भरतपुर / ११ पुस
कथाकार गणेश श्रमण र लक्ष्मण अर्याल पुरस्कृत भएका छन् । चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार- २०७५ बाट श्रमणको लघुकथा सङ्ग्रह `गुलियो काठमाडौं´ र अर्यालको लघुकथा सङ्ग्रह `औंला´ का लागि स्रस्टाद्वयलाई पुरस्कृत गरिएको हो । कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्म जयन्तीको अवसरमा चितवन साहित्य परिषद् द्वारा आयोजित कार्यक्रममा नगद ११ हजार राशीले परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल र प्रमुख अतिथि प्रा. डा. चूडामणि बन्धुले पुरस्कृत गरेका हुन् । कार्यक्रममा लेखनाथीय काव्य विमर्श अन्तर्गत स्रस्टा केदारनाथ खनालले कविशिरिमणि पौड्यालका व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरे । त्यसैगरी पाका स्रस्टाहरू गोविन्दराज बिनोदी, प्रेमविनोद नन्दन, वैजनाथ शर्मा, कृष्णाकुमारी पौडेल लगायतले कवि शिरोमणिका कविताहरू वाचन गरे । पुरस्कृत स्रस्टाका बारेमा समीक्षक चेतराज रेग्मीले टिप्पणी राखेका थिए । पुरस्कार हाल अमेरिका बस्दै आउनुभएका कृष्णप्रसाद पौडेलले २०७१ सालमा स्थापना गरेका हुन् । यो पुरस्कार यसअघि लकास पौडेलको `सौर्यगाथा´ महाकाव्य, नरेन्द्रराज पौडेलको `सिडिओका सत्रवर्ष´, सुमन घिमिरेको `मौनता´ उपन्यास, डा. मतिप्रसाद ढकालको `पुस्तकालयको भोक´ निबन्ध सङ्ग्रह, दीपेन्द्र सिंह थापाको `सहयात्री शब्दहरू´ कविता सङ्ग्रह, निर्मल ढुंगानाको `बतासा´ कथा सङ्ग्रह र प्रसन्न घिमिरेको `मिझोर´ कविता सङ्ग्रहलाई दिइएको थियो ।