ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,२७ जेठ । गाउँघरबाटै सेवा प्रवाह गरेर आमा र बच्चाको मृत्युदर घटाउने उद्देश्यले ग्रामीण भेगमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरको आकर्षण खासै देखिएको छैन । कर्मचारीको दरबन्दी नहुनु, सरकारी संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन आउन नसक्नु जस्ता कारणले गाउँमै सञ्चालित बर्थिङ सेन्टरको आकर्षण घटेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
राप्ती नगरपालिका–९, ब्रह्मनगरस्थित वीरेन्द्रनगर स्वास्थ्यचौकीमा सञ्चालित बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउने गर्भवती महिलाको संख्या घट्दै गएको छ । सुरुआती वर्षमा ३५ जना महिलाले बर्थिङ सेन्टरमार्फत बच्चा जन्माएको भएपनि त्यसपछि भने क्रमशः घट्दै गएको स्वास्थ्यचौकीको तथ्यांकमा उल्लेख छ । वि.सं. २०७१ सालदेखि यहाँ बर्थिङ सेन्टर सञ्चालनमा आएको थियो । त्यो वर्ष ३५ जना महिलाले सेन्टरमार्फत बच्चा जन्माएको स्वास्थ्यचौकीकी सिनियर अनमी निशा खरेलले जानकारी दिइन् । आर्थिक वर्ष २०७२÷०७३ मा १३ जनाले मात्रै बर्थिङ सेन्टरमार्फत बच्चा जन्माए । यस्तै चालु आर्थिक वर्ष २०७३÷७४ मा भने केही बढेको छ । चालु यो वर्ष १८ जनाले सेन्टर मार्फत सेवा लिएका छन् ।
आर्थिक वर्ष सकिन बाँकी रहनु र केही गर्भवती महिलाको बच्चा जन्माउने अवधि असारसम्म रहनुले यो संख्या वढ्ने खरेलले बताइन् । “सरकारले करारको अनमीलाई ढिलो नियुक्ति गर्दा, भएका पनि तालिममा जाने गर्दा समस्या छ”, उनले भनिन्, “स्वास्थ्यचौकीप्रतिको विश्वास अझै नहुँदा आकर्षण सोचेजस्तो नभएको हो ।” २४ सै घण्टा सेवा दिने सो स्वास्थ्यचौकीमा एकजना अनमी अनिर्वाय रहन्छन् । “कतिपय खोज्दै आउँछन् । तर, यो संख्या पर्याप्त होइन”, खरेलले भनिन्, “सरकारी संस्थाप्रतिको विश्वास जगाउन जनचेतना आवश्यक छ ।”
राप्ती नगरपालिका ७, ८ र ९ का जनतालाई प्राथमिकता दिएर सञ्चालित सो सेन्टरमा चैनपुर, खैरहनी र सिद्धिका केही क्षेत्रका महिलाहरु बच्चा जन्माउन आउने गर्छन् । सो ठाउँमा बर्थिङ सेन्टर स्थापना हुनुअघि कतिपयले घरमै र केहीले भरतपुर पुगेर बच्चा जन्माउने गर्थे । स्वास्थ्यचौकीमार्फत गर्भ जाँच गरेमा सरकारले जाँच गरेवापत ४ सय र सरकारी अस्पतालमा बच्चा जन्माइसकेपछि भाडा खर्च भनेर ५ सय रुपैयाँ प्रदान गर्दै आएको छ साथै आमालाई एक थान गाउन र वच्चाका लागि दुई जोर कपडासमेत दिदै आएको छ ।
बर्थिङ सेन्टरमा सुत्केरी गराउने घटे
बर्थिङ सेन्टरमा सुत्केरी गराउने घटे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस