विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२६ जेठ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले विज्ञान प्रविधिमा राज्यले यथेष्ट लगानी गर्न नसकेको बताएका छन् । नारायणगढमा सञ्चालित तीनदिने विज्ञान लेखन तालिमको समापन कार्यक्रममा बोल्दै पोखरेलले विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले कम बजेट छुट्यउने गर्दा नतिजा राम्रो आउन नसकेको बताए ।
“विज्ञान रुख हो, प्रविधि प्रतिफल हो”, उनले भने, “विज्ञान तथा प्रविधिविना विकास सम्भव छैन ।” उनले छिमेकी राष्ट्रको विकास तीव्र गतिमा हुनुको मुख्य कारण विज्ञान तथा प्रविधिमा राज्यले गरेको लगानीको प्रतिफल भएको बताए । राष्ट्रिय योजना आयोगले विज्ञान तथा प्रविधिद्वारा देशको समृद्धि गर्ने उल्लेख भएपनि सोअनुसारको बजेट नहुदा काम गर्न कठिनाइ भएको बताए । विदेश रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काएर नेपालमै अध्ययन अनुसन्धानका काममा लगाउने अभियान सुरु भएको बताए । ‘फर्क है, फर्क–फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रममा दुई वैज्ञानिक अनुबन्धन भइसकेको बताए ।
“५० लाख बजेट प्राप्त भयो, हामीले विदेश रहेका नेपाली वैज्ञानिकलाई नेपाल फर्काउने योजना बनायौं”, उनले भने, “१८ जनामध्ये ४ जना छनौट भए । तर, दुई तत्काल नेपाल आइपुगेका छैनन्, उनीहरु दशैंतिर आउनेछन् ।” राजनीतिक अस्थिरता र कमजोर स्रोतसाधनले गर्दा वैज्ञानिकलाई आकर्षण गर्न नसकिएको बताए । “नेपालमै बसेर अनुसन्धान गर्ने वातावरण बनाउन राज्यको लगानी चाहिन्छ”, उनले भने, “वैज्ञानिक स्वदेश फर्काउने यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो ।” भारत, दक्षिण कोरियाजस्ता मुलुकले सुरुमा यस्तै अभियान चलाएको उनले बताए । “वैज्ञानिकले धैर्यधारण गर्नुपर्ने हुन्छ, समयै धेरै लगानी गर्नुपर्छ”, उनले भने ।
विदेशमा नेपाली वैज्ञानिक कति छन् भन्ने यकिन तथ्यांक छैन । नेपालमा रहेका धेरै वैज्ञानिक पनि आर्थिक अभावमा अनुसन्धान तथा आविष्कारलाई सफल पार्न सकेका छैनन् । आगामी वर्षका लागि करिव १ अर्ब २१ करोड मात्रै छुट्याइएको छ । गतवर्ष करिब ७५ करोड बजे विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याइएको थियो । बजेटको आकार बढेअनुसारको मन्त्रालयलाई बजेट छुट्याउन नसक्दा प्रविधिमा विदेशको भरमा पर्नुपर्ने अवस्थालाई प्रसय दिने अवस्था आएको बताए । “विज्ञान तथा प्रविधि मन्त्रालयलाई सधै उपेक्षामा पारिन्छ”, उनले भने, “प्रायः साना दललाई मन्त्रालयको जिम्मा दिइन्छ, जसले गर्दा निर्णयमा प्रभाव नहुदा अवस्था उस्तै छ ।”
नास्टको स्थापनाको सुरुआति वर्षहरु पूर्वाधार विकासमै खर्चिएको छ । “अब अध्ययन अनुसन्धानका कामहरु हुन थालेका छन्”, उनले भने, “गाउँका कुना कुनामा रहेका वैज्ञानिकलाई गोलबन्द गर्न प्रदेशस्तरमा कार्यालय स्थापना गरिनुपर्छ ।” ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापना गर्ने भनिएपछि बजेट विनियोजन नहुँदा समस्या परेको बताए ।
“प्रत्येक प्रदेशमा नास्टको कार्यालय स्थापना गर्न १ करोड बजेट पार्ने तयारी थियो”, उनले भने, “तर, बजेटले यो विषय सम्बोधन गरेन, हामी चिन्तित छौं ।” विज्ञान तथा प्रविधिको काम गर्ने सर्वोच्च संस्था नास्ट हो । पारम्परिक प्रविधिको अभिलेखीकरण, संरक्षण तथा आधुनिकीकरण गर्ने, विज्ञान प्रविधिको विकास गर्ने काममा नास्ट लागिपरेको छ । “वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गर्ने विभूषण दिने गरेर हौसला दिने अभ्यास चलेको छ”, उनले भने, “विभिन्न प्रयोगशाला बनेका छन् । तर, स्रोतसाधनले सम्पन्न छैनन् ।” प्रविधि अनुसन्धान गरेर प्रक्षेपण गर्ने काम भइरहेको बताए । आगो नलाग्ने छानो निर्माण, भूकम्पलाई सुस्त पार्ने प्रविधि निर्माण, पहिरो रोक्ने प्रविधिबारे अनुसन्धान चलिरहेको बताए ।
सैद्धान्तिक तथा व्यवहारिक अध्ययन अनुसन्धानका काम भइरहेको बताए । एकीकृत बस्ती निर्माण, फुर्तिला शहर निर्माणबारे अनुसन्धान भइरहेको जनाए । नगरपालिका तथा गाउँपालिकालाई उपयोगी हुने गरी अध्ययन भइरहेको बताए । जनतालाई फाइदा हुने प्रविधिको अनुसन्धान गर्न नास्ट लागिपरेको उनको भनाइ छ ।
पत्रकारले लिए विज्ञान तालिम
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले चितवनका पत्रकारलाई तीन दिने विज्ञान लेखन तालिम दिएको छ । विज्ञान तथा प्रविधिको आवादीबारे जनतासँग पु¥याउन सहयोग पुग्ने भन्दै पत्रकारलाई तालिम दिइएको हो ।
तालिममा २० जना पत्रकारको सहभागिता रहेको थियो । तालिममा सहभागी पत्रकारलाई नास्टका उपकुलपति जीवराज पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे । नास्टकको प्रवद्र्धन तथा प्रचारप्रसार महाशाखा प्रमुख रमिला राउतले विज्ञान पत्रकारितालाई सहज र सरल बनाउन तालिम दिइएको बताइन् ।
तालिममा पत्रकार केदार शर्मा, प्राध्यापक जीवन रेग्मीले प्रशिक्षण दिएका थिए । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले तालिमले विज्ञान प्रविधिका विषयलाई नबिगारी सम्प्रेषण गर्न सघाउने बताए ।