राजेश घिमिरे
भरतपुर, १३ मंसिर
प्याजको मूल्य बढेको विषय अहिले निकै चर्चामा छ । गाउँ, शहरमा हुने जमघटदेखि सामाजिक सञ्जालको मुख्य बहस नै प्याजको मूल्यमा केन्द्रित बन्न थालेको छ । बहस यति ठूलो छ कि मानौं प्याज भएन भने मान्छे भोकै बस्नुपर्छ ।
अभाव र मूल्य वृद्धिबारे ‘प्याज बहस’ जति चर्को बन्दै छ यसको उत्पादनमा चासो भने खासै पाइँदैन । प्याज यस्तो वस्तु हो जसको उत्पादनका लागि धेरै क्षेत्रफलमा खेतबारी आवश्यक पनि पर्दैन । आफ्नै करेसाबारी, घर कौशी देखि कोठामै गमला राखेर लगाए पनि फल्छ । खेतमा व्यवसायिक खेतीगर्ने हो भने त आम्दानी पनि प्रसस्तै हुन्छ । तर आम सर्वसाधारणको ध्यान उत्पादनमा भन्दा बजार गफमा बढी केन्द्रित छ ।
भरतपुर स्थित कृषि ज्ञान केन्द्रका अनुसार प्रांगारिक कौशी खेतीमा अनुदान दिनका लागि केन्द्रले सर्वसाधारणसँग आवेदन मागेको थियो । तर, करिब ५ सय जनाले मात्रै आवेदन दिए । केन्द्रका कृषि प्रसार अधिकृत मिनप्रसाद पुनले अपेक्षा गरेको भन्दा निकै कम व्यक्तिले आवेदन दिएको बताए । कौशी खेतीमा केन्द्रले ५० प्रतिशत अनुदान दिने गरेको छ ।
केन्द्रले अनुदानमार्फत गमला, ग्रो व्याग, आवश्यक मल, कोकोपीट(पानी सोस्नका लागि), स्ट्याण्ड, थोपा सिञ्चाईंको सेट उपलब्ध गराउने गरेको छ । “अपेक्षा गरेअनुसार आवेदन नपरेपछि नयाँ आर्थिक वर्षका लागि थप योजना माग्न मिल्दैन”, पुनले भने, “शहरीकरण बढ्दै गएको क्षेत्रका लागि निकै उपयुक्त योजना भएपनि सहभागिता उत्साहजनक पाइएन ।”
बजारमा अभाव भइरहने र महंगो गर्ने तरकारीका लागि कौशी खेती उपयुक्त रहेको उनले बताए । परिवारका लागि आवश्यक प्याज, गोलभेडा, साग, घिरौंला, फर्सीलगायतका तरकारी आँफैले उत्पादन गर्न सके बजारको मूल्यवृद्धिको कुनै असर नपर्ने उनी बताउँछन् ।
केन्द्रले दिएको तथ्यांकानुसार आर्थिक वर्ष २०७३/०७४ मा चितवनमा प्याजको उत्पादन करिब १० हेक्टर जमिनमा गरिएको छ । यहाँ प्रति हेक्टर १३.५ मेट्रिक टन प्याज उत्पादन भएको छ । त्यसयताको प्याज उत्पादनको तथ्यांक केन्द्रसँग छैन । उक्त वर्ष गोलभेडाको उत्पादन १ सय १४ हेक्टर जमिनमा भएको तथ्यांकमा देखिन्छ । उक्त क्षेत्रफलमा १ हजार ४ सय २५ मेट्रिक टन गोलभेडा उत्पादन भएको थियो । गोलभेडा खेतीको तथ्यांक पनि २०७४ यताको केन्द्रसँग छैन ।
“प्याजको उत्पादन चितवनमा राम्रो भएपनि व्यवसायिक खेती खासै भएको देखिएन”, केन्द्रको वागवानी विकास शाखाका प्राविधिक सहायक पुनम पौडेलले भनिन्, “अनुदानका कार्यक्रममार्फत पनि प्याजको मात्रै खेती गर्ने किसान छैनन् ।” प्याजको मूल्य चितवनको बजारमा अहिले एक असी देखि दुई सय बीस रुपैयाँ सम्म छ । भारतबाट हुने आयात रोकिएपछि दशैं देखि प्याजको मूल्य बढ्न थालेको थियो ।
