भरतपुर, २० मंसिर
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा विशिष्ट श्रेणीमा परेपछि जिल्ला प्रशासन कार्यालय चितवनको हालको जनशक्ति तथा स्रोत, साधनमा वृद्धि हुने भएको छ । आफ्नो कार्यकालको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले कार्यालयले छिट्टै थप जनशक्ति प्राप्त गर्ने बताए ।
हाल प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ३३ जना कर्मचारीहरुले काम गर्दै आएको चितवन प्रशासन कार्यालयमा अब सहायक प्रजिअको दरबन्दी दुई जनाको हुनेछ । उनले जिल्ला प्रशासन कार्यालय चितवन देशका सबैभन्दा उपल्लो दर्जाका प्रशासन कार्यालयमध्येमा परेको बताए । २०७५ वैशाख २३ गतेबाट चितवनमा काम थालेका प्रजिअ बस्नेतले डेढ वर्षभन्दा लामो समयावधिमा विभिन्न उतारचढाव आएपनि त्यसलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्न सफल भएको बताए । गृह मन्त्रालयले बस्नेतलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले विभिन्न घटनालाई प्रभावित गर्नेगरी प्रलोभन देखाउनेहरु भेटिने भए पनि त्यसलाई चिरेर सदाचारी पात्र बन्न सफल भएको दाबी गरे । उनले चितवनमा भएका कुनैपनि घटनाको विषयमा उच्च राजनीतिक तहबाट दबाब नआएको दाबीसमेत गरे । “मेरो कार्यकालमा प्रहरी बीटमा आगो लगाउने, रंगशाला निर्माण स्थलमा डोजर चलाउने, शालिकराम पुडाशैनीको मृत्यु प्रकरण देखि रवि लामिछानेका समर्थकहरु आन्दोलन, ज्ञानेन्द्र शाही माथिको आक्रमणलगायतका धेरै घटनाहरु भए”, उनले भने, “सबै घटनामा दोषीलाई पक्राउ गरेर कारबाही गर्न र घटनाको उचित व्यवस्थापन गर्न सफल भयौं भन्ने लाग्छ ।” उनले कुनै पनि घटना विषेशका कारण आफ्नो सरुवा नभएको दाबी गरे ।
प्रजिअ बस्नेतले आफ्नो कार्यकालमा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई सहजरुपमा सेवा दिने विषयमा तथा मातहतका अन्य कार्यालयहरुलाई व्यवस्थित बनाउने विषयमा पनि महत्वपूर्ण काम भएको बताए । आफ्नो कार्यकालमा जिल्ला कारागारको नयाँ संरचना निर्माणका लागि बजेट प्राप्त हुने निश्चित भएपनि जग्गाको खोजी हुन नसकेको, भीभीआइपीको सवारीका लागि गाडी प्राप्त हुने निश्चित भएपनि आइनसकेको तथा कार्यालयको संरचनाका केही काम बाँकी रहेको उनले बताए ।