा फर्काउने चेतनामुलक कार्यक्रमको खाँचो रहेको बताए । उनले लागुऔषध ओसारपसार र प्रयोगमा नियन्त्रण अतिआवश्यक रहेको बताए । बाग्मती प्रदेशका प्रहरी प्रमुख बरिष्ठ नायव महानिरीक्षक शेरबहादुर बस्नेतले लागुऔषधको दलदलमा फसेकालाई उद्वार गरी समाजमा असल नागरिकका रुपमा स्थापित गर्न उचित परामर्शको आवश्यकता पर्ने बताए । नेपाल प्रहरीले लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरी कानुनी कारवाही गरेपनि अधिकाँस सुध्रिन सकेका छैनन् ।
चितवनमा प्रहरी प्रमुख को आउने ?
जिल्ला प्रहरी कार्यालय चितवन पुस १९ गतेदेखि प्रमुख विहिन छ । प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरुवा भएर गएपछि प्रहरी नायव उपरीक्षक (डिएसपी) एकनाररायण कोइराला कार्यावाह प्रमुख भएर कार्यरत छन् । पुस २ गते सरुवा गरिएका मल्लले १७ गते बल्ल चितवन छाडेका थिए ।
उनको ठाउँमा चितवन सरुवा गरिएकी गंगा पन्त हालसम्म कार्यालयमा आइपुगेकी छैनन् । परामर्श केन्द्र उद्घाटन सकेर फर्किनै लाग्दा जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकारले प्रहरी महानिरीक्षक सर्वेन्द खनाललाई चितवन प्रहरी प्रमुख कहिले आउने भनेर केही प्रश्न सोध्न खोजेका थिए । “अहिले नसोध्नुहोस्, तपाइले पनि बुझ्नुभएको छ, मैले पनि बुझेको छु । तपाईहरु सबै जानुस्”, खनालले भने, “ प्रशासनिक काम कारवाही गर्दै जानुपर्छ यति बुझ्नुस् ।”