हेम रोकाहा/कायाकैरन
भरतपुर,२५ जेठ । माडीको रामराज्यपुरस्थित सिंचाईको लागि निर्माण गरिएको पोखरीमा गत शनिबार दुई बालिकाको शव भेटिएको घटनालाई शंकास्पदरुपमा हेरिएको छ । घटनाको प्रकृकि हेरेर स्थानीयबासी तथा महिला अधिकारकर्मीहरु यसलाई सामान्य घटना नभएको बताउँछन् र प्रहरीले पनि शंकास्पद घटनाको रुपमा आफ्नो अनुसन्धान गरिरहेको छ ।
घटनाबारे निष्पक्ष छानबिन गर्न दबाब दिने उद्देश्यले माडीमा सावित्री पाण्डेको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन भएको छ । जसलाई भरतपुरबाट अन्तरपार्टी महिला सञ्जाललगायतका अन्य मानवअधिकारवादी सम्मिलित संघसंस्थाले साथ दिइरहेको छन् । घटनाबारे निष्पक्ष छानविन गरी पीडितलाई न्याय दिलाउन आफूहरुले दबाब दिदै आएको अन्तरपार्टी महिला सञ्जाल चितवनका संयोजक संगीता भट्टराईले बताइन् ।
बालिकाहरुको सामान्य मृत्यु नभएको महिला अधिकारकर्मी मीना खरेलको ठम्याइ छ । घटनाको प्रकृति हेर्दा पीडकले बालिकाको जबरजस्ती करणी गरी घटना लुकाउनको लागि बालिका हत्या गरेको हुनसक्ने उनको भनाइ छ । “घटनाको प्रकृति हेर्दा बालिकाहरुको जबरजस्ती करणीपछि हत्या गरिएजस्तो देखिन्छ” उनले भनिन्, “घटनापछि अपराध लुकाउन बालिकालाई पोखरीमा फालिएको हुनसक्छ ।”
घटनाबारे सत्यतथ्य थाहा पाउन प्रहरीले हरसम्भव प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए । घटनालाई शंकास्पदरुपमा लिएर अनुसन्धान थालिएको उनले बताए । उनले भने, “शंकास्पद मृत्यु भएकाले यसबारे अनुसन्धान भइरहेको छ ।” बालिकाको संवेदनशील अंगमा रगत र घाउ देखिएकाले जबरजस्ती करणी हो या होइन भन्ने थापा पाउन भिसेरा परीक्षणको लागि काठमाडौं पठाइएको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय माडीमा घटनामा संलग्न भएको आशंकामा दुई जना स्थानीयसँग सोधपुछ गरेको थियो । घटनामा संलग्न भएको आशंकामा तीन जना प्रहरी हिरासतमा छन् । भिसेरा परीक्षणमा कलेजो, मुटु, फोक्सोलगायत अंगहरुको परीक्षण हुन्छ । यसअघिको प्रारम्भीक पोष्टमार्टम रिपोर्टमा जवरजस्ती करणी नभई पोखरीमा रहेका किराहरुले टोक्दा घाउ भइ रगत आएको नतिजा आएको थियो ।
साथीभाइसँग पिकनिक खानका लागि गएका दुई बालिकाको गत २० गते शनिबार रहस्यमय मृत्यु भएको थियो । माडी नगरपालिका–६, रामराज्यपुर घर भएकी माया सुनारकी छोरी १० वर्षीया छोरी दीपिका सुनार र दिनेश परियारकी ११ वर्षीया छोरी दीपशिला परियारको पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । दिउँसो १ बजे पोखरीमा फेला परेकोमा एकको माडीकै बघौडा अस्पताल र अर्कीको चितवन मेडिकल कलेजमा ल्याउँदै गर्दा मृत्यु भएको एसपी थापाले बताए ।
भरतपुरमा दबावमूलक ¥याली
माडी घटनाको बारेमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनको लागि संयुक्त संघर्ष समितिले बुधबार दबाबमूलक ¥याली निकालेको छ । ¥याली जिल्ला प्रहरी कार्यालयको गेटदेखि भरतपुर अस्पतालसम्म निकालिएको हो । समितिले घटनाको बारेमा चिकित्सक तथा प्रहरी प्रमुखसँग छलफलसमेत गरेको अन्तरपार्टी महिला सञ्जाल चितवनका संयोजक संगीता भट्टराईले बताइन् । घटनाको बारेमा तत्काल सत्य तथ्य सार्वजनिक गरिनुपर्ने समितिले माग राखेको उनले बताइन् । प्रहरीले अनुसन्धान थालेसँगै आफूहरुको सबै आन्दोलनका कार्यक्रमहरु हालको लागि स्थगित गरिएको उनले बताइन् ।
शंकास्पद मृत्युको अनुसन्धान जारी
शंकास्पद मृत्युको अनुसन्धान जारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस