सूर्यप्रसाद जमरकट्टेल
वास्तवमा गजलको संसार एउटा स्वर्णिम संसार हो । जो अत्यन्त आनन्दमयी छ, प्रेमिल छ, स्निग्ध छ, रमणीय छ र सौहार्दपूर्ण छ । जहाँ कोमल फूलजस्तै शब्दहरूको रंगीन बगैंचा हुन्छ, जहाँ उदात्त भावनाको गम्भीर सरोवर हुन्छ । दिलको सागर हुन्छ, मनको आकास हुन्छ ।
लाग्छ यो संसारलाई चियाउनुको मात्र पनि छुट्टै मूल्य छ । पृथक स्वाद छ ।
अझै जसले गजलको संसारमा यात्रा नै गरिरहेको हुन्छ, उसको महँगाइ कुन कसीमा घोटेर एकिन हुन सक्छ र ! हो अहिले गजल संसारमा पनि एउटा भीड छ । यो भीडमा थुप्रै गजलहरू छन्, अगजलहरू छन् । त्यसभित्र पनि बहरबद्ध गजलको शब्दयात्रा, यो निकै चुनौतीपूर्ण छ । अझ सोझै बहरबद्ध गजल यात्रामा प्रवेश गर्नु, जँघार तर्नु र एउटा सफलताको खुड्किलो चढ्नु, कम कठिन छैन । यो यात्रा तय गर्ने एक नव प्रतिभा हुन् ‘समीर’का गजलकार प्रकृति प्रेमी ।
‘सूक्तिसिन्धु’युगका मोतीराम भट्टदेखि आजको ‘समीर’का प्रकृति प्रेमीसम्म आइपुग्दा धेरै बहरबद्ध गजलकारका गजलहरू हिमाल, पहाड, तराई हुँदै सागरको लहरमा तरङ्गित भइसकेका छन् ।
अहिले नेपालमा गजलको बाढी उर्लेको छ, विशेषतः चितवन चुर्लुम्म छ भन्नुमा अत्युक्ति नहोला । चितवनको गजल प्रवाहमा जीवन्त तरङ्ग विस्तार गर्ने उल्लेखनीय हस्तीहरूको पंक्ति लामो छ । पाना भरिएला इतिहास भरिदैन । तथापि वरिष्ठ साहित्यकार एवं गीतकार प्रेम विनोद नन्दन, गोविन्दराज विनोदी, केशवराज आमोदी, धनराज गिरी, प्रभाकर पण्डित, पुष्प अधिकारी अञ्जलि आदि सहज उच्चारण हुने नामहरु हुन् ।
समीर चितवनको भुलभुले मूलबाट भर्खरै प्रस्फुरण भएको नवीनतम गजलसं्रगह हो । र, प्रकृति प्रेमी नवसर्जक। चितवनको जनज्योति पद्मनारायण धर्मकुमारी मल्लमा बीमा ११÷१२ अध्ययन गर्दै गर्दा जनज्योति साहित्य समाजको गठन गर्नुका साथै ‘ज्योति’ भित्तेपत्रिकामार्फत गजलहरू सम्प्रेषण गरेर भावी गजलकारको पहिचान दिन चाहने मनोज भुजेल आज ‘समीर’ गजलसंग्रह लिएर प्रकृति प्रेमीको नामबाट प्रस्तुत भएका छन् ।
बाल्यजीवनका कठोर घडीसँग संघर्ष गर्दै आएका सर्जकको यो गजलसंग्रहभित्र पीडा, कुण्ठा, तडपन व्यक्त हुनुपथ्र्यो सायद, तर यसले सबै पीडा, कुण्ठा र तड्पनलाई परास्त गर्दै प्रेम–प्रणय, जीवन, समाज, देश, राष्ट्रियता स्थापित गरेको छ ।
समीरभित्र छयत्तर गजल छन् । सबै बहरबद्ध छन्, सूत्रबद्ध छन्, छन्दोबद्ध छन् । प्रायः बाह्र अक्षरका पंक्ति भएका शेरहरूको बाहुल्यता यसमा छ । विशेषगरी सँस्कृत छन्दमा प्रयोग हुने भुजङ्गप्रयातका करिब तेइस वटासम्म गजल यसमा समावेश गरिएका छन् ।
समग्रमा सबै गजल स्वादु छन्, सुमधुर छन्, पठनीय छन्, र गजलसंग्र्रह संग्रहणीय छ ।
गजलकारलाई साधुवाद छ !
समस्त गजलको अध्ययन गरेर सिद्धहस्त गजलकार एवं गजलका मर्मज्ञ गोविन्दराज विनोदी, केशवराज आमोदी, ज्ञानुवाकर पौडेल, घनश्याम परिश्रमी, बूँद रानाजस्ता व्यक्तिहरुबाट विशेष चर्चा भइसकेको सन्दर्भमा यो टिप्पणी केवल जूनको उज्यालोमा जूनकीरीजस्तो हो । तथापि यो टिप्पणीले गजलप्रेमी ‘समीर’ को रसास्वादन गर्न मद्दत पुगेमा हरफहरुले पनि सार्थकता प्राप्त गरेको ठहर हुनेछ ।