हेम रोकाहा/कायाकैरन
भरतपुर,२६ जेेठ।
भरतपुर महानगरपालिका वडा नम्बर १३, उज्वलनगरमा अवस्थित बाटुलीपोखरी सिमसार क्षेत्र तथा आगन्तुक चरा अवलोकनका लागि प्रसिद्ध छ । यो सुन्दर पोखरी बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा अवस्थित छ । बाटुलीपोखरी पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनद्वारा सिंचाइको लागि बनाइएको भएपनि यसले पोखरीको रुप लिएको छ ।
तर, हाल यो पोखरीको सुन्दरता बिग्रिएको छ । पोखरीको पानीमाथि जमेको झार तथा पात पतिङ्गरले यसको संरक्षणमा त्यति ध्यान नदिइएको प्रष्ट हुन्छ । तालमा सञ्चालन भइरहेका काठे डुँगा पनि जीर्णरुपमा तालको छेउमा राखिएका छन् । पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना भएको यो पोखरीको संरक्षण आवश्यक देखिन्छ ।
पोखरी प्राकृतिकरुपमा नै फोहर भएको र केही समयपछि आफै पानीमाथि तैरिएका झारपात पानीमा डुब्ने बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष प्रकाश दवाडीले बताए । पोखरीमा भएको सिंगडा नामक झारका कारण पोखरी फोहर देखिएको उनको भनाइ छ । पोखरी छेउछाउमा रहेका झारपात भने बेला–बेला सफा गरिएको उनी बताउँछन् । पोखरीमा जलकुम्भीलगायत पोखरी नष्ट गर्ने खालका झारपात नभएको उनले दावी गरे ।
वडा नम्बर १३ को वडाध्यक्षमा निर्वाचितसमेत भएका दवाडीले तत्कालको लागि बाटुलीपोखरीको संरक्षण तथा प्रवद्र्धनको लागि योजना नभएको बताए ।
पोखरीमा सञ्चालन भएको काठे डँुगा जीर्ण भएपछि बीचमा ल्याइएका डुँगा कमसल काठबाट बनेकाले हाल ती पनि जीर्ण भइसकेको उनले बताए । अब निकट भविष्यमै नयाँ डुँगा ल्याउने उनले बताए । साथै पोखरीलाई चारैतिरबाट अवलोकन गर्न मिल्ने गरी पथ बनाइएको उनले बताए । “गतवर्ष ५ सय मिटर पथ बनाएर सकिएको छ” उनले भने, “बाँकी काम अब सुरु हुन्छ ।”
दवाडीले आर्थिक अभावका कारण बाटुलीपोखरीको संरक्षण तथा उल्लेख्य प्रचारप्रसार गर्न नसकेको बताए । २० हेक्टरमा फैलिएको तालको निर्माणका लागि हालसम्म एक करोड २० लाख बराबरको लगानी भइसकेको अध्यक्ष दवाडीको भनाइ छ । साना सिंचाई परियोजनाअन्तर्गतको बजेटमार्फत सिंचाईको लागि बनाइएको पोखरीलाई तालमा रुपान्तरण गरिएको छ ।
हाल सामुदायिक वनले तालको संरक्षण गर्दै सिंचाई पनि गर्दै आइरहेको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गइरहेको तालमा डुँगा सयरको लागि आन्तरिक पर्यटक आउने गरेका छन् । बाटुलीपोखरीमा गरिएको सिमसार क्षेत्रमा पाइने विभिन्न चरा देख्न सकिन्छ । जसमा विशेषगरी मंसिर १५ देखि फागुन १५ सम्म अर्थात जाडो मौसममा बसाइँ सरी आउने साइबेरियन कर्मोरेन्ट तथा डाल्टर रहेका छन् । यी चराहरु जाडो मौसममा यस क्षेत्रमा बसोबासको लागि आउने गर्दछन् । ताल वरपर एकसिंगे गैंडासमेत देख्न सकिने अध्यक्ष दवाडीको भनाइ छ ।