भरतपुर,२७ बैशाख ।
जनप्रतिनिधि चयन गर्ने दिन नजिकिदै जाँदा चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन विरोधी समूह तथा अपराधिक गतिविधिमाथि प्रहरीले उच्च निगरानी सुरु गरेको छ । विगतका घटना, मतदाता संख्या, भौगोलिक दूरीलगायत सूचकका आधारमा मतदान स्थललाई सुरक्षाको दृष्टिले वर्गीकरण गरिएको छ ।
चितवनका कूल १ सय ६१ मतदान स्थलमध्ये ४९ स्थानलाई अति संवेदनशील स्थलका रुपमा हेरिएको छ । ५९ वटा मतदान स्थललाई संवेदनशीलका आधारमा निगरानी गरिएको छ । “मतदान स्थललाई वर्गीकरण गरी सोहीअनुसार सुरक्षा रणनीति अवलम्बन गरिएको छ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, “मतदाता डराउनुपर्ने अवस्था छैन, ढुक्क भएर मतदान कार्यमा सहभागी हुन सक्नेछन् ।” प्रत्येक मतदान केन्द्रमा ९ देखि ३३ जना नेपाल प्रहरी, ३ देखि २२ जना म्यादी प्रहरी, सादा पोशाकमा समेत गुप्तचर खटिदै छन् । प्रत्येक मतदान स्थलमा ३५ जनाको नेपाली सेनाले बाहिरी घेराबाट सुरक्षा दिनेछ । “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सुरक्षा संवेदनशीलता हेरेर परिचालन हुनेछन्”, प्रहरी प्रमुख थापाले भने, “सुरक्षा थ्रेट निस्तेज पार्ने काम प्रभावकारीरुपमा हुनेछ ।”
निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने समूहलाई पक्राउ गर्ने, नियन्त्रणमा लिने काम अभियानकै रुपमा चलिरहेको बताए । “नेकपा विप्लव समूहका २२ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्”, उनले भने, “पक्राउ परेकामध्ये १४ जना हिरासतमा छन्, ८ जना तारिखमा छन् ।” मंगलबार भरतपुर महानगरपालिका ४, शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको बताए । नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको चार समेत बरामद गरिएको जानकारी दिए । सो समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङलाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र तथा मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्ने वातावरण बनाइएको बताए । “एकीकृत निर्वाचन सुरक्षा योजना बनेको छ”, उनले भने, “सबै संयन्त्र परिचालन हुनेछन्, सुरक्षामा कुनै कमी आउने छैन ।” मतदान केन्द्रको भित्री र बाहिरी सुरक्षा दिइने बताए । हरेक दिन चोक, गल्लीमा समेत नियमित निगरानी भइरहेको बताए । आवश्यक परे तयारी अवस्थामा रहेको फोर्सलाई तत्काल सुरक्षा व्यवस्था कायम गर्न खटाउन सकिने गरी संयन्त्र बनाइएको बताए ।
मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । पेट्रोल बम प्रहार गर्ने रणनीति बनाउनेदेखि निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई प्रहरीले बढी निगरानी गरेको छ । एक हजार दुईं सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ । हरेक नगरपालिकामा २ वटा संयुक्त सुरक्षा मोबाइल टोली र गाउँपालिकामा एउटा सुरक्षा मोबाइल टोली परिचालन गरिनेछ ।