दशैंअघि सम्म प्याज प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो । “अहिले त एक सय असीमा पनि पाइन छाड्यो”, रेष्टुरेन्ट व्यवसायी भुवन चालिसेले भने, “तरकारीमा प्याज मिसाउनै छाडियो ।” केही ग्राहकले खोज्ने भएका कारण थोरै परिमाणमा किनेर राख्ने गरेको उनले बताए । चितवनमा दैनिक २० टन सम्म प्याज खपत हुने गरेकोमा अहिले एक टन झर्न पनि मुस्किल छ ।
कृषि अनुदानको रकम पनि फ्रीज
सरकारले तरकारी खेतीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भएपनि यसको प्रयोगमा खासै उत्साह देखिदैन । कृषि ज्ञान केन्द्र चितवनमार्फत सञ्चालित प्रांगारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि प्राप्त भएको एक करोड ३३ लाख ७८ हजार रुपैयाँमा ७१ लाख १७ हजार रुपैयाँ फ्रीज भएको छ । प्रांगारिक कृषि प्रवद्र्धनका लागि प्राप्त अनुदानको रकम नै खर्च हुन नसकेको केन्द्रका लेखा शाखा प्रमुख कृष्णहरी पंडितले बताए । केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद पुनका अनुसार यस कार्यक्रमका लागि २० जानले अनुदान लिएका छन् । जसमध्ये ७ चितवनका र १३ मकवानपुरका किसान तथा सहकारी संस्थाहरु छन् ।
एक व्यक्ति/सहकारी/समूहले ४२ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म अनुदान प्राप्त गरेका छन् । रसायनिक विषाधीको न्यूनीकरण गर्दै प्रांगारिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको पुनले बताए । साथै परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्दै व्यवसायिक प्रांगारिक खेतीतर्फ कृषकलाई आकर्षित गर्ने उद्देश्य रहेको उनले बताए ।
प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत संरक्षित संरचना उत्पादनका लागि उक्त रकम खर्च गरिएको हो । जसअन्तर्गत किसानले खेतीका लागि आवश्यक संरचना(प्लास्टिक घर, टनेललगायत) निर्माण गरेका छन् । नयाँ संरचना निर्माणगर्न चाहने एकल किसानले कम्तिमा १५ सय वर्गमिटर क्षेत्रफलमा खेतीको संरचना निर्माण गर्नुपर्ने र सहकारी संस्थाको हकमा प्रत्येक सदस्यको १५ सय वर्गमिटर क्षेत्रफल जमिनमा खेती हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
साथै, पुरानो संरचनामा सुधारका लागि पनि अनुदान दिने गरिएको छ । खुल्ला जमिन उत्पादन कार्यक्रमअन्तर्गत १० रोपनी जमिनमा खेती गर्न चाहने एकल किसान र ६० रोपनी जमिनमा खेती गर्न चाहने समूह तथा सहकारी संस्थाले उक्त अनुदान प्राप्त गर्नसक्नेछ ।
साथै युवा लक्षित कार्यक्रममा पनि युवाहरुको खासै देखिदैन । विदेशबाट फर्किएका युवालाई लक्षित गरेर ल्याइएको उक्त कार्यक्रमबाट गत वर्ष ८ जना युवाहरु लाभान्वित भएको केन्द्रले जनाएको छ । युवाहरुले बाख्रा पालन तथा टनेल खेतीमा अनुदान लगेका छन् ।
केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार यस वर्ष एकीकृत नमूना बस्ती कृषि पर्यटन कार्यक्रम, कृषि उपजको बजार(एग्रोमार्ट), कोल्ड स्टोर, आलु तथा किवीको रस्टीक हाउस, कृषि प्रवद्र्धनका लागि युवा स्वयंसेवक कार्यक्रम, एकीकृत कृषि फार्म विस्तार तथा सौर्य सिंचाईलगायतका अनुदानका कार्यक्रम चितवनका लागि पनि परेको छ ।