भरतपुर, ४ मंसिर
भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । यही मंसिर ६ देखि ९ गतेसम्म हुने प्रदर्शन चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ३ र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त आयोजना गरेका हुन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शमाले कृषिलाई यान्त्रीकरण गर्न सहयोग पुग्ने बताए । “२० देशका कृषि यन्त्र, औजार उपकरण र प्रविधिहरु राखिनेछ”, उनले भने, “२ हजार बढी प्रविधिबारे बुझ्न सकिनेछ, यो नेपाली किसानलाई अवसर पनि हो ।” प्रदर्शनीमा १ सय बढी स्टल रहनेछन् । “इञ्जिन, इन्धनविना चल्ने उपकरणबारे जानकारी लिन सकिनेछ”, उनले भने, “प्रविधिको प्रयोगले उत्पादन बढाउन र लागत घटाउन सहयोग पुग्नेछ ।” प्रदर्शनीको शुक्रबार पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले कृषिमा आकर्षण बढाउन प्रदर्शनीले मद्दत पु¥याउने बताए ।
“श्रमशक्तिको अभाव खड्किन थालेको छ, उत्पादन लागत बढेकाले किसान निराश छन्”, उनले भने, “नयाँ प्रविधिको प्रयोगले कृषिमा आकर्षित गराउनेछ ।” प्रदर्शनीमा ३५ हजार किसानले अवलोकन गर्ने अनुमान गरिएको बताए । देशभरिका कृषक समूह, सहकारी, सुपरजोन, जोन क्षेत्रका किसानहरु सामूहिक अवलोकनका लागि आउने बताए । प्रदर्शनीमा प्रवेश गर्न शुल्क लाग्ने छैन ।
प्रदर्शनीबाट करिव १० करोड बढीका उपकरण, यन्त्रहरु बिक्रि हुने अनुमान गरिएको छ । व्यवसायी, उद्यमी, नीतिनिर्माता लगायत सराकोरवालाको सहभागिता रहने जनाइएको छ । २०७० सालमा नारायणी नदी किनारमा पहिलो कृषि यान्त्रीकरण प्रदर्शनी भएको थियो । दोस्रो प्रदर्शनी २०७२ सालमा बाँके कोहलपुरमा, तेस्रो भृकुटीमण्डपमा भएको थियो । चौथो प्रदर्शनी पुनः भरतपुरमा हुन लागेको हो ।
भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी
भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस