लीला दाहाल अधिकारी
जीवन एउटा यात्रा हो, त्यही यात्रा पूरा गर्न हामीले कयौँ यात्रा गर्छौं । यही यात्राको क्रममा दशैं–तिहार एक महिनाको विदा मनाउन हामी ६ जनाको समूह २०७६ साल असोज १ गते नरायणगढबाट काँकरभिट्टाको लागि साँझ ५ बजे बस चढ्यौँ ।
रातभरिको यात्रापछि बिहान ५ बजे बसले काँकरभिट्टा बसपार्क पु¥यायो । नेपाल भारतको सिमाना गेट हुँदै हामी मेची नदीको रमणीय स्थलको अवलोकन गर्दै सिलगुडी जाने बसतिर लाग्यौं । बाटोमा धेरै गाडीहरूले कहाँ जाने भनेर सोधे । जीपहरूले मनपरि भाडा लिँदारहेछन् त्यहाँ ।
हामी मेची नदीको रमणीय स्थल पार गर्दै थियौँ ।
त्यसैबेला एउटा जीप आएर रोकियो र चालकले नेपाली भाषामै कहाँ जाने भनेर सोध्यो । सिलगुडी जाने उत्तर पाएपछि हामीलाई भाडा मिलाएर सिलगुडीको सेवक मोडमा पु¥यायो । हामी बिहान ८ बजे सिलगुडी कृष्ण प्रणामी मन्दिर पुग्यौं । भागवानको दर्शन गरी नास्ता गरेर हामी कालिम्पोङका लागि हिड्यौं । टिस्टा नदीको किनारकिनारै हामी उत्तरपट्टि उकालो लाग्यौं । टिस्टा नदी देखेपछि हाम्रा अमर वीरहरुको सम्झना खुब आयो । यो त हाम्रै भूमि हो नि जस्तै लाग्यो । हुन पनि त्यहाँको भेषभुषा, बोलीचाली सबैमा नेपालीपन पाइँदोरहेछ । तीन घन्टाको यात्रापछि हामी साँझ ४ बजे कालिम्पोङ पुग्यौं ।
कालिम्पोङका मन्दिरहरू दर्शन गरेर त्यो रात त्यहीँ बसियो । बिहान उठेर विभिन्न धार्मिकस्थलहरूको दर्शन गरेर हामी कालिम्पोङको अग्लो डाँडोमा रहेको डेलो पार्कमा घुम्न गयौँ । त्यँहाको सुन्दरताको वर्णन जति गरे पनि कम हुन्छ जस्तो लाग्छ । त्यस ठाउँ छिनछिनमै कुहिरोको धुम लुक्ने त कहिले घामको तेजमा चम्कने गर्दो रहेछ । त्यहाँको प्राकृतिक सौन्दर्यबाट जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।
भारतको पश्चिम बंगालमा पर्ने पर्यटकीय गन्तव्यका रूपमा रहेको कालिम्पोङ वास्तवमै अलौकिक र अनुपम लाग्छ । यस्तो रमाइलो दृश्यको मिठो अनुभूति बटुलेर हामी साँझ ५ बजे सिलगुडी फर्कियौँ । निर्धारित समयानुसार हामी न्यू जलपाईगुडी रेल स्टेशनबाट १२ बजे दिउँसो राजधानी एक्सप्रेसबाट भारतको मध्य प्रदेश सतना पुग्नु थियो। त्यसैले मनमा हामी अनेकौं उत्साह र कौतुहल बोकेर १० बजे रेल स्टेशन पुग्यौँ । विभिन्न फिल्म, कथा, उपन्यासमा रेल छुटेका र बिचल्लीमा परेका कुरा सुन्दै र देख्दै आएका मेरा नानीबाबु रेल चढ्न निकै उत्साहित थिए ।
