विप्लव काफ्ले
भरतपुर, १ मंसीर
जिल्ला समन्वय समिति चितवनले आन्तरिक स्रोतबाट गर्ने खर्चको सूचिमा ‘गाडी’ खर्चलाई प्राथमिकतामा राखेको छ । गाडी, मोटरसाइकल मर्मत र इन्धनका लागि १०–१० लाख रुपैयाँ गर्ने प्रस्ताव जिल्ला सभामा राखेको छ । जिसससँग २ गाडी, ८ वटा मोटरसाइकल छन् । खर्चका सूचि हेर्दा अतिथि सत्कार, अध्ययन अवलोकन भ्रमण तथा क्षमता अभिवृद्धि कार्यक्रम, दिवस तथा कार्यक्रमलाई ७–७ लाख खर्च गर्ने योजना बनाएको छ ।
पूर्वाधार तथा भौतिक संरचना निर्माणमा ४६ लाख, मेसीनरी औजार खरिद तथा ममर्मतमा ५ लाख, प्रशासकीय भवन तथा आवासीय भवन मर्मतमा १० लाख, पानी, बिजुली महसुलमा १५ लाख खर्च हुने अनुमान गरेको छ । “तीनै तहका सरकारले जिल्लामा सञ्चालन हुने योजनाको अनुगमन गर्नुपर्ने दायीत्व छ”, जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने, “खर्च अनावश्यक देखिनु स्वभाविक हो, तर यो आवश्कता परेरै प्रस्ताव गरेका हौँ ।” आन्तरिक स्रोतबाट यो वर्ष १ करोड २२ लाख ५० हजार खर्चिने योजना छ । यो वर्ष आन्तरिक स्रोतबाट ३९ करोड ६५ लाख ५६ हजार ६ सय ६८ रुपैयाँ आय हुने अनुमान गरेको छ । बाह्य स्रोतबाट २ करोड ६ लाख ६९ हजार ९ सय ७३ आम्दानी हुने अनुमान गरेको छ । गत वर्ष करिव साढे ९ लाख प्रदेश सरकारबाट अनुदान पाएकोमा यो वर्ष ५० लाख अनुदान पाउने अपेक्षा गरेको छ । समितिलाई हालसम्म संघ र प्रदेशबाट प्रयाप्त बजेटको अख्तियारी आइसकेको छैन ।
जिल्लासभामा ५ विशेष प्रस्ताव
आइतबार हुने तेस्रो जिल्ला सभाको बन्दशत्रबाट ५ विशेष प्रस्ताव पारित गर्ने तयारी छ । हुग्दी–शक्तिखोर बहुउद्येश्यिय परियोजनाको सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारसँग पहल गर्ने निर्णय गरिदै छ । “बिजुली, सिँचाई, सडकका काम यही परियोजनाबाट गर्न सकिन्छ”, प्रमुख डल्लाकोटीले भने, “यो परियोजनाको नाम सधै चर्चामा आउँछ, तर अहिलेसम्म कुनै प्रगति हुन सकेन ।” उनका अनुसार २०५० सालमै तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग परियोजनाका लागि बजेट माग भएको थियो । लगत्तै विज्ञ टोलीले सर्भे गरेपनि परियोजनाले पूर्णता पाउन सकेको छैन ।
“त्रिशुलीको पानी शक्तिखोरमा झारेर विद्युत निकाल्ने, सिँचाई सुविधा पु¥याउने, सडक बनाउने सहितको महत्वको परियोजना सधै अलपत्र परेको छ”, उनले भने, “यसपाली परियोजनाले गती लिने अपेक्षा लिएका छौँ ।” चितवनका सबै स्थानीय तह, पर्यटन क्षेत्रमा क्रियाशिलसंघसंस्था, सरोकारवालाबीच सहकार्य गरी नेपाल भ्रमण वर्ष २०२० मा धेरै पर्यटक चितवन भित्र्याउने गरी कार्ययोजना बनाइने तयारी छ । चितवनलाई २०७८ सालभित्र बालविवाहमुक्त, सहयोगापेक्षी, बेसहारा, अभिभाजक विहिन सडक मानवमुक्त जिल्ला घोषणा गर्ने गरी तयारी थाल्नेबारे नगरसभामा छलफल हुनेछ । साविक पदमपुर–७ घटुवा, कचुहानी, बाँसबारी लगायत १२ मौजा स्थानबाट २०२१ सालमा निकुज कायम गर्ने शिलशिलामा स्थानान्तरण गरिएका ३ सय ३५ घरधुरी र थपहुन आएकालाई समेत जग्गा सट्टाभर्ना वा उचित मुअब्जा माग गर्ने प्रस्ताव नगरसभामा पेश गरिदैछ ।
समानुपातिक विकासमा जोड
जिल्लासभा उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समानुपातिक विकासको अवधारणा कार्यान्वयन ल्याउनुपर्ने बताए । “पहाडी भेगमा अझै खानेपानी, बिजुली, सडक पूर्वाधार प्रयाप्त पुगेका छैनन्”, उनले भने, “घण्टौ हिडेर पानी ल्याउनुपर्ने बाध्यता छ, पहाडी क्षेत्रमा विकास बजेट बढी ल्याउन पहल गरौँ ।” उनले सुकुम्बासी समस्या समाधान गर्न ऐन बनिसकेकाले छिटै कार्यान्वयनमा आउने बताए ।
प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले चितवनको पहाडलाई उत्पादनको केन्द्र बनाउनुपर्ने बताए । “सिराइचुलीमा केबुलकार बनाउँ, त्यही फलेका फलफुल खाने वातावरण बनाउन लागौँ”, उनले भने, “पहाडी क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना छ ।” उनले निकुञ्जसँग जोडिएका माडी, मेघौली लगायतका क्षेत्रमा बलियो कंक्रिट पर्खाल लगाउन बजेट ल्याउन सबैले पहल गर्नुपर्ने बताए । “वन्यजन्तु जंगलमै बसुन्, वस्तीमा नछिरुन”, उनले भने, “यस्ता योजना ल्याउन हातेमालो गरौँ ।” कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गोन्द्राङको ढाट लोथरमा सार्न सुझाए । “पटक पटक निर्णय भए, कार्यान्वयनमा आएन”, उनले भने, “दुईतिहाईको सरकार छ, तर ढाट सरेन ।” उनले चितवनको विकासमा कांग्रेस सधै सकारात्मक बनेर सहयोग गर्ने बताए । नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले ढाट हटाउन पहल गर्ने बताए । राप्तीका मेयर प्रभा बरालले सुकुम्बासी समस्या समाधान छिटो गर्नुपर्ने बताइन् ।
४ जनालाई सम्मान
जिसस चितवनले उत्कृष्ट काम गरेका ४ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, महिला अधिकारकर्मी मीना खरेल, संगिता भट्टराई, मानव सेवा आश्रमलाई सम्मान गरिएको हो । गृहमन्त्रालयले गरेको देशभरका प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकनमा चितवन उत्कृष्ट ५ मा पर्न सफल भएको थियो । महिला अधिकारकर्मी खरेल र भट्टराईले हिंसामा परेका महिलाको हकहितमा खेलेको भूमिको कदर गर्दै सम्मानित गरिएको थियो । मानव सेवा आश्रमलाई सहयोगापेक्षी मानवमुक्त सडक बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मानित गरिएको हो । मुख्यमन्त्रीले सम्मानपत्र हस्तान्तरण गरे ।