धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२४ जेठ । उद्योग, कलकारखाना स्थापनाका लागि लगानीमैत्री वातावरण भए रोजगारीकै लागि विदेशिएका नेपालीहरुलाई ढिलोचाँडो स्वदेश फर्काउन सकिने औंल्याइएको छ । देशको राजनितिक संक्रमणकालका कारण अहिले लाखौं नेपालीहरु रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ ।
देशका धेरै ठाउँमा जननिर्वाचित प्रतिनिधि आइसकेकाले उनीहरुले लगानीको वातावरण बनाउन सके उद्योग, कलकारखाना फस्टाउने र विदेशिएकालाई स्वदेश फर्काएर यही रोजगार दिन सकिने नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउँछन् । चितवन उद्योग संघले मंगलबार रत्ननगरमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिको स्वागत तथा बधाई कार्यक्रमका प्रमुख अतिथि परिसंघका उपाध्यक्ष अधिकारीले लगानी गर्ने वातावरण बनाउन सके पाँच वर्षभित्रमा लाखौं नेपालीहरुलाई स्वदेश फर्काउन सकिने बताए ।
“उद्योगको पहिचान नभएसम्म लगानी आउँदैन”, नेपाल उद्योग परिसंघका उपाध्यक्ष अधिकारीले भने, “लगानीमैत्री वातावरण भए रोजगारीका लागि खाडी मुलुक गएका नेपालीलाई ढिलोचाडो स्वदेश फर्काउन सकिन्छ ।” अहिले खाडीसँगै अन्य मुलुकमा करिब ४० लाख नेपाली रोजगारी गर्न बाध्य छन् । चितवनमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रले यहाँका करिब १ लाख नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने उनको विश्वास छ ।
चितवन उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारीले जननिर्वाचित प्रतिनिधिले चाहना नभई योजनाअनुसार काम गर्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले स्थानीयस्तरमा लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । “बाटोघाटो, सरसफाइमा मात्रै ध्यान दिइरहेका छौंं”, नगर प्रमुख वनले भने, “बाहिरी लगानी भित्राउन केन्द्र सरकारले पहल गरेमा स्थानीयस्तरमा हामी लगानीका लागि वातावरण सृजना गर्छौं ।” खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले जनताको समृद्धिको विकासका लागि तल नपर्ने उल्लेख गर्दै निजी क्षेत्रसंग हातेमालो गरेर काम गर्ने बताए । नगर प्रमुख चौधरीले पूर्वी चितवन कृषि, पर्यटन र उद्योगको सम्भावना वोकेको क्षेत्र भएकाले आर्थिक समृद्धीको आधार यिनै तीन कुरामा भर पर्ने बताए ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले उद्योग स्थापना गर्दा वातावरणमा केही असर गर्ने भएपनि विरोध गर्न नहुने तर्क गरे । राप्ती नगरपालिकाका प्रमुख प्रभा वरालले नेपालमा कतिपय उद्योगहरु बन्दको अवस्थामा रहेकाले अव संचालन गर्ने उद्योग बन्द नहुने गरी स्थापना गर्नुपर्नेमा जोड दिइन् । “अधिकार प्राप्तिको लडाइँ सकियो”, नगर प्रमुख बरालले भनिन्, “उद्योग, कलकारखानाबाट देश समृद्धितर्फ लगि आर्थिक, सामाजिक रुपान्तरण गर्नुपर्छ ।”
चारवटै नगरपालिकाका प्रमुखले शक्तिखोरमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । संघका वरिष्ठ उपाध्यक्ष भेषराज दवाडीले संघले निर्माण गर्न लागेको अन्तराष्ट्रियस्तरको औद्योगिक प्रर्दशनी र औद्योगिक क्षेत्रका बारे जानकारी गराएका थिए ।
चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी एवं रत्ननगर नगरपालिका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका कार्यकारी निर्देशक सुरेश अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा निर्वाचित नगर प्रमुख,उपप्रमुख र वडाध्यक्षहरुलाई फूलगुच्छाले स्वागत गर्दै सफल कार्यकालको वधाई ज्ञापन गरिएको थियो ।