दाङ ,२८ जेठ । शुक्रवार अपहरणमा परेका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अवस्था आजसम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार आकस्मिक बैठक बसेर सकुशल रिहाईका लागि सम्वन्धित पक्षसँग अपिल गरेको छ ।
संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा निकायलाई खोजीका लागि अनुरोध गरेको बताए । तुलसीपुरमा व्यवसायीहरु एकाएक अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु सशंकित बनेका छन् ।
तुलसीपुरबाट राती ८ वजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजीकार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । एसपी सिंहले अनुसन्धानलाई व्यापक बनाउन गहन सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् ।
व्यापारी श्रेष्ठ सवार वा १२ च १०७१ नम्बरको निजी जिप र भारतीय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको बीच जंगलमा पर्ने शितल बजारमा फेला पारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिएका छन् ।
श्रेष्ठसँगै घोराहीका ठेकेदार रनवहादुर घर्ति र अर्का एकजना महिलालाई समेत अपहरणकारीले संँ लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।