राजेश घिमिरे
भरतपुर, १९ कात्तिक
प्रचण्ड मार्गको विशाल चोक देखि प्रभात चोकसम्मको सडकको दुबै छेउमा सर्लक्कै खाल्डो खनिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाबाट सडक निर्माणको ठेक्का पाएपछि ठेकेदारले यो सडकको दुई छेउको माटो खन्न थालेको थियो । करिब ३.५ किलोमिटर सडक छेउको भाग खनेपछि ठेकेदारले काम रोक्यो । त्यसपछिको लगभग एक वर्षमा ती खाल्डामा दर्जनौं दुर्घटना भए । धेरै व्यक्ति घाइते भए ।
दुई वर्ष भित्रमा निर्माण सक्ने जिम्मा पाएको कम्पनी रमन शिवशक्ति जेभीलाई सडक खनेर निकालिएको माटो कता पुग्यो थाहा छैन । तर कम्पनीका सञ्चालक देखि ईन्जिनियर सम्म सडक पुर्ने माटो नहुँदा निर्माणको काम रोकिएको दाबी गर्छन् । प्रचण्ड मार्गको पहिलो र दोश्रो खण्डमा पर्ने यो सडकको माटो झिकेर निर्माण कम्पनीले बेचेको दाबी स्थानीयबासीको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २५ का अध्यक्ष विजयकुमार भुजेल ढुंगा, गिटीसँग मिसाएर पुनः सडकमा हाल्न तयारी गर्नुपर्ने भन्दै ठेकेदारले सबै माटो उठाएर लगेको बताउँछन् ।
निर्माण कम्पनीका सञ्चालक राजेन्द्र कंडेलले भने सडकबाट निकालिएको माटो स्थानीय जनप्रतिनिधि तथा जनताले दुरुपयोग गरेको आरोप लगाए । “कहिले स्कूललाई, कहिले मन्दिरलाई चाहियो भन्दै माटो लिएर गए । हामीले जनप्रतिनिधिकै जमिनमा पनि माटो थुपारेका थियौं, आँफैले जमिन खोजेर पनि राखेका थियौं त्यो पनि कता पुग्यो थाहा छैन”, उनले भने, “अहिले हामीलाई दोष दिने काम भएको छ ।” वडाध्यक्ष भुजेल भने ठेकेदार कम्पनी नै गतिलो नपर्दा जनताले दुःख पाएको बताउँछन् । “धेरै नै अलमल गर्न खोजेपछि मैले हामीलाई राम्रो बाटो चाहिएन पहिले जस्तो छ त्यस्तै अवस्थामा पु¥याएर छाडिदेउ भनें”, उनले भने, “बाटोको माटो सबै लगे अहिले माटो पाहिएन भन्दै हिँडिरहेका छन् ।”
निर्माण कम्पनीका ईन्जिनियर प्रदिप अधिकारीले सडक पुर्ने माटोको अभावका कारण निर्माण कार्य रोकिएको भन्दै भरतपुर महानगरपालिकाले सहयोग गर्नुपर्ने माग गरे । तर महानगरका प्रबक्ता रहेका भरतपुर १० का वडाध्यक्ष अरुण पीडित भण्डारी माटोको समस्या देखाएर ठेकेदारले म्याद थप्ने दाउ खोजिरहेको बताउँछन् । योजना परेको क्षेत्र वडा नम्बर २५ का अध्यक्ष भुजेलले योजनाले स्थानीयलाई बाधा पुग्न थालेकाले स्थगित गर्न माग गरेर पत्र लेखेपछि मात्रै महानगरपालिकाले समन्वय गरेको बताए । उनले सडक निर्माण कार्यमा सघन शहरी तथा भवन निर्माण आयोजना, महानगर र ठेकेदार कोही पनि जिम्मेवार रहेको नपाएको गुनासो गरे । “किन यस्तो समस्या आइरहेको छ मैले बुझ्नै सकिरहेको छैन”, उनले भने, “को सँग के विषयमा कुरो मिलेको छैन भन्ने कुरा पत्ता लगाउनुपर्ने भयो ।” उनले ठेकेदारले कहिले तीज पछि, कहिले दशैं, तिहार पछि भन्दै कामगर्ने मिति धकेल्दै गएको आरोप लगाए ।
एक सय मिटर सडकको दुईछेउमा डेढ मिटर खन्दा लगभग पाँच ट्रिपर माटो आउँछ । ३.५ किलोमिटर सडक खनिएका कारण करिब दुई सय ट्रिपर माटो यहीबाट हराएको छ । एक ट्रिपर माटोको मूल्य अहिले ८ हजार रुपैयाँ भन्दा बढी पर्छ । ठेकेदारले सडकको माटो बिक्री गरेर लाखौं रुपैयाँ कमाएको आरोप स्थानीयको छ ।
सडकको खनिएको भागमा अहिले झार पलाएको छ । रातको समयमा हिँड्ने, सवारी चलाउनेलाई खाल्डोको मेसो नहुँदा यहाँ दुर्घटनाको खतरा बढेको छ । वडाध्यक्ष भुजेल सडकमा उँडेको धुलोका कारण प्रायः सबै घरका मान्छे बिरामी परेको बताउँछन् ।
भरतपुरको महेन्द्रचोकबाट सुरु हुने प्रचण्ड मार्ग पश्चिम चितवनको तेलौलीसम्म १९.१ किलोमिटर निर्माणका लागि ठेक्कामा दिइएको १६ महिना भयो । उक्त मार्गको पहिलो र दोश्रो खण्ड निर्माणको जिम्मेवारी रमन शिवशक्ति जेभीले र तेश्रो खण्डको निर्माणको जिम्मेवारी सन्तोषी कान्छाराम डाँफे जेभीलाई दिइएको छ । अहिलेसम्म सडक निर्माणको काम करिब १५ प्रतिशत मात्र सकिएको छ । बाँकी ८ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । उक्त सडकको अधिकांश खण्डमा करिब १० वर्ष अघि नै कालोपत्रे गरिएको थियो । पहिलेको कालोपत्रे भत्किएपछि गत वर्ष पुनः निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो ।
प्रचण्ड मार्ग भरतपुरको महानगरपालिकाको रिंगरोडको लिंक रोड हो । रिंगरोड र लिंकरोड निर्माणका लागि ती दुई कम्पनीले एक–एक अर्ब रुपैयाँको ठेक्का पाएका थिए । तर उनीहरुले काम ढिलो गरेको भन्दै जनगुनासो बढेको छ ।
सन्तोषी कान्छाराम डाँफे जेभीका ईन्जिनियर सुभाषराज गिरीले धेरै समय लाग्ने कामहरु सकिएको भन्दै बाँकी काम समयमै सकिने दाबी गरे । ठेक्का दिने र लिने बीचको असमझदारी, जनशक्तिको अभाव, कच्चा पदार्थको अभाव, विद्युत पोल, टेलिफोनलाइन सार्ने विषयमा भएको ढिलाइ तथा स्थानीयबासीको असहयोगलगायतका कारणले सडक निर्माणमा ढिलाई भएको बताए ।