भरतपुर, २१ पुस
भरतपुरमा ‘क्यान इन्फोटेक चितवन’ मेला हुने भएको छ । यही माघ २४ गतेदेखि २८ गतेसम्म मेला लायन्सचोकस्थित पुरानो सब्जिमण्डी परिसरमा हुनेछ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ चितवन शाखाको आयोजनमा हुने मेलामा ८१ स्टल रहनेछन् ।
मेलाको यो पाचौँ संस्करण हो । जिल्ला शाखा चितवनका अध्यक्ष सन्तोषजनक भुषालले सूचना प्रविधिबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको बताए । मेलामा कम्प्युटर हार्डवेयर, सफ्टेवयर, सुरक्षासँग सम्बन्धित सामाग्री, मोबाइल, स्मार्ट टिभि, शैक्षिक परामर्शदाताका संस्था, कलेज लगायतका स्टल रहने छन् । “मेलामा हरेक सामानमा विशेष छुटको व्यवस्था मिलाएका छौँ”, उनले भने, “यूवापुस्ता बढी लाभान्वित हुने अपेक्षा गरेका छौँ ।” भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तीव्र पारिएको जनाइएको छ ।
मेलामा आई.टी.सम्बन्धी अन्तरक्रिया, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोवोटिक्स प्रर्दशनी, साइबर सेक्युरिटी सेमिनार, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई लक्षित गरी ‘सूचना साक्षरता कार्यक्रम’ लगायतका गतिविधि हुनेछन् । ह्याकाथन समेत गरिदैछ । मेलामा ४१ लाख खर्च हुने अनुमान गरिएको छ । ४५ लाख ६० हजार आम्दानी हुने अनुमान छ ।
जिल्ला शाखाका निवर्तमान अध्यक्ष भानु शर्माले मेलाबाट भएको नाफाबाट विद्यालयहरुलाई कम्प्युटर तथा सूचना प्रविधिका सामाग्रीहरु प्रदान गरिने बताए । मेलाको प्रभु पे शीर्ष प्रायोजक रहेको छ । यस्तै वर्डलिंक सहायक प्रायोजक, अक्सफोर्ड कलेज, टेकमाइण्ड, लर्डबुद्ध एजुकेशन फाउण्डेसन, एसपावर, भयानेट सिल्भर प्रयोजक रहेका छन् ।