विप्लव काफ्ले
माडी, १५ मंसिर
माडी–७ परुई सामुदायिक वनमा रहेको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरमा स्थानीय अग्रसरतामा करिव ५० लाख बराबरको पूर्वाधार तयार भएका छन् । देवेन्द्रपुर बजारबाट करिव एक किमि दक्षिणतर्फ रहेको यो क्षेत्र अहिले धार्मिक महत्वको क्षेत्रका रुपमा चिनिन थालेको छ । स्व. धनमाया गुरुङले २०३२ सालमा घर बनाउन खोरिया फाड्ने क्रममा २ फिटको शिव मूर्ति फेला पारेका जानकारहरु बताउँछन् । त्यसपछि यो क्षेत्रमा धार्मिक गतिविधि बढ्न थालेको हो । स्थानीयले पुख्र्यौली ठाउँका धार्मिक क्षेत्रबाट शिलाहरु जम्मा पारेका थिए । “स्थानीयकै पहलमा धेरै पूर्वाधार बनेका छन्”, मन्दिरका संरक्षक तथा युवा पण्डीत सुर्दशन सुवेदीले भने, “धार्मिक क्षेत्रका रुपमा चिनिन थालेको छ, घुमफिर गर्न आउने पनि बढेका छन् ।”
२०७३ सालमा गरिएको सप्ताह ज्ञानमहायज्ञमा स्थानीयले १७ लाख बराबरको नगद तथा जिन्सी सहयोग गरेका थिए । स्थानीयकै अगुवाईमा यो क्षेत्र धार्मिक गन्तव्यका रुपमा अघि बढेको हो । शिवमूर्ति फेला परेको केही वर्ष काठ्माण्डौ, पोखरादेखि समेत दर्शन गर्न आउने गरेका थिए । पछि शिवमूर्तिनै हराएपछि स्थानीयकै अग्रसरतामा केही तल २०५६ सालमा देवी मन्दिर बनाइएको थियो । देवी मन्दिर मिलिजुली आमा समूहको सक्रियतामा बनेको हो । देवी मन्दिर छेउमा र फेदीमा सत्तलहरु छन् । आकर्षक प्रवेशद्वार बनाइएको छ ।
उचाईमा शनि मन्दिर छ । यो मन्दिरमा शनि, शिव, हनुमानको समेत मूर्ति राखिएको छ । फेदीमा मेला लाग्ने चौर सम्याउने काम भएको छ । अहिले यो क्षेत्रमा दवी मन्दिरमा चैतेदशै, विजयादशीमा बढी भीड हुने गर्छ । जेठको शनि औंशीमा मेला लाग्छ । १ सय ८ शिवलिंग भएकाले शिवरात्रीमा धर्मावलम्बीको चहलपहल धेरै हुन्छ । हरेक शनिबार, शनि अष्टमी, शनि त्रयोदशी, शनि औंशीमा प्राय चहलपहल हुन्छ । ग्रह शान्ती गर्न आउने क्रम बढेको छ । हरेक शनिबार स्थानीयले भजनर्कितन गर्छन् । “शनि दशा हटाउन शनिको पुजा गर्न आउनेहरु छन्”, पण्डीत सुवेदीले भने, “शनिबाट हुने पीडा हट्ने धार्मिक विश्वास छ ।” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पण्डीतले सरकारी निकायसँग समेत बजेट माग भइरहेको बताए । “पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, केही पूर्वाधारको खाँचो छ”, उनी भन्छन्, “भ्यू टावर बनाउन सके माडी अवलोकन गर्ने केन्द्रका रुपमा समेत चिनिनेछ ।” सामुदायिक वनभित्र रहेकाले हरियाली, साना जंगली जनावर समेत अवलोकन गर्न पाइन्छ ।उनी मन्दिर क्षेत्रलाई आकर्षक बनाउन बगैँचा, मन्दिर सजावट लगायतका काम गर्न बजेट अभाव भएको बताउँछन् ।
संसद विकास कोषबाट आएको १ लाखबाट मन्दिर वरिपरी कंक्रिट कुर्चि राखिएका छन्। पर्यटन विकास समिति माडीले दिएको १ लाखबाट शनि मन्दिरभित्र मार्वल बिछ्याइएको छ । प्रदेश–३ को पर्यटन मन्त्रालयले दिएको १० लाख बजेटबाट शनि मन्दिर क्षेत्रमा पशुपतिनाथको मूर्ति, १०८ शिवलिंग स्थापना, वृषभ निर्माण गरिएको थियो । वडा कार्यालयले दिएको १ लाखबाट मन्दिर छेउमा पर्खाल लगाइएको थियो । कालिका तथा शनि मन्दिर क्षेत्रमा स्थानीयले श्रमदान समेत गरेका छन् । शनि मन्दिर जाने ‘धर्म उकालो’ सिढि मार्ग बनाउन स्थानीय खटिएका थिए । यो वर्ष माडी नगरपालिकाले ६ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।