शिव गौतम
भरतपुर, २५ पुस
नेपाल भ्रमण वर्ष २०२० औपचारिकरूपमा सुरु भइसकेको छ । देशभरि रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्था आफ्नो ठाउँमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि गृहकार्य गर्न थालिसकेका छन् ।
सामाजिक सञ्जालतिर आफ्नो प्रोफाइल पिक्चरमा नेपाल भ्रमण वर्ष २०२० अंकित लोगो राख्ने लहर पनि सुरु भइसकेको छ । सरकारले बीस लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिँदै गर्दा अपराधिक मनसाय बोकी नेपाल प्रवेश गर्नेलाई कसरी रोक्ने भन्ने कुरा सुरक्षाका दृष्टिले चुनौतीपूर्ण बनेको छ । केही महिना अघिमात्रै काठमाडौंमा बैंकको एटीएम मेसिन ह्याक गरी पैसा चोरी गर्ने सयभन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका थिए । उक्त कुरा सेलाउन नपाउँदै चितवन जिल्लामा पनि प्रहरीले शंकास्पद गतिविधि गरेको भन्दै दुई चिनियाँ नागरिकलाई पक्राउ गरी प्रशासनलाई बुझायो ।
प्रहरीले अझै केही विदेशी नागरिक भागेको हुनसक्ने अनुमान पनि गरेको थियो । विदेशी नागरिकहरूले साइबर आक्रमण र ह्याकिङलगायत अपराध गर्न नेपाललाई रोज्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अभद्र व्यवहारको मुद्दा चलाइएका चिनियाँ नागरिकलाई ‘डिपोर्ट’(आफ्नो देश फर्काउने) गरी राजधानी पठाइएको छ ।
पर्यटकको स्वागत गर्न प्रशासन सधैं तयार रहेको भन्दै शर्माले कागजात लिएर र प्रक्रिया पु¥याएर नेपाल छिर्ने पर्यटकहरूलाई ‘अथिति देवो भवः’ भनी सम्मान गरिने बताए । लुकिछिपी नेपाल प्रवेश गरी अपराध गर्नेहरूका लागि भने प्रहरी र प्रशासन कडा भएर उत्रिने उनले चेतावनी दिए । “अन्तर्राष्ट्रिय अपराधीलाई समातेर डिपोर्ट गर्ने नीति सरकारले राखेको हुँदा हामीले त्यही अनुसार काम गर्ने हो”, शर्माले भने । भिजिट भीसामा नेपाल प्रवेश गरी अपराध गर्नेको संख्या बढेपछि चितवन जिल्लामा पनि प्रशासनले गलत काम गर्ने विदेशीमाथि निगरानी बढाउन थालेको हो ।
विदेशी नागरिकहरूले साइबर आक्रमण र ह्याकिङलगायतका अपराध गर्न नेपाललाई नै रोज्ने गरेका छन् । आईटी क्षेत्रमा थोरै मात्र विज्ञ हुनु र साइबर सुरक्षा कमजोर हुनाका कारण नेपाल आएर साइबर अपराध गर्नेको संख्या बढेको हो । नेपाल आएर अपराध गर्नेहरूलाई रोक्नका लागि इन्टरनेट तथा कम्प्युटर सुरक्षामा ध्यान दिनुपर्ने कम्प्युटर एशोसिएसन महासंघका केन्द्रीय सदस्य भानु शर्माले बताए ।