रत्ननगर,२५ जेठ । स्थानीय तहको निर्वाचनबाट रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बुधबार स्वागत तथा सम्मान गरिएको छ । ज्योतिर्मय सामुदायिक सिलाइकटाइ एवं ज्योतिर्मय सामाजिक संस्थाले मेयर, उपमेयर, नगर कार्यपालिका सदस्य, वडाध्यक्ष तथा सदस्यलाई स्वागत तथा सम्मान गरेको हो ।
मेयर नारायण वन, उपमेयर विमला दुवाडी, कार्यपालिका सदस्य सरस्वती लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्य र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो । जनप्रतिनिधिलाई टीका, ढाकाटोपी र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा जनप्रतिनिधिले लक्षित वर्ग कार्यक्रममार्फत युवा तथा महिलालाई रोजगारी सिर्जना गर्ने बताएका थिए । “युवा र महिलाले सीप सिकेर आम्दानी हुने बाटो हामी बनाउँछौं”, मेयर वनले भने, “अब कोही पनि काम नपाएर बेरोजगार बस्नुपर्दैन ।”
कार्यक्रममा उपमेयर विमला दुवाडीले सुशासन र विकासको हिसाबले रत्ननगरलाई नमूना बनाउने बताइन् । वडा अध्यक्ष रोशन आचार्यले सुकुमबासी बस्ती व्यवस्थापन, सडकको स्तरोन्नति, सीपमूलक कार्यक्रम गरी वडालाई समृद्ध बनाउने बताए । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रम नेपाली कांग्रेसका भूपेन्द्र अधिकारी, एमालेका लेखनाथ आचार्य, माओवादी केन्द्रका नन्दलाल रेग्मी, टिकौली सामुदायिक वनका अध्यक्ष बुद्धिमान विक, वडा सहसचिव सूर्यप्रकाश ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए । ज्योतिर्मय सामाजिक संस्थाकी अध्यक्ष महादेवी खतिवडाको अध्यक्षतामा भएको थियो ।
यसैबीच राधामाधव समिति नेपाल, डिभाइन युथ क्लव नेपाल तथा विद्युत समाज नेपालको संयुक्त आयोजना कार्यक्रममा रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बुधबार रत्ननगरमा आयोजित कार्यक्रममा मेयर नारायण बन, उपमेयर बिमला दुवाडीसहित वडाध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा मेयर वनले नगरविकासमा प्रतिबद्ध भएर लाग्ने बताए । कार्यक्रममा राधामाधव समिति टाडी अध्यक्ष हरिसरण पाठक, डिभाइन युथ क्लव टाँडीकी अध्यक्ष संगिता आचार्यले जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए । वडाध्यक्षहरुले वडामा देखापरेका समस्या समाधानमा भुमिका खेल्ने बताए ।
जनप्रतिनिधिलाई स्वागत तथा सम्मान
जनप्रतिनिधिलाई स्वागत तथा सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस