विप्लव काफ्ले
भरतपुर, १८ मंसिर
भरतपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर ‘टुर प्याकेज’ घोषणा गर्न लागेको छ । यही २० गते महानगरले एक औपचारिक कार्यक्रममार्फत टुर प्याकेज घोषणा गर्न लागेको हो । मेयर रेनु दाहालले महानगरका सबै पर्यटकीय गन्तव्य घुम्न प्रेरित गर्दै टुर प्याकेज बनाएको बताइन् ।
“प्राकृतिक सौन्दर्यले महानगर क्षेत्र भरिपूर्ण छ, घुम्न लायक २८ गन्तव्य पहिचान गरेका छौँ”, उनले भनिन्, “२०२० मा ५० हजार पर्यटक भित्राउने लक्ष्य लिएका छौँ ।” संघीय सरकारले सूचीकरण गरेको १ सय गन्तव्यभित्रका पटिहानी क्षेत्र, बीसहजारी ताल, प्रदेश–३ को उत्कृष्ट १० गन्तव्यभित्रको मेघौली क्षेत्र महानगरभित्र पर्छ । महानगरले भ्रमण वर्षलाई लक्षित गरेर ३२ भन्दा धेरै कार्यक्रम सार्वजनिक गर्दैछ । मेयर दाहालले पुस मसान्तभित्र महानगरका गन्तव्यहरु चिनाउन लुम्बिनीसम्म कार ¥याली निकालिने योजना रहेको बताइन् । फागुनमा करिब २ सय बढी साइकलसहितको ¥यालीमार्फत महानगरका सबै गन्तव्य घुम्ने योजना पनि बनाएको छ । निकुञ्ज क्षेत्रभित्र करिव १ किमी म्याराथन कार्यक्रममार्फत प्रर्यटन प्रवद्र्धन गर्ने तयारीमा छ ।
महानगरका पर्यटनविज्ञ विश्वराज सुवेदीले महानगरका सबै गन्तव्य ७ दिनमा अवलोकन गर्न सकिने गरी भ्रमण योजनासमेत तयार भएको जानकारी दिए । उनका अनुसार महानगरको पर्यटनलाई धार्र्मिक, संरक्षित, शहरी, ग्रामीण, पहाडी भनेर ५ क्षेत्रमा विभाजन गरिएको छ । जसमध्ये देवघाट, ज्ञानेश्व्र ब्लक, बीसहजारी ताल, चौकीडाँडा, नारायणी रिभरबिच, मेघौलीसहितको ७ ‘प्वाइन्ट’ निर्धारण गरिएको छ ।
निकुञ्ज तथा सामुदायीक वनमा हात्ती, जीप, डुँगा, गाडा सफारी, जंगलवाक, चिडियाखाना अवलोकन, संग्रहालय, होमस्टे, आदिवासीको संस्कृति अवलोकन गर्न २ दिन लाग्ने छ । देवघाट, वागेश्वरी, गणेशधाम, तीनखोले गुम्बा, विक्रमबाबा, सीतामाईलगायत धार्मिक क्षेत्र अवलोकन गर्न १ दिन लाग्ने छ । मानवनिर्मित आकर्षक गन्तव्यहरु दियालो बंगला, औद्योगिक प्रदर्शनी केन्द्र, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, रानीपोखरी, बखान सहकारीलगायत गन्तव्य घुम्न १ दिनको प्याकेज बनाइएको छ ।
जुगेडी चौकीडाँडा, ढोडेनी, उपरदाङगढी, ट्रेकिङ, हाइकिङका लागि १ दिन लाग्ने भ्रमण योजनामा छ । यस्तै राइनो बीसहजारी, बाटुली, २८ हजार, गंैडा सिमसार, अञ्जना ताल घुम्न १ दिन छुट्याइएको छ । क्रुज, बोटिङ सफारी, नारायणी तथा राप्ती नदीको किनार अवलोकन गर्न १ दिनको योजना छ । ९१ सदस्यीय महानगर स्तरीय पर्यटन प्रवद्र्धन तथा सहजीकरण समिति, ११ सदस्यीय स्टेयरिङ समिति, २ उपसमितिको छलफलबाट भ्रमण वर्षका योजनाहरु बनेका हुन् ।
“अहिले पर्यटक २ रात, ३ दिन घुमेका छन्”, पर्यटनविज्ञ सुवेदी भन्छन्, “अब ६ रात, ७ दिन घुम्ने वातावरण बन्नेछ ।” उनले पर्यटकलाई सबै गन्तव्य पुग्न सहज होस् भनेर गन्तव्य चिनारीसहितको ब्रोसर निर्माण गरिएको बताए । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने ३ नाकाहरु घट्गाई, कसरा र भिम्लेको तथ्यांकलाई आधार मान्दा महानगर क्षेत्रमा वर्सेनि १५ हजार विदेशी पर्यटक आउँछन् । “गन्तव्यहरुमा विविधता छ, पर्यटक रमाउन सक्नेछन्”, उनले भने, “सबै गन्तव्यलाई जोडेर ‘टुर सर्किट’ को खाका प्रस्ताव गरेका छौँ, जसले पर्यटकलाई घुम्न सजिलो हुनेछ ।”
महानगर क्षेत्रमा ६५ भन्दा बढी स्तरीय होटलहरु भएकाले आवासको असुविधा नहुने बताए । महानगरले होटल व्यवसायीमार्फत भ्रमण वर्षमा छुट, सहुलियतका कार्यक्रम घोषणा गराउन पहल गरिरहेको छ । लुम्बिनी, पोखराबाट करिब १५० किमीको दूरीमा रहेको, काठमाडौं, निजगढबाट करिब २ घण्टामा भरतपुर आइपुग्न सकिने भएकाले पर्यटक भित्र्याउन सकिने अपेक्षा लिएको छ ।
लुम्बिनी र पोखरासँग साझेदारी
भरतपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न स्थानीय तहसँग साझेदारी गर्ने नीतिलाई अगाडि बढाएको छ । बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । मेयर रेनु दाहाल र लुम्बिीका मेयर मनमोहन चौधरीले ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे ।
पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न सहकार्य गर्ने, पर्यटनसम्बन्धी जानकारी, अध्ययन आदानप्रदान गर्ने, नियमित हवाइ सेवा सञ्चालन गर्ने, भरतपुरमा लुम्बिनी मार्ग र लुम्बिनीमा भरतपुर मार्ग बनाउने लगायतका समझदारी भएको छ । यसअघि भरतपुरले पोखरा महानगरसँग कार्तिक २२ मा पर्यटन प्रर्वद्धन गर्न साझेदारी गरेको थियो । अब विराटनगर महानगरसँग पनि साझेदारी गर्ने योजना बनाएको छ ।
१ करोडको बाघ स्तम्भ
नारायणी नदी किनारमा आकर्षक बाघको मूर्ति बनाइने भएको छ । भ्रमण वर्षलाई लक्षित गरी महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर पार्कसहितको पर्यटन स्तम्भ बनाउन लागेको हो । नारायणी पुलको पूर्वतर्फ यही महिनाभित्र निर्माणको काम सुरु हुनेछ । “पुल नजिकै अर्को पुल बन्ने योजना सुनेका छौँ, त्योबाट करिब १ सय मिटर वरपर पार्किङ क्षेत्र हुनेछ”, स्तम्भ निर्माण उपसमितिका संयोजक दिनेशकुमार चुकेले भने, “युथ क्लब नारायणगढभन्दा केही पर स्तम्भ बन्नेछ, २ महिनामा निर्माण सकिनेछ ।”
उनका अनुसार ४ कठ्ठा क्षेत्रफलमा पार्क बनाएर स्तम्भ बनाइनेछ । ६ फिटको ल्याण्डिङ, त्यसमाथि २० फिट अग्लो स्तम्भमाथि करिब २० फिट लामो बाघको मूर्ति बनाइने बताए । “आक्रामक बाघको आकृति हुनेछ, पानी तानेर नदीमै फालेजस्तो देखिनेछ”, उनले भने, “पुलबाट यात्रा गर्दा पनि सहजै हेर्न मिल्नेछ ।” उनले करिब १ करोड लागतमा तयार हुने स्तम्भमा निजी क्षेत्रले ५० प्रतिशत लगानी गर्ने बताए । पार्कमा ढुंगा, कंक्रिटका मूर्ति हुनेछन् । बगैंचा पनि हुनेछ । बाघको मूर्ति ‘हेभी फाइबर’ को हुनेछ ।