माडी,२४ जेठ । माडी रामराज्यपुरमा भएको दुई बालिका मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । शनिबार ज्यान गुमाएका दुई बालिकाको मृत्युको कारणबारे अझै केही पत्ता लाग्न सकेको छैन । घटनाको विरोधमा स्थानीय संघर्ष समितिले मंगलबार माडी बन्द गरे ।
बुधबार भरतपुरमा जिल्लास्तरीय दबाबमूलक कार्यक्रम गरिदै छ । पीडित पक्षले घटनाबारे किटानी जाहेरी दिन नसक्दा अनुसन्धान प्रक्रियामा केही ढिलाइ भएको छ । इलाका प्रहरी कार्यालय माडीमा घटनामा संलग्न भएको आशंकामा दुई जना स्थानीयसँग सोधपुछ गरेको थियो । घटनामा संलग्न भएको आशंकामा तीन जना प्रहरी हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले १३ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिएको बताए । “अनुसन्धानलाई तीव्र पारिएकोे छ”, उनले भने, “पीडित पक्षले किटानी जाहेरी नदिदा अनुसन्धान केही लम्बिएको हो ।” उनले प्रारम्भिक पोष्टमार्टम रिपोर्टले मृत्युको ठोस कारण पत्ता नलगाएको बताए । “भिसेरा टेष्टका लागि काठ्माण्डौ पठाइने भएको छ”, उनले भने, “सुक्ष्म अध्ययनबाट केहि तथ्य आउला, अहिल्यै घटनाबारे यहि हो भन्न सकिने अवस्था छैन ।”
भिसेरा परीक्षणमा कलेजो, मुटु, फोक्सोलगायत अंगहरुको परीक्षण हुनेछ । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा बलात्कारनै हो भन्ने पुष्टि गर्ने बलिया आधार छैनन् । मृतक बालिकाको संवेदनशील अंगमा रगत, घाउ देखिएको थियो । माडी रामराज्यपुरमा रहेको सो पोखरी सिञ्चाईका लागि बनाइएको हो । गर्मी मौसमा सो पोखरीमा स्थानीय पौडी खेल्न जाने गर्दथे । पोखरीको पीँधमा ग्राबेल, माछा र खपटे कीराहरु पाइएको थियो । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित अनुसन्धान टोली, महिलाअधिकारकर्मी, मानवअधिकारकर्मी सोमबार घटनास्थल पुगेका थिए ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल सहितको टोली मंगलबार जिल्ला प्रहरी कार्यालय आएको थियो । “प्रारम्भिक पोष्टमार्टम रिर्पोट पूर्ण छैन”, उनले भने, “घटनाको तथ्य सार्वजनिक गर्न ल्याव परीक्षण गर्नुपर्ने देखिएको छ ।” उनले चिकित्सक, स्थानीयको रिपोर्टका आधारमा प्रभावकारी अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । माडीकी महिला नेतृ सरिता महतोले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न आनाकानी भइरहेको बताइन् । पोष्टमार्टम रिपोर्टले कन्या अंगमा क्षती पुगेको भनिएपनि तथ्य सार्वजनिक गर्न प्रहरीले नचाहेको बताइन् ।
इलाका प्हरी कार्यालय माडीमा भेटिएका माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले स्थानीयले तत्काल सत्यतथ्यको माग गर्दै आन्दोलित बन्दासमेत प्रहरीले सक्रियता देखाउन नसकेको बताए । घटना रहस्मय रहेको भन्दै उनले पीडित पक्षलाई न्याय दिइनुपर्ने बताए । पिकनिक गएका दीपशिला परियार र दीपिका सुनार पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए ।
बालिका मृत्यु प्रकरण : मृत्युको कारण अझै खुल्न सकेन
बालिका मृत्यु प्रकरण : मृत्युको कारण अझै खुल्न सकेन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस