भरतपुर, १७ मंसिर
गजलकार टक गुरुङले मंगलबार चितवनका गजलपारखीमाझ गजल सुनाए । भरतपुरस्थित डबली क्याफेमा आयोजना गरिएको एकल गजल वाचन कार्यक्रममा गुरुङले गजल सुनाएका हुन् ।
शास्त्रीय छन्दमा गजल लेख्दै आएका गुरुङले अधिकांश गजल गाएरै सुनाए । कार्यक्रममा स्रोताले उनका गजल चाख मानेर सुनेका थिए । गुरुङका गजल सुन्न धादिङदेखि आएका गजलकार लालकाजी श्रेष्ठले उनका गजलमा बिबिधता भएको बताउँदै स्रोताले उनका गजलबाट अलगअलग स्वाद पाउनसक्ने दाबी गरे ।
गुरुङ पेशाले इन्जिनियर हुन् । उनी रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्समा बस्दै आएका छन् । कथा लेख्दै आएका गुरुङले पछिल्लोपटक गजल लेख्न थालेका हुन् । बुलबुल पब्लिकेसन्सबाट उनको अनाहत गजल सङ्ग्रह प्रकाशित छ । उनको सङ्ग्रहमाथि समीक्षक पुष्प अधिकारी अञ्जलीले टिप्पणी राखे ।
छुट्टी मनाउन नेपाल आएका बखत सम्पूर्ण किताब र बुलबुल पब्लिकेसन्सले उनको एकल गजल वाचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कवि माया गुरुङले स्रस्टाको गजल वाचन गरेर गजल सुन्न आएका गजल पारखीलाई स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रभाकर पण्डित, हुसैन खाँ, रमेश प्रभात, गोर्खे साइँलो, विनोद अनुज, अम्बिका कार्की, तिर्सना सापकोटा, मीनराज बसन्त, विजय विश्वकर्मा, सुजन अनिमेष, विमर्श कँडेल लगायतको उपस्थिति थियो ।