२७ वैशाख, काठमाडौं।
मोनाकोलाई समग्रमा ४–१ गोलले पराजित गर्दै युभेन्टस् च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा २–१ नतिजा निकालेको इटालियन युभेन्ट्सले पहिलो लेगमा २–० जितसहित समग्रमा ४–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । २०१५ को फाइनलमा बार्सिलोनासँग भिडे पनि युभेन्टस् ३–० गोलले पराजित हुँदै उपाधिविहीन बन्न पुगेको छ । २–१ जित निकाल्ने क्रममा युभेन्टस्का लागि म्याडुज्किकले ३३ औं र डानी एल्भेसले ४४ औं मिनेटमा गोल गरेका थिए । मिबाप्पीले ६९ औं मिनेटमा मोनाकोको लागि एक गोल गरे पनि टिमलाई फर्काउन त्यो गोल पर्याप्त रहेन ।
फाइनलमा रियलसँग लगभग पक्का
अब युभेन्टसस्को फाइनल भेट स्पेनिस रियल म्याड्रिडसँग हुने लगभग पक्का जस्तै छ । पहिलो लेगमा रियलले एथलेटिको म्याड्रिडलाई ३–० ले पराजित गरेको थियो । यस्तोमा एथलेटिकोलाई फाइनलमा पुग्न आज राती हुने दोस्रो लेगमा कम्तिमा ४–० को नतिजा आवश्यक पर्छ । तर, यो बलियो र आत्मविश्वासी रियलका सामू यस्तो नतिजा ल्याउन एथलेटिकोलाई सहज भने छैन । एथलेटिकोलाई हराउने क्रममा रियलका लागि रोनाल्डोले गोल ह्याट्रिक गरेका थिए ।
वेल्सको कार्डिफमा आगामी ३ जुनमा च्याम्पियन्स लिगको फाइनल हुनेछ ।