विप्लव काफ्ले
भरतपुर,२७ बैशाख ।
स्थानीय तहको चुनावलाई लक्षित गरी चितवनमा आज (बुधबार)देखि प्रत्यक्षरुपमा २ हजार २ सय ४९ जना सरकारी कर्मचारी खटिदैछन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा जाँदैछन् ।
दिउँसो सबै कर्मचारी निर्धारित मतदान केन्द्रमा खटिनेछन् । प्रत्येक मतदान केन्द्रमा १–१ जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत रहनेछन् । यस्तै २–२ जना सहायक कर्मचारी र कार्यालय सहयोगी खटिनेछन् । निर्वाचनमा खटिने कर्मचारीले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र लिएका छन् । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचनसम्बन्धी अनुशिक्षण लिइसकेका छन् ।
चितवनका सात स्थानीय तहमा ९८ वडा छन् । १ सय ६१ मतदान स्थलमा ३ सय ७६ मतदान केन्द्र छन् । जिल्लामा कूल ३ लाख १३ हजार २ जना मतदाता छन् । वैशाख ३१ गते हुने निर्वाचनबाट ७–७ जना मेयर वा प्रमुख, उपमेयर वा उपप्रमुख चयन हुनेछन् । प्रत्येक वडामा वडाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्य एक÷एक जना निर्वाचित हुनेछन् । यस्तै प्रत्येक वडामा दुईजना खुला सदस्य निर्वाचित हुनेछन् । निर्वाचित जनप्रतिनिधिले निर्वाचित गरी २० जना दलित वा अल्पसंख्यक जनप्रतिनिधि चयन गर्नेछन् ।
“इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा निर्वाचन सामग्री वितरण गर्ने काम मंगलबार भएको छ”, जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले भने, “नियुक्तिपत्र लिएका मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान केन्द्रलाई आवश्यक निर्वाचन सामग्री लैजानेछन् ।” मंगलबार साँझसम्म एक सय मतदान केन्द्रलाई आवश्यक निर्वाचन सामग्री पठाइएको उनले बताए । अन्य तहमा मतदान अधिकृतको रोहवरमा निर्वाचन सामग्री पठाइने तयारी भएको बताए । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयलेनै उपलब्ध गराउने छ ।
मतदाता परिचयपत्र २८ गते
फोटोसहितको मतदाता परिचयपत्र भोलि (२८ गते) मतदान केन्द्रबाट बाँड्ने तयारी छ । प्रत्येक मतदान केन्द्रमा खटिएका ७ जना कर्मचारी र मतदाता शिक्षा कार्यकर्ताले संयुक्तरुपमा परिचयपत्र वितरण गर्नेछन् । “नागरिकतासहित अन्य आफ्नो परिचय खुल्ने आधिकारिक कागजात लिएर आफूले मतदान गर्ने केन्द्रबाट मतदाता परिचयपत्र लिन सकिनेछ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भने, “२०७० सालको निर्वाचनमा सहभागी भएकाको समेत फेरि नयाँ मतदाता परिचयपत्र दिइने छ ।” स्थनीय तहको निर्वाचनमा २०७० सालमा बाँडिएको मतदाता परिचयपत्रका आधारमा निर्वाचनमा भाग लिन नपाइने उनले बताए । ३० गतेसम्म मतदाता परिचयपत्र वितरण गरिनेछ । २०६७ फागुनदेखि फोटोसहितको मतदाता परिचयपत्रको व्यवस्था गरिएको थियो । वैशाख ३१ गते मतदाताले बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्न पाउनेछन् ।