आजको २१ औँ युगमा हाम्रो रेल कहाँ आइपुग्यो भन्ने कुरा इन्टरनेटको माध्यमबाट जानकारी पाइरहेका थियौँ । निर्धारित समयभन्दा १ घण्टा ढिलो गरी रेल जलपाईगुडी आइपुग्यो । हामी हर्ष र उमङ्गका साथ रेल चढ्यौँ । १ बजेर १५ मिनेटको समयमा रेलले जलपाईगुडी स्टेशन छोडी अघि बढ्यो । कटिहार, हाजीपुर, गंगा नदी, मिर्जापुर हुँदै बिहान १० बजे रेल २१ घण्टा यात्रा पूरा गरी सतना रेल स्टेशन पुग्यो ।
हामी सतनाबाट बस समातेर तीन घन्टाको यात्रापछि पन्ना जिल्लाको पद्मावती पुरी धाम पुग्यौँ । त्यस ठाउँ भागवतमा पनि शिवजी आएर नमस्कार गरेको भन्ने कुरा उल्लेख गरेको पाइन्छ । विशेषगरी कृष्ण प्रणामी धर्मावलम्बीहरुको तीर्थस्थल रहेको यो ठाउँ निकै सुन्दर रहेछ । असोज शुक्लपक्ष दशमीको दिनदेखि सुरु भएको विशेष पूजा अश्विन शुक्लपक्ष अर्थात कोजाग्रत पूर्णिमाको दिनमा कृष्णको रास खेलेर सकिने गर्दछ ।
कृष्ण प्रणामी धर्मका मुख्य प्रवर्तक र प्रचारक रहेका श्री माहमति प्राणनाथ ५ हजार आफ्ना सखीका साथ त्यहाँ आएर धर्म प्रचार गर्न थाल्नुभएको पवित्र स्थल हो श्री ५ पद्मावती पुरी धाम पन्ना । भारतको मध्य प्रदेशको उत्तर पूर्वीको बुन्देलखण्ड क्षेत्रमा रहेको पवित्र यस धाम प्राकृतिक सौन्दर्य र गौरवपूर्ण इतिहास बोकेको छ । उत्तर–पूर्वी दिशामा बगेको किलकिला नदीको किनारमा अवस्थित यो धाममा महामति प्राणनाथ मन्दिर गुमटको मन्दिर बङ्गला मन्दिर श्री देवचन्दजीको मन्दर श्री बाइराज महारानी मन्दिरको आ–आफ्नै महिमा रहेका छन् ।
यसैगरी २ किमी पर खिजडा र चोपडा मन्दिर पनि उस्तै कलात्मक बनेका छन् । सबै मन्दिर बिहान र साँझ भव्य आरती र पूजा हुने गर्दछ । वास्तुकलाको नमूनाका रुपमा बनेको प्राणनाथ मन्दिर शास्त्रमा वर्णन गरेअनुसार परमधामको रंगमोहलको याद दिलाउने खालको छ । कृष्ण प्रणामी धर्मका प्रवर्तक एंव निजानन्द सम्प्रदायका गुरु प्राणनाथजी भक्ति र साहित्यका सिद्ध रचयिता थिए । उनको व्यक्तित्व ज्यादै प्रखर थियो । उनी अलौकिक साधनालाई जीवनका लौकिक यथार्थसँग जोड्दथे । उनलाई विद्वतसभाले निष्कलङ्क बुद्धवतार पदवीबाट विभूषित गरेको थियोे । उनले अज्ञानरुपी अन्धकारलाई मेटेर सत्य ब्रम्हाको मार्गप्रशस्त गर्ने र यस मोह सागरबाट मानिसको उद्दार गर्ने वाणी ताररम सागरको जस्तो महावाणी धार्मिक शास्त्रको रचना यहि दिव्य ठाउँमा बसेर गरेका थिए ।
यही पवित्र स्थलमा महामति प्राणनाथ र छत्रसाल महाराजको सुन्दर भेट भएको थियो । यस्तो दिव्य भूमिको दर्शन पाएर ३ दिनको विभिन्न पूजा मेला हेरेपछि हामी भारतको अर्को जिल्ला छत्तरपुर हेर्न जाने भयौँ । त्यँहाबाट ३ घण्टाको यात्रापछि छत्तरपुर जिल्लामा रहेको छत्रसाल महाराजको दरबार, समाधिस्थल, छत्रसाल म्युजियम, मस्तानी महल घुम्यौँ । ४०० वर्षअघि बनेको दरबार म्युजियम हेर्न पाउँदा हर्षको सीमा रहेन । यसरी पुरातात्विक वस्तुको संरक्षण र सम्वद्र्धन गर्न सकियो भने पर्यटक पनि भित्राउन सकिन्छ । आउने पुस्ताले पनि इतिहास र कला संस्कृतिलाई देख्न सक्ने हुनाले हामीले पनि हाम्रो पुरातात्तिक वस्तुको संरक्षण गर्नेतिर ध्यान पु¥याउनु सबै नागरिकको कर्तव्य हो ।
बाजीराव मस्तानीको बारेमा फिल्मबाट बुझेपनि उनले सानो छँदा प्रयोग गरेको कपडा, सरसामान देख्दा साह्रै खुसी लाग्यो । छत्तरपुरबाट फर्केर आउँदा बाटामा पाण्डव गुफा पर्ने रहेछ । जँहा पाण्डवहरूले एक वर्ष गुप्तबास बसेका रहेछन् । निकै सुन्दर रहेछ पाण्डव गुफा । विभिन्न ठाँउबाट पर्यटकहरू आँउदा रहेछन् । जंगलको बीचमा सानो तलाउ, तलाउको छेउमा गुफा अति मनमोहक ठाउँ रहेछ ।
पन्नाको पाँच दिनको बसाइँपछि हामी चित्रकुट जान निस्कियौँ । भारतको उत्तर प्रदेश र मध्य प्रदेशको सीमानामा रहेर ३७.२ वर्ग किमी क्षेत्रमा अवस्थित चित्रकुट मन्दागिनी नदीको किनारमा पर्छ । भारतको प्राचीन धार्मिक स्थलमध्ये यो पनि एक पर्दछ । भगवान राम, सीता र लक्ष्मणले १४ वर्षको वनवास अवधिमध्ये ११ वर्ष त्यही चित्रकूटमा बिताएका थिए ।
रामघाटबाट दुई किमी टाढा मन्दागिनी नदीको किनारमा जानकी कुण्ड रहेछ । त्यस कुण्डमा जानकी स्नान गर्नुहुन्थ्यो भन्ने भनाइ रहेछ । यसैगरी त्यहाँ दुई वटा गुफा रहेछन् । एउटा गुफाको प्रवेशद्वार सानो रहेकाले भित्र पस्ने र बाहिर निस्कन पालैपालो गर्नु पर्दोरहेछ । जंगल र पहाडको बीचमा रहेको यो गुफाको अन्तिममा एउटा सानो तलाउ छ, जसलाई गोदाबरी नदी भनिन्छ । अर्को गुफा अचम्म लाग्दो छ । गुफाभित्रै नदी बगेजस्तो पानी बगिरहदो रहेछ । यसै क्षेत्रभित्र अर्को सती अनसूया आश्रम पनि रहेछ । मूर्तिकलाले बेजोड सजिएको आश्रम निकै सुन्दर देखिन्छ । यो रमणीय दृश्य हेर्न पाँउदा बाटामा पाएका कष्ट, शारीरिक थकान सबै नष्ट भएर गयो । यी धार्मिक कथा र चित्रहरूको बिम्ब मन मष्तिकमा उतार्दै हामी साँझ चित्रकूटबाट इलाहावादतिर लाग्यौँ । इलाहाबादबाट रेल चढी हामी सिलगुडी आयौँ र त्यहाँबाट काकँरभिट्टा हुँदै चितवनको क्यान्सर गेट जाने बस चढी बिहान ५ बजे घर आइपुग्यौँ ।