विप्लव काफ्ले/कायाकैरन
माडी,२४ जेठ ।
१२ वर्षमा खोलो फर्कन्छ भनिन्छ । तर, माडी बाँदरमुढे घटनाका पीडितलाई भने यस्तो हुन सकेन । उनीहरुले १२ वर्ष पूरा हुँदासम्म पनि न्याय पाउन सकेनन् ।
२०६२ साल जेठ २३ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ता राखेको एम्बुसमा परी माडी बाँदरमुढे खोलामा सर्वसाधरणले ज्यान गुमाए । श्रीमान् र छोरी गुमाएकी माडी खरकट्टाकी सिता सुवेदीलाई जेठ २३ को घटनाले सधैँ रुहाउँछ । उनी स्वयम् घटनामा परी दाहिने खुट्टा भाँचियो । “उभिन पनि गाह्रो हुन्छ, शरिरभरी सिलाएको छ”, उनले दुखेसो सुनाउँदै भनिन्, “१२ वर्ष भयो, अझै न्याय पाइएन ।” उपचारका क्रममा भरतपुर जाने क्रममा घटनामा परेकि सुवेदी घटनाका दोषीको हालसम्म पहिचान नहुँदा दुःखी छिन् ।
“सर्वसाधारणको ज्यान लिने दोषीलाई कडा सजाय दिनुपर्छ”, उनले भनिन्, “पीडित परिवारलाई पूर्ण राहत दिनुपर्छ ।” शरीरमा लागेको चोट निको हँुदै गएपनि मनमा लागेको चोट निको भएको छैन । “घटना सम्झँदा मन भक्कानिन्छ”, उनले भनिन्, “वर्सेनि सञ्चो भएको घाउ कोटिन्छ, हामीले कहिल्यै न्याय पाउने भएनौँ ।” मंगलबारदेखि घटनास्थलमा आयोजित राष्ट्रशान्ति मानवमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञमा उनी शान्तिको कामना गर्दै सहभागी भएकी छन् । उनका श्रीमान् आत्माराम सुवेदीको घटनास्थलमै र घाइते बनेकी छोरी अञ्जली सुवेदीको उपचारका सिलसिलमा ९ दिनपछि ज्यान गएको थियो । २ छोराछोरीलाई उच्च शिक्षा दिन नसकिने होकी भन्ने चिन्ता उनलाई लागेको छ ।
अयोध्यापुरीकी यमकला च्वाईं गर्भावस्थामै घाइते परिन् । गर्भ परीक्षण गर्न बसन्तपुर जाने क्रममा उनको सपनामा ठूलो आपत आइलाग्यो । “पेटभित्रको बच्चाले बाहिर निस्कन नपाउँदै बम खानुप¥यो”, पीडा सुनाउँदै भनिन्, “मेरो खुट्टा भाँचियो, औला काटियो, आँखामा छर्रा लागेको छ ।” घाइते भएपछि उपचारका लागि काठमाडांै उनलाई काठमाडौं लगिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले दिएका आश्वासन पूरा नभएको बताइन् । “फूलबारीमा २०६५ सालतिर प्रचण्डले थोरै माग्नुभयो, ठूलो राहत प्याकेज ल्याउँछौं भन्नुभयो”, उनले भनिन्, “खै १२ वर्ष पूरा भयो, खोला फर्केन ।”
बाँदरमुढे पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी ‘कृष्ण’ का दुवै खुट्टा भाँचिएका थिए । छातीमा करङसम्मै गहिरो चोट लागेको थियो । खुट्टामा स्टील राखेका छन् । “१२ वर्ष बित्यो, जानाजान यो विष्फोट गराए, दलहरु मिलिजिुली सत्तामा पुगे”, उनले भने, “पीडितको पक्षमा कुनै सरकारले कदम चालेन, राजनीति गर्ने फटाइँ गर्न पनि सिपालु हुँदारहेछन् ।” पीडितको पक्षमा कुनै दल सकारात्मक नभएको अनुभव सुनाउँछन् । “मेयरमा माडीमा माओवादीले जितेको छ”, उनले भने, “जनताले माया गरेर जितियो भन्छन्, त्यो होइन, हामीले त्रासदिपूर्ण क्रुर घटना भुलेका छैनौं, बिर्सन सक्दैनौं ।” पीडित परिवारलाई विशेष राहत प्याकेज, घटनास्थललाई वृहत स्मारकका रुपमा विकास गर्ने काममा राज्यले पहल गर्नुपर्ने बताए ।
घटना कसरी भूल्ने ?
खरकट्टाकै लक्ष्मी श्रेष्ठले श्रीमान् र ज्वाइँ गुमाइन् । “बिरामी भएर घरमै थिएँ”, घटना सम्झदै उनले भनिन्, “ठूलो आवाज आयो, बम पड्किएको रहेछ ।” निर्दोष व्यक्तिले ज्यान गुमाउँदा पनि राज्यले केही नगर्दा उनी चिन्तित छन् । “१० लाख दिन्छु भने, थोरै थोरै गरी ५ लाख दिए”, उनले भनिन्, “हामीलाई पैसा मात्रै होइन, न्याय चाहिएको छ ।” काम गरेर पाल्ने व्यक्ति नै गुमाउन पुगेका परिवार अलपत्र परेको दुखेसो पोखिन् । बुबा गुमाएका यमनाथ सुवेदी अपराधको क्षमा दिन नसकिने बताउँछन् । “द्वन्द्वमा परेर भएको घटना होइन, जानीजानी भएको अपराध हो”, उनी भन्छन्, “मलम लगाउन ढिलाइ गर्नुहँुदैन, अपराधी सार्वजनिक गरेर कारबाही गर्नुपर्छ, पीडितलाई राहत दिनुपर्छ ।”
घटनामा परी ज्यान गुमाएका बाबुको उनले कपडा र नागरिकताका आधारमा पहिचान गरेका थिए । बाँदरमुढे पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले जेठ २३ लाई कालो दिनका रुपमा लिएको बताउँछन् । “देशमा परिवर्तन आयो, हामी पीडित जहाँको त्यही छौं”, उनले भने, “पीडितलाई परिपुरणको व्यवस्था गर्नुपर्छ ।” उनले श्रीमती गुमाएका थिए । “घटना गराउनेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “१२ वर्षसम्म पीडामै रुमलिएका छौं, न्याय दिने कुनै सरकार आएन ।”
वर्षौं बितेपनि घटना भूल्न नसकिने भन्दै उनले पीडितलाई सरकारले सधैं उपेक्षा गरेको बताए । बाँदरमुढे स्मारकलाई समेत सरकारले कुनै सहयोग नगरेको चिन्ता छ । “द्वन्द्वको घटना र परिवर्तनलाई झल्काउन यो ठाउँ ऐतिहासिक स्थल बन्न सक्छ”, उनले भने, “वाटिका बनाउनुप¥यो, संरक्षण गर्ने बजेट पार्नुप¥यो ।” २०६३ सालमा नेपाली सेनाको आर्थिक सहयोगमा बनाइएको सो बाँदरमुढे स्मारकमा स्थानीयले श्रमदान गरेका थिए ।
२०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३९ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । सरकारी रेकर्डअनुसार, बाँदरमुढे घटनामा ३८ को ज्यान गयो, ५२ जना घाइते भए । तर, बाँदरमुढे स्मारकमा ३८ जना मृतक र ७५ जना घाइतेको नाम राखिएको छ । बाँदरमुढे खोलामा रहेको सो स्मारक बाढीको खतरामा रहेकाले स्थानीय शान्ति समितिले उपलब्ध गराएको ३ लाख बजेटमा वाल लगाउने काम भएको थियो । नगरपालिका, सरकारले स्मारकमा अन्य कुनै सहयोग गरेको छैन ।
यसैबीच माडी बाँदमुढे विस्फोटमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा मंगलबारबाट एक हप्ते विराट ज्ञानमहायत्र सुरु भएको छ । बाँदरमुढे पीडित समितिको आयोजनमा ‘राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञ सुरु भएको हो । महायज्ञमा घाइते तथा पीडित परिवार शान्तिको कामना गर्दै सहभागि भएका छन् । महायज्ञमा यूवा पण्डीत देवनयन नारायण लामिछानेले प्रवचन दिनेछन् ।
मेलमिलाप गर्छाैंः मेयर ढकाल
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटनास्थललाई राजनीतिक पर्यटकीयस्थलका रुपमा विकास गरिने बताएका छन् । घटनास्थलमा आयोजित विराट ज्ञानमहायज्ञमा बोल्दै उनले माओवादी द्वन्द्वकालीन अवस्था र परिवर्तनकोे चित्रण गर्ने बाँदरमुढे क्षेत्रलाई पर्यकटीय स्थलका रुपमा विकास गर्न छिट्टै नगरपालिकाले नयाँ कार्यक्रम ल्याउने बताए ।
“नगरसभामा माडीको विकास योजनाबारे छलफल गर्दा बाँदरमुढे क्षेत्र उच्च प्राथमिकतामा पर्नेछ”, उनले भने, “राज्यकोष तथा स्थानीय तवरबाट बजेट पारेर घाउमा मल्हम लगाउने काम गर्नेछौं ।” हालको बाँदरमुढे स्मारक रहेको क्षेत्रमा वाटिका निर्माण गरीने उनले बताए । उनले स्मारका लेखिएको ‘आतंकारी’ शब्दलाई सुधार गरी द्वन्द्वकालीन अवस्थामा भनेर लेखेर विकासका कार्यक्रम ल्याइने बताए । “निजी स्वार्थमा घटनालाई मोडिनुहुन्न”, उनले भने, “विभेद नगरी बाँदरमुढेमा विकास भित्र्याउन लागिपर्नेछु ।”
उनले घटनाका पीडित परिवारलाई लक्षित गरी सीपमूलक तालिम, रोजगारमूलक काममा सहभागि गराउने गरी योजना ल्याइने बताए । शान्ति सम्झौतासँगै मुलुकको परिस्थिति परिवर्तन भएकाले मेलमिलापको नीतिसहित अघि बढिने बताए । “घाइते, अपाङ वा सदस्य गुमाएका परिवारको पक्षमा ठोस कार्यक्रम ल्याउन पहल गरिनेछ”, उनले भने, “यो आश्वासन होइन, हामी काम गरेरै देखाउनेछौँ ।” तत्कालीन अवस्थामा पार्टीले सो घटनामा आममाफी मागिसकेको स्मरण गर्दै उनले राहत, विकास सहित मेलमिलाम अवलम्बन गरिने बताए ।