भरतपुर,२५ जेठ ।
माडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख (मेयर) ठाकुर ढकालले माडीलाई पर्यटकीय क्षेत्र बनाएर आर्थिक गतिविधि बढाईने बताएका छन् । चितवन उद्योग संघले बुधबार माडीमा गरेको नगर प्रमुख÷उपप्रमुख र वडा अध्यक्षहरुको सम्मानमा गरेको कार्यक्रममा बोल्दै मेयर ढकालले माडीमा कृषिसंगै पर्यटनको प्रचुर संभावना रहेकोले पर्यटनलाई विशेष जोड दिएर आर्थिक वृद्धि बढाउनमा लागि पर्ने बताए ।
उनले विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको माडीलाई निकुञ्ज सम्बन्धि अनावश्यक ऐनका कारण पछाडी परेको बताए । मेयर ढकालले आफू पाँच वर्षे अवधिमा माडीलाई समृद्धि बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै निकुञ्जको झन्झिटिलो ऐन संशोधनका मागर लिएर काठमाडौं डेलिगेशन जाने बताए । उनले माडीको पर्यटन क्षेत्रलाई विकास नगरिएसम्म स्थानीयहरुको दैनिक गुजारा चलाउन कठिन रहेको भन्दै यसलाई अघि बढाउन आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
यस्तै नगर प्रमुख ढकालले पाँच वर्षे अवधिमा कहिकतै भ्रमण नजाने घोषणा गर्दै भ्रमणका लागि छुट्याइदै आएको लाखौं रुपैयाँ जनताको सेवामा खर्च गर्ने बताए । माओवादी केन्द्रबाट उम्मेद्वारी दिएर माडीको मेयर बन्नुभएका ढकालले आर्थिक वृद्धि नभएसम्म देश चल्न नसक्ने भन्दै उद्योगहरुको विकास गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै उपमेयर तारा कुमारी काजी महतोले माडीमा महिलाहरुलाई अगाडि ल्याउन उद्यमी बनाउन आवश्यक रहेको भन्दै यसका लागि नगरपालिकाले घरेलु उद्योग तर्फ अग्रसर बनाउन महिलालाई अगाडि ल्याइने बताइन् । माडीमा वातावरणलाई प्रदुषण नपार्ने खालका स–साना उद्योगहरु संचालनमा ल्याउनु जरुरी रहेको बताइन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले माडीको स्रोत पहिचान गरि युवाहरुलाई उद्यमी बनाउनुपर्नेमा जोड दिए । उनले ठूला उद्योगहरु माडीमा संचालन गर्नुपर्छ भन्ने नरहेको भन्दै स–साना घरेलु उद्योगहरु स्थापनामा जोड दिनुपर्ने बताए । उनले माडीका जनप्रतिनिधिहरुलाई चाहनामा मात्र नभई योजनामा विकास ढाल्नुपर्ने बताए । कार्यक्रममा माडी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी आचार्यले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्संघको पृष्ठभुमि, उद्देश्य एवं यसका क्रियाकलाप माथि प्रकाश चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।