भरतपुर, २४ जेठ ।
भरतपुर÷कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार संसद्बाट झण्डै दुई तिहाइ मत प्राप्त गरी मुलुकको ४० औं प्रधानमन्त्री पदमा चुनिएका छन् । चौथो पटक प्रधानमन्त्री बन्ने क्रममा देउवाले संसद्मा उपलब्ध ५ सय ५८ जना सांसद्मध्ये ३ सय ८८ मत पाए । उनको विपक्षमा १ सय ७० मत प¥यो ।
२०६२÷६३ को आन्दोलनयता उनी पहिलोपटक प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीच दश महिनाअघि भएको आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौताअनुसार देउवा प्रधानमन्त्री चुनिएका हुन् । संसद्मा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना दिदा नै देउवाले २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन, संविधान संसोधन, समृद्धि र पूर्वाधार विकास आफ्नो सरकारको मुख्य प्राथमिकता हुने बताएका छन् ।
संविधानसभाबाट रुपान्तरित भएर बनेको व्यवस्थापिका संसद्मा ५ सय ९३ सदस्य बहाल रहेपनि मंगलबारको मतदानमा ५ सय ५८ मात्रै उपस्थित थिए । देउवाको पक्षमा कांग्रेस, माओवादी–केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी पार्टी र केही साना दलहरुले मत दिए । प्रमुख प्रतिपक्षी एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेसहितका दलहरुले देउवाको विपक्षमा मत दिएका हुन् । संसदमा ती दलहरुको सिट संख्या १९३ भएपनि देउवाको विपक्षमा १७० मत मात्रै परेको छ ।
को हुन् देउवा ?
नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । प्रधानमन्त्री देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय भएका उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । उनकी धर्मपत्नी डा. आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुन् । प्रधानमन्त्री देउवाका एक छोरा छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री बन्नुभएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका हुन् । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उनी सभापति बने । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली कांग्रेसको वरिष्ठ नेता भएका थिए । सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन् ।
प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् । रासस
शेरबहादुर देउवा बने प्रधानमन्त्री
शेरबहादुर देउवा बने प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस