भरतपुर,२६ जेेठ।
सर्वोच्च अदालतमा विचराधिन मुद्धा रहेपनि भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा चुनावी चहलपहल बढेको छ । मुख्य प्रतिस्पर्धि दलहरु कांग्रेस–माओवादीको गठबन्धन र एमाले मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिएका छन् । निर्णायक मत ल्याउने लक्ष्य बोकेर उनीहरु घरदैलोमा फेरी पुग्न थालेका छन् ।
कांग्रेस–माओवादी गठबन्धनले १७ गते चुनाव प्रसारप्रसार कार्यालयनै स्थापना गरेर चुनावी घरदैलोमा लागिएको छ । निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेलगत्तै सर्वोच्च अदालतले यहि २८ गतेसम्म निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । मतगणना वा मतदान भन्ने निक्र्यौैल नलागेपनि दलहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यो वडामा शारदानगर, किरणगञ्ज, गुञ्जानगरका क्षेत्रका वस्ती पर्छन् । यहाँ ३ हजार ७ सय ९७ मतदाता छन् । वैशाख ३१ गते भएको निर्वाचनमा यो वडाबाट २ हजार ८ सय ६० मत खसेको थियो । मतगणना गर्ने क्रममा विवाद उत्पन्न भएपछि मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई कार्यकर्ता धरौटीमा रिहा भैसकेका छन् । निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आयोगलाई ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको भन्दै प्रतिवेदन पठाएको थियो ।
कांग्रेस–माओवादी गठबन्धनले वडा तहका उम्मेद्वारलाई कांग्रेस उम्मेद्वारलाई सघाउने निर्णयनै गरेको छ । चुनावी मैदानमा वडा तहमा कांग्रेस उम्मेद्वार छन् । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरुङले पुनः मतदान हुनेमा मतदातमा उत्साह थपिएको बताउँछन् । “वडा र उपमेयरमा कांग्रेसलाई र मेयर पदमा माओवादी केन्द्रलाई भोट माग्दै हिडेका छौँ”, उनले भने, “स्थानीय समूहसँग अन्र्तक्रिया गरिएका छन्, सबैमा उत्साह छ ।” उनका अनुसार हालसम्म २२ वटा आमा समूहसँग बसेर मतदानका बारेमा छलफल भैसकेको छ । “मतपत्र च्यात्ने काम विवादले उव्जिएको थियो भनेर बुझाएका छौँ”, उनले भने, “मतदाता मत दिन तयार देखिएका छन् ।”
विगतमा मेयर उम्मेद्वार रेणु दाहालले घरदैलो नगर्दा भोट नदिएको गुनासो गर्ने मतदाता यसपालि मत दिनेमा उभिएको बताए । गुञ्जानगर, टाउन बजार लगायतका अधिकांस क्षेत्रमा घरदैलो गरिएको बताए । किरणगञ्जमा शुक्रबार घरदैलो अभियान चलाइने उनले बताए । घरदैलो अभियानमा मेयर उम्मेद्वार रेणु दाहाल, उमपेयर उम्मेद्वार पार्वती शाह, वडा सदस्यका उम्मेद्वारहरु साधना पराजुली, चुन्चा परियार, जयनारायण सापकोटा, द्रोण बहादुर गुरुङ सहित मतदातको घरदैलोमा पुगिएको बताए । कांग्रेस नेता चन्द्रध्वज गुरुङ, भक्तराम गुरुङ, पूर्व गाविस अध्यक्ष आशबहादुर लामा प्राय घरदैलोमा सँगैछन् । यस्तै माओवादी केन्द्रका घनश्याम दाहाल अविनाश, नारायण दाहाल सहित अन्य स्थानीय नेताहरु घरदैलोमा पुगेका छन् ।
पुनः मतगणनाको माग गर्दै आन्दोलित एमाले चितवनले भरतपुर १९ मा चुनावी अभियान सुरु गरेको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, मेयरका उम्मेद्वार देवी ज्ञवाली, उपमेयरकी उम्मेद्वार दीव्य शर्मा, वडाध्यक्षका उम्मेद्वार प्रकाश तामाङ सहितको टोली चुनावी अभियानमा सक्रिय बनेको छ । “सर्वोच्चको निर्णय आउन बाँकी छ”, एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार प्रकाश तामाङ्ले भने, “निर्णय कुरेर बस्दा चुनावी वातावरण विग्रने खतरा बढ्यो, हामी पनि मत माग्दै घरदैलोमा लागेका छौँ ।” पुनः मतगणनाको पक्षमा एमाले रहेपनि यहि निर्णय आउनेमा उ ढुक्क छैन । “बाध्य भयौँ, हालको परिस्थिति जनतालाई बुझाउनु पर्ने भयो”, उनले भने, “मतपत्र च्यात्नेलाई भोट दिनुुहुन्छ र भन्दै हामी घरदैलोमा पुगेका छौँ ।” उनले मतदाताहरु मतपत्र च्यात्ने पक्षलाई मत नदिने तयारीमा रहेको बताउँछन् । “मतदाता निराश छन्”, उनले भने, “केहि मतदाता भोट हाल्नै जान्न भन्छन्, केहि मतपत्र च्यातिने पो होकी भनेर शशंकित छन् ।” एमालेले बिहीबार चारपाटे चोक, प्रजापति चोक, थानेदार चोक हेल्थपोष्ट लगायतका क्षेत्रमा चुनावी घरदैलो गरेको छ । “पुनः मतदान भयो भने मत दिनुहोला भन्दै हिडेका छौँ”, उनले भने, “मतदाताले यसपालि पहिले भन्दा बढी विश्वास हामीलाई गरेका छन् ।” एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वारमा मैनाकुमारी पौडेल, डिलकुमारी विश्वकर्मा, बलबहादुर तामाङ, गुञ्जमान विश्वकर्मा छन् । एमालेले बुधबारदेखि चुनावी अभियान सुरु गरेको हो । दुवै दल यहि वडाबाट अग्रता कायम गर्ने रणनीतिमा छन् । भरतपुर २० को मतपत्र गन्नै बाँकी छ । अन्य दलभने मौन बसेका छन् ।