२८ जेठ । भरतपुर महानगरपालिको मतगणनाका विषयमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको हो । गत आइतबार परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दुबै पक्षलाई जेठ २८ गते छलफलमा बोलाएको थियो ।
मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै पुनः निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।