विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२५ जेठ । जीर्ण झोलुंगे पुलका कारण सधैं दुर्घटनाको जोखिम रहेको धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक झोलुंगे पुल निर्माण गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजन ललितपुरले विस्तृत सर्वेक्षणका लागि कन्सल्टेन्ट (परामर्शदाता) छनौट प्रक्रिया सुरु गरेको समिति अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
चितवन, तनहुँ र नवलपरासी जोड्ने गरी त्रिकोणात्मक झोलुंगे पुल निर्माण गर्ने तयारी छ । सस्पेन्सन ब्रीज डिभिजनका ईञ्जिनियर शेखर पोखरेलले असार ५ गतेभित्र कन्सल्टेन्टले आवेदन दिन सक्ने बताए । “डीपीआर(विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न कन्सल्टेन्टको खोजी गरिएको छ”, उनले भने, “६ महिनाभित्र काम सक्ने गरी आर्थिक प्रस्तावसमेत माग गरिने छ ।” आगामी असारभित्र परामर्शदाता छनौट भएसक्ने उनले बताए । डीपीआरमा झोलुंगे पुलको डिजाइन, माटो परीक्षण, वातावरणीय प्रभाव मूल्यांकनलगायत प्रतिवेदन समावेश हुनेछन् । “माघभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ”, उनले भने, “आगामी वर्ष टेण्डर आह्वान हुने सम्भावना छ ।”
पुलको लम्बाइ, लागत, डिजाइन कस्तो बनाउने भन्नेबारे अध्ययनपछि एकिन हुनेछ । बीचमा बनाइने बलियो पिल्लरले तीनैतर्फको पुललाई आधार दिनेछ । त्रिकोणात्मक सो पुलमा भ्यु टावरसमेत राखिने छ । “जमिनमुनिका करिब २९ मिटर गहिराइको पील्लर बनाइने छ”, पोखरेलले भने, “सोही बराबरको उचाइको भ्यु टावर बनाइने छ, जहाँबाट धार्मिक स्थलको अवलोकन गर्न सहज हुनेछ ।” झोलुंगे पुलमै भ¥याङ राखेर भ्युटावर जाने गरी संरचना तयार गरिनेछ ।
देवघाट वेनीसंगममा बनाइने भनिएको सो झोलुंगे पुल नेपालकै ठूलो लागतमा बन्ने पहिलो त्रिकोणात्मक पुल बन्नेछ । यसको लागत करिब ३५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो पुल निर्माण पूरा हुन झण्डै ४ वर्ष लाग्न सक्ने अनुमान छ । गुल्मीको धार्मिकस्थल रिडीमा पहिलो पटक ९ करोड ८८ लाख २२ हजार लागतमा त्रिकोणात्मक झोलुंगे पुल निर्माणाधीन छ । पाल्पा, स्याङ्जा र गुल्मीलाई सो पुलले जोड्ने छ । २०७१ असार १० मा सम्झौता भएको सो पुल यही असार ९ मा निर्माण पूरा हुनुपर्ने थियो । तर, निर्माणकर्ताको ढिलाइले अझै एक वर्ष लम्बिने संकेत देखिएको छ ।
देवघाटमा २०३७ सालमा बनेको झोलुङंगे पुल जीर्ण बनिसकेको छ । देवघाटमा लाग्ने विभिन्न मेलामा सो पुल पटक–पटक मर्मत गरिदै आएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले त्रिकोणात्मक झोलुंगे पुलले पर्यटक आवागमनमा वृद्धि गर्ने बताए । “तीनै जिल्लाबाट सजिलै देवघाट आउने वातावरण बन्ने छ”, उनले भने, “धार्मिक चक्रपथको अवधारणा लागू गराउन पनि सघाउने छ ।” देवघाट क्षेत्र विकास समितिको मंसिर ३० गतेको बैठकले त्रिकोणात्मक पुल निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । पुस २० गते तनहुँका सांसद् तथा कांग्रेसका नेता रामचन्द्र पौडेलसहितको बैठकले केन्द्रीय स्तरको बजेट पार्न पहल गर्ने निर्णय गरेको थियो । क्षेत्र विकास समितिले सो पुलको माग गर्दै पटक पटक प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।
“अन्तर्राष्ट्रियस्तरमा चिनाउन त्रिकोणात्मक पुलले सघाउने अपेक्षा लिएका छौं”, उनले भने, “जीर्ण पुलको विकल्पका रुपमा पनि विकास हुनेछ ।” झोलुंगे पुलको एक भाग चितवनतर्फ रहेको हनुमान मन्दिरतर्फ, अर्को भाग तनहुँको गलेश्वर र अघोरीबाबा आश्रमबीच तर्फ, अर्को भाग नवलपरासीको केलादी बद्धपार्कतर्फ जोडिने गरी नक्सांकनको तयारी गरिएको छ । “मौलाकालिका दर्शन गर्न आउने पर्यटक पनि देवघाट सहज रुपमा जाने वातावरण बन्दैछ”, उनले भने, “मौलाकालिकाबाट देवघाट जाने सिढिमार्ग पनि निर्माणाधीन छ ।” साढे तीन किलोमिटर लामो सिंढीमार्गमध्ये १ किलोमिटर लामो बाटो बनिसकेको छ । नवलपरासी केलादीतर्फ भने देवघाट पुग्ने स्तरीय सडक बनिसकेको छैन । त्रिकोणात्मक पुल ५ फिट चौडाइको बन्ने छ । सो पुलमा हिडडुल गर्नमात्रै मिल्नेछ ।
देवघाटमा त्रिकोणात्मक पुल
देवघाटमा त्रिकोणात्मक पुल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस