भरतपुर, जेठ २३ ।
होलिडेज क्रियसन होम नारायणगढको आयोजनामा ‘चितवन च्याम्प २०१७’ गरिने भएको छ । ७ देखि १३ वर्षसम्मका बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई प्रतियोगितामार्फत अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ चितवन च्याम्पको आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
प्रतियोगितामा छनोट भएका बालबालिकालाई विभिन्न तालिमका कक्षामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सक्षम बनाइने आयोजक होलिडेज क्रियसन होमका सञ्चालक नारायण ढकालले बताए । प्रतियोगिताको लागि असार २७ गतेबाट जिल्लाका विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी छनोट गरी राष्ट्रियस्तरका प्रशिक्षकबाट प्रशिक्षण दिइने उनले बताए ।
प्रतियोगिताको फाइनल आगामी साउन १६ गते गरिने होलिडेज क्रियसन होमकी सञ्चालक लक्ष्मी पन्त ढकालले बताइन् । प्रतियोगितामार्फत बालबालिकालाई उनीहरुको समाजप्रतिको उत्तरदायित्वको बारेमा पनि बुझाउने प्रयास गरिने उनले बताइन् । प्रतियोगितामा उत्कृष्ट हुने ‘प्रिन्स च्याम्प चितवन’ र ‘प्रिन्सेस च्याम्प चितवन’ गरी दुई उपाधि दिइने उनले जानकारी गराइन् । त्यसका अलावा प्रतियोगितामा अन्य विधामा पनि उपाधि दिइने ढकालले बताए । प्रतियोगितामा २० जना बालक र २० जना बालिका गरी ४० जनासम्मले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा सहभागी हुनको लागि १५ हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले बताएको छ ।