भरतपुर, २९ पुस
वेणि संगम देवघाटमा जनप्रतिनिधिको गोलमेच बैठक बसेको छ । देवघाट गाउँपालिकाको आयोजनामा भएको ‘धार्मिक पर्यटन प्रर्वद्धन गोष्ठी’ गोलमेच बैठक शैलीमा मंगलबार भएको थियो । तनहुँ, चितवन, नवलपुर, गोर्खा, स्याङजा, सुनसरी, प्युठान जिल्लाका ९ नगरपालिका र २ गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षको सहभागिता थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै धार्मिक पर्यटनको सम्भावना अधिक रहेको चर्चा गरे । नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनमा लगानी गर्न सके देशलाई समृद्धि लैजान सकिने बताए । “पर्वत, नदी किनारमा प्रशस्तै धार्मिक क्षेत्र छन्, जाने बाटो, आराम गृह, भोजनालय, शौचालयजस्ता पूर्वाधार बनाउन सके आम्दानी समेत हुन्छ”, उनले भने, “पर्यटक पनि खुशी बन्छन् ।” गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले स्थानीय तहले पर्यटन पूर्वाधार विकासका योजना बनाउन ढिलाई गर्न नहुने बताए । “भ्रमण वर्ष एक वर्षलाई होइन, यो त अभियान हो”, उनले भने, “स्थानीय तहले पर्यटकीय गन्तव्य पुग्ने बाटो, आकर्षक पूर्वाधार बनाउन अब पनि ढिलो गरेर हुदैन, डिपिआर बनाउनुस्, आवश्यक परेको सहयोग गर्न मन्त्रालय तयार छ ।” उनले गण्डकी प्रदेशलाई ‘नेचुरल हस्पिटल’ को संज्ञा दिदै धार्मिक तथा पर्यापर्यटनका गतिविधि बढाउन सुझाए ।
भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले हरेक स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरेर गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने बताए । स्वर्गद्वाराी नगरपालिका प्रमुख नेत्रबहादुर रोक्का क्षेत्रीले वन, जंगलभित्र घुम्ने गोरेटो बाटो, एक आसपासमा स्थानीय तहबीच सहकार्य भएमा धार्मिक पर्यटक बढी भित्रने बताए । गैडाकोट नगरपालिका मेयर छत्रराज पौडेलले कालिगण्डकी करिडोरलाई धार्मिक क्षेत्रका रुपमा अघि बढाउनुपर्ने बताए । कार्यक्रममा मन्त्री लम्सालले देवघाट गाउँपालिकाको पर्यटकीय गन्तव्य चिनारी पुस्तक र पर्यटन योजना पुस्तकको विमोचन गरे । कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा भएको थियो ।