भरतपुर, ४ मंसिर
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । भरतपुरको श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा उपचार कक्ष स्थापना गरिएको हो ।
बुधबार उपचार कक्षको स्थापना गर्दै अस्पतालका व्यवस्थापक सुजन अधिकारीले एक जना प्राविधिकसहित प्राथमिक उपचार कक्ष सञ्चालन गरिएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा कोही कामदार बिरामी भएमा तत्काल उपचार गर्नका लागि प्राविधिकसहितको उपचार कक्ष स्थापना गरिएको अधिकारीले बताए ।
अस्पतालले निःशुल्क उपचार गर्ने गरी प्राथमिक उपचार कक्ष स्थापना गरेको हो । रंगशाला निर्माणका क्रममा बिरामी हुने व्यक्तिलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नका लागि आवश्यक सम्पूर्ण औषधिहरु उपलब्ध गराउने अधिकारीको भनाइ छ ।
बुधबार अस्पतालका व्यवस्थापक अधिकारीले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई प्राथमिक उपचार बाकस हस्तान्तरण गर्दै उपचार कक्षको स्थापना गरिएको हो । सो अवसरमा कट्टेलले रंगशाला निर्माणमा भएको प्रगतिको बारेमा जानकारी दिएका थिए ।
मुख्य क्रिकेट मैदानको बाहिर प्राक्टिस मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कट्टेलले एक दुई दिनमा नै प्राक्टिस खेलहरु खेल्न सकिने बताए